ad ad

राजनीति


उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्रीलाई भने: ‘उपत्यका छिर्ने सबै नाका सिल गरौँ’

उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्रीलाई भने: ‘उपत्यका छिर्ने सबै नाका सिल गरौँ’

नेपालखबर
जेठ १, २०७७ बिहिबार १४:३४,

उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापालाई उपत्यकाको आवत–जावत कडाइ गर्न माग गरेका छन्। आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

‘उपत्यका नगरपालिका फोरमले दिएका सुझावलाई पूर्णरुपमा पालना गर्न गृहमन्त्रीज्युसँग आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘लाखौँको संख्यामा रहेका उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत–जावतले उपत्यका अशान्त बनिरहेको छ। त्यसैले आज गृहमन्त्रीज्युलाई उपत्यकाका नाकामा कडाई गर्ने भन्दा पनि प्रस्थान विन्दूबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छौँ।’

आवत–जावतलाई कडाई गर्दै प्रस्थान विन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनु पर्ने व्यक्ति कुन पालिकामा आउने हो त्यहाँको पालिका र जिल्ला प्रशासनलाई समेत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरेको जानकारी दिए।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भन्दै घना बस्ती भएको कारण काठमाडौं उपत्यकालाई सुरक्षित राख्नु पर्नेमा जोड दिएका थिए।

नगरपालिका फोरमका सुझावप्रति गृहमन्त्री सकारात्मक रहेको शाक्यले जानकारी दिए। 

एक दुई जना लुकिछिपी आउँदा र ती व्यक्तिमा कोरोना संक्रमण देखिदाँ अरु सयौँको परिक्षण गर्नुपर्ने अवस्था आउने र त्यसले राज्यको लाखौँ रुपैयाँ खर्च हुने भएकाले संक्रमण फैलिनै नदिने कुरामा सचेत रहनु पर्नेप्रति पनि जनप्रतिनिधहरुले सुझाव दिएका थिए।

बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यसँगै ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, ताराकेश्वर नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सुर्यविनायक नगरपालिकाका प्रमुख सहभागी थिए। उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको सरकारलाई यस अघि नै उपत्यका प्रवेशमा कडाई गर्न माग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .