नेपाली कांग्रेसले अनुशासन समितिको जुरुरी बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले चैत १८ गते बैठक बोलाइएको बताए।
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ को निर्वाचनमा भएको अन्तर्घात र समानन्तर गतिविधिबारे बैठकमा छलफल हुने नेपालखबारलाई बताए। ‘हामी नियमित छलफल गरिरहेकै छौँ। १८ गते औपचारिक बैठक बसेर निर्वाचनमा अन्तर्घात गर्ने र अहिले पार्टीको विधान र विधिभन्दा बाहिर रहेको पगरी जिम्मा लिएको छलफल हुन्छ,’ गुरुङले भने।
शनिबार बिहान नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए। कांग्रेसले खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको छ।
गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई भागमा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन थियो।
निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट गरेका थिए।यस रिटमा चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापाको नेतृत्व स्वीकारेको देउवा समूहले अहिले समान्तर गतिविधि अगाडि बढाएको संस्थापन पक्षको आरोप छ। देउवा र शेखर कोइराला समूहले केही दिनअघि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यासम्पादन समितिको नाममा बैठक गरेको थियो।
शनिबार खड्काले कार्यवाहक सभापति भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेस विवाद उत्कर्षमा पुगेको हो। कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेको टिप्पणी गरे।
‘एउटा संवैधानिक चरण पार गरेर आम निर्वाचनमार्फत देश पनि अगाडि बढेको छ। पार्टी पनि अगाडि बढेको छ। यो बेलामा यसरी पार्टीको अफिसयल्ली विज्ञप्ति जारी गर्ने कुरा पार्टीको मर्यादा र अनुशासनभित्रको कुरा होइन,’ घिमिरेले नेपालखबरसँग भने, ‘उहाँले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो। हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
खड्काको क्रियाशील सदस्यता अद्यावधिक नगरेर पार्टीबाट बाहिर राख्ने संस्थापन पक्षको तयारी छ। ‘कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति निकाल्ने र समानान्तर गतिविधि गरिराख्ने हुने भने हामीले एउटा निर्णय लिनुपर्छ भन्ने छ। उहाँको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा छलफल हुन्छ,’ घिमिरेले भने।
Shares

प्रतिक्रिया