नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी भदौ अन्तिम साता पार्टीको १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका छन्। गत पुसको विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाले बीपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महाधिवेशन उद्घाटनको लक्ष्यसहितको प्रस्ताव अघि सारेका हुन्।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा यो सभापति थापाले कार्यतालिका पेश गरका छन्। कार्यतालिकाअनुसार महाधिवेशन यही चैत २१ गतेबाट सुरू गर्ने उल्लेख छ। २०८३ वैशाख १ गते ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने अनि त्यही दिनदेखि सबै वडा र क्षेत्रीय कार्यसमितिहरूलाइ युजर आईडी र पासवर्ड उपलब्ध गराउने भनिएको छ।
सांगठनिक ढाँचालाई प्रविधिमैत्री बनाउँदै तल्लो तहका वडा र क्षेत्रीय समितिलाई 'डिजिटल एक्सेस' दिन यो काम सुरू गर्न लागिएको हो। प्रस्तावित कार्यतालिकाअनुसार वडा र क्षेत्रका पदाधिकारीहरूलाई केन्द्रबाटै वैशाख १ देखि विशेष युजर आईडी र पासवर्ड उपलब्ध गराइनेछ।
जिल्ला अधिवेशन भदाै ६ र ७ मा
सभापति थापाले अघि सारेको प्रस्तावमा आगामी असार मसान्तभित्र देशभरका क्रियाशील सदस्यताको टुङ्गो लगाउने र साउनदेखि तल्लो तहको अधिवेशन सुरु गर्ने उल्लेख छ। कांग्रेसको विधानअनुसार टोल, वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी ८ तहमा निर्वाचन हुनेछ। क्रियाशील सदस्य धेरै भएको ठाउँमा पनि पार्टीले कम मत पाएकाले सदस्यता वितरण प्रणालीमै प्रश्न उठेपछि थापा नेतृत्वको कार्यसमिति यसलाई व्यवस्थित बनाउने पक्षमा छ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमितिमा पेश गरिएको प्रस्तावित कार्यतालिकामा २०८३ साउन ६ गते सबै वडामा अधिवेशन गर्ने उल्लेख छ। साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिएको छ। जिल्ला अधिवेशन भदाै ६ र ७ तथा केन्द्रीय अधिवेशन भदाै २४, २५ र २६ गते गर्न प्रस्ताव गरिएको छ।
यो पनि: कांग्रेसको १५औँ महाधिवेशन भदौमा, यस्तो छ देउवा-कोइरालाको रणनीति
कार्यतालिका विस्तृतमा:
Shares

प्रतिक्रिया