राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले यस्तो जिकिर गरेका हुन्।
उनले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गरे।
सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ। उनले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस् भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताए।
महासचिव भट्टले भने, ‘तपाईंहरू वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ। र परराष्ट्र नीतिको सवालमा तपाईंहरू क्लियर हुनुहुन्न। चीन विरोधी शक्तिको रुपमा अमेरिकाले तपाईंहरूलाई प्रयोग गर्ने हो। त्यो गर्न दिनुहुन्न भनेका छौँ। यदि त्यस्तो भएन भने त के भयो र, हामीनै गलत ठहरिउँला। देश बँच्दछ नि। देश बचेर हामी गलत ठहरिँदा त के बिग्रयो र। तर हामीले खबरदारी गरेनौँ भनेत समस्या होला नि।’
महासचिव भट्टले रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए। कांग्रेस र एमालेको जनाधार अहिले पनि बलियो भएकाले सो पार्टीले उनीहरूलाई कमजोर बनाउन पनि दाहालसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई थियो।
Shares

प्रतिक्रिया