बझाङको बित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा कामै नगरी भुक्तानी दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा ८ लाख ४८ हजार ९६२ रुपैयाँ बिगो माग गर्दै आरोपपत्र दायर गरेको हो।
गाउँपालिकाको वडा नं. ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा सडकमा ग्र्याब्लिंग र मेसिनरी काम नभई भुक्तानी दिएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको पाइएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी भूमिराज कन्सट्रक्सनका प्रोपाइटर मान बहादुर बोहराको आपसी मिलेमतोमा उक्त भ्रष्टाचार भएको हो।
सबै ५ प्रतिवादीसँग जनही ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा नै बिगो दाबी गरिएको छ।
सडक निर्माण योजनाअन्तर्गत सिँचाइ क्यानल तथा मेशनरी वर्क ह्युम पाइप कलभर्ट समेतको संरचना निर्माण गर्दा सम्झौताबमोजिम काम सम्पन्न नहुँदै सम्पन्न भएको भनी झुट्टा बिल तयार गरी भुक्तानी लिने र दिने कार्य गरिएको छ। नापी किताबमा ३३८ मिटर लम्बाइको सिँचाइ क्यानल उल्लेख भएकोमा फिल्डमा अनुसन्धान गर्दा जम्मा २४८ मिटर मात्र पाइएको र मेशनरी वर्कको कार्य फिल्डमा कति पनि नदेखिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्।
आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार प्रतिवादीहरूले बदनियत राखी बिल र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भएभन्दा फिल्डमा कम काम गरी सो बमोजिमकै कार्य भएको भनी झुट्टा बिल भरपाइ बनाएका थिए। 'गलत प्रतिवेदन तयार गरी ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा बराबरको सरकारी रकम निर्माण व्यवसायीलाई बढी भुक्तानी लिई/दिई राष्ट्रसेवकहरूले आफू समेतलाई गैरकानुनी लाभ पुर्याउने र सरकारलाई गैरकानुनी हानिनोक्सानी पुर्याउने गलत नियतले कार्य गरेको पुष्टि भएको छ,' प्रवक्ता न्यौपानेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
भ्रष्टाचारमा संलग्न तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट र लेखापाल रामचन्द्र धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी गरिएको छ। यस्तै इन्जिनियर सन्देश भण्डारी र सब–इन्जिनियर किरण भण्डारीको हकमा सोही ऐनको दफा ८ को उपदफा १ का साथै गलत प्रतिवेदन तयार गरेको अभियोगमा दफा १९ को उपदफा २ बमोजिम पनि सजायको माग गरिएको छ ।
Shares

प्रतिक्रिया