राजनीति


अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि मुलुकसामु ठूला चुनौती छन्: रामेश्वर खनाल

अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि मुलुकसामु ठूला चुनौती छन्: रामेश्वर खनाल

नेपालखबर
चैत ४, २०८२ बुधबार १२:१९, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि मुलुकसामु ठूला चुनौती रहेको बताएका छन्। 

बुधबार नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको बताएका हुन्। बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको उनको भनाइ थियो। 

‘अहिले मुलुकका सामु सूचकहरूले सकारात्मक अवस्था देखाए पनि ठूला चुनौतीहरू छन्। हामीसँग रहेको निष्कृय पूँजीलाई उत्पादनशील काममा लगानी गर्न सकेका छैनौँ,’ उनले भने, ‘मध्यपूर्व र खाडी मुलुकमा आएको संकटका कारण हाम्रो आपूर्ति शृंखला अवरुद्ध हुने र कतिपय आयात गर्ने वस्तुहरूको मूल्य बढ्न जाने र त्यस गर्दा हाम्रो औद्योगिक उत्पादनसँगै अर्थतन्त्रको लागत पनि बढ्न जाने सम्भावना देखिएको छ।’

मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति शृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उनले बताए। यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने बताउँदै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याए। 

‘हामी सबै सचेत हुन जरुरी छ। कतिपय कुरामा द्रुत गतिले निर्णय गर्नुपर्नेछ,’ उनले भने, ‘हामी सरकार परिवर्तनको संघारमा छौँ। मलाइ विश्वास छ, शक्तिशाली बहुमतसहित आएको आगामी सरकारले वाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्दै अघि बढ्नेछ।’

मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आउने नयाँ सरकारले वाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गरे। अहिले समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक अवस्था देखिएको उनले बताए। 

नेपालमा शोधनान्तर वचतमा रहेको, चालु खाता पनि वचतमा रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र मुद्रा स्फीति दर कम रहेको जस्ता सूचकहरू सुधारका संकेत भएको उनको भनाइ थियो।

‘समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक संकेत देखिएको छ। खासगरी शोधान्तर बचतमा छ, चालु खाता बचतमा छ, विदेशी मुद्राको सञ्चिति राम्रो छ। मुद्रा स्फ्रीतिको दर कम छ। नेपाल सरकारको राजश्वको वृद्धिदर कम्तिमा ४ प्रतिशत पुगेको छ। लक्ष्यको तुलनामा करिब ८३ प्रतिशत संकलन भएको छ । केही सुधार भएको छ तर यो पर्याप्त छैन,’ खनालले भने। 

मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म, निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा परिचालन नहुँदासम्म, लगानीकर्ताको हातमा पूँजी पुग्ने वातावरण सहज नहुँदासम्म र लगानीकर्तामा आत्मविश्वास नबढेसम्म केवल सकारात्मक सूचकका आधारमा मात्र सन्तुष्ट हुन नसकिने उनको भनाइ थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad