प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खर्च विवरण सार्वजनिक गरेका छन्।
मोरङ-६ उम्मेदवार बनेका कोइरालाले २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको विवरण सार्वजनिक गरेका हुन्। सबैभन्दा बढी प्रचार प्रसार सामग्री छपाईमा खर्च भएको जनाइएको छ भने सबैभन्दा कम मसलन्द खर्च राखिएको छ।
कोइरालाले सार्वजनिक गरेको खर्च विवरणअनुसार, मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्स लगायतका सामग्री छपाईमा १६ लाख ४६ हजार ६०९ रुपैयाँ १९ पैसा खर्च भएको छ।
त्यस्तै, स्टेशनरीमा एक लाख ४ हजार ५ सय, प्रचारप्रसारमा एक लाख १३ हजार, टेन्टमा ४० हजार, यातायातमा ७९ हजार, इन्धनमा एक लाख १६ हजार ३१९ रुपैयाँ ५० पैसा, खाजा तथा खानामा ९६ हजार ६६० र मसलन्द खर्च ३५ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
डा. कोइरालाका तर्फबाट निर्वाचन प्रतिनिधि विकास थापाले निर्वाचन आयोगमा खर्च विवरण बुझाएका हुन्।


प्रतिक्रिया