निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकार गठनको तयारीलाई तीव्र पारेको छ। भावी प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाहले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको क्याबिनेट बनाउने विषयमाथि छलफल थालेका छन्।
एकलौटी सरकार गठन गर्ने जनादेश पाएको रास्वपाले नयाँ अभ्यास अन्तर्गत गैरसांसदलाई मन्त्री बनाउन चाहेको नेताहरू बताउँछन्।
उनी निकट केही सांसदहरूले नेपालखबरसँग यसको पुष्टि गरेका छन्।
‘सकेसम्म सांसदलाई मन्त्री नबनाउने र विज्ञलाई बनाउने कि भनेर छलफल भइरहेको छ,’ बालेन निकट सांसद राजुनाथ पाण्डेले भने, ‘हाम्रो भावी प्रधानन्त्रीले सरकारमा रहेर निष्पक्ष काम गर्नको लागि संसद् बाहिरका सम्बन्धित क्षेत्रका विज्ञ राखेर क्याबिनेट बनाउन पाए डेलिभरी दिन सकिन्छ भन्नुभएको छ, यो हुन्छ कि त्यो हुन्छ कि भनेर छलफलको क्रममा छ।’
तर, त्यसरी बनाइएका मन्त्री संविधान अनुसार ६ महिनाभन्दा लामो समय पदमा रहन पाउँदैनन्। लामो समय मन्त्रीमा कायम राख्न संविधान संशोधन गर्नुपर्ने हुन्छ। यसबारे पनि बालेन जानकार छन्।
यदि ६ महिनाभित्रै संविधान संशोधन गराउन सके विज्ञ मन्त्री पदमै रहने र सरकारले राम्रोसँग काम गर्न सक्ने बालेनको बुझाइ छ।
तर, प्रतिनिधि सभामा १८२ सांसद भए पनि रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन। त्यस्तो अवस्थामा उसलाई संविधान संशोधनका लागि अन्य दलले साथ दिनुपर्ने हुन्छ।
त्यही भएर ६ महिनाभित्र संविधान संशोधन गर्न सकिने–नसकिने र त्यसमा पर्नसक्ने जोखिमबारे बालेन सचेत छन्।
‘संविधान संशोधन गर्न सजिलो छैन,’ पाण्डेले थपे, ‘राष्ट्रिय सभाको अंकगणित र अन्य दलहरूको साथ लिनुपर्ने अवस्थामा यो कार्यान्वयन गराउन कतिको सम्भव हुन्छ भन्ने कुराले निर्णयमा पुगिसकिएको छैन।’
रास्वपाले चुनावका लागि तयार पारेको वाचापत्रमा पनि विज्ञ मन्त्री बनाउे उल्लेख गरेको थियो।
‘संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापना गर्नेछौँ,’ वाचा पत्रको १७ नम्बर बुँदामा भनिएको छ।
रास्वपाका नेता शिशिर खनाल तत्काल विज्ञ मन्त्री बनाउन सम्भव नभएको बताउँछन्।
‘त्यो त संविधान संशोधनपछिको कुरा हो, अहिलेको संविधानले मिल्दै मिल्दैन,’ उनले भने, ‘६ महिना बनाएर त्यसपछि के गर्ने?’
फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। सरकार बनाउन झण्डै दुई तिहाइ बहुमत प्राप्त भएकोले रास्वपाले यही बेला धेरै ठाउँमा सुधार गर्ने मनसाय बनाएको छ।
नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छैन। यद्यपि, पूर्वसहमति अनुसार प्रधानमन्त्री आफैँ बन्ने भएकोले बालेनले आफ्नो टिममा ककसलाई राख्ने भन्नेबारे अध्ययन जारी रहेको निकटस्थहरू बताउँछन्।
यसपटक शक्तिशाली प्रधानमन्त्री बन्ने भएकोले सोही अनुसार काम गर्नुपर्ने दबाब बालेन र रास्वपालाई छ।
यदि बाह्य विज्ञ ल्याउने योजना कानुनी र राजनीतिक जटिलताका कारण सफल नभए यसको विकल्पका रुपमा रास्वपाबाट प्रत्यक्षतर्फ निर्वाचित विभिन्न क्षेत्रका विज्ञ सांसदहरूलाई मन्त्री बनाउनुपर्ने आवाज पनि उठिरहेको छ।
रास्वपाभित्र पार्टीले हस्तक्षेप नगरी प्रधानमन्त्रीले नै मन्त्री छान्नुपर्ने बहस हुन थालेको छ। सांसदहरू सस्मित पोखरेल, गणेश कार्की, राजुनाथ पाण्डे लगायतले बालेनले प्रधानमन्त्री भएपछि आफैँ मन्त्रीहरूको टिम बनाउने बताएका छन्।
‘प्रधानमन्त्रीले आफ्नो टिम बनाउने हो, यसको सबै जिम्मा उहाँलाई दिनुपर्छ,’ गणेश कार्कीले नेपालखबरसँग भने।
रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहबीच छलफल भएलगत्तै यो विषय टुंगो लाग्ने नेताहरू बताउँछन्।
स्वास्थ्यमा समस्या देखिएपछि लामिछाने आराम गरिरहेका छन्। बालेनले सांसदहरुसँग भेटवार्ता गरिरहेका छन्।
Shares

प्रतिक्रिया