यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन-२०८२ को प्रत्यक्षतर्फका १६५ क्षेत्रकै नतिजा आइसकेको छ। समानुपातिकतर्फ पनि मतगणना अन्तिमतिर पुगेको छ।
प्रत्यक्षतर्फ १२५ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामानुपातिकतर्फ पनि लोभलाग्दो ढंगले मत पाइरहेको छ। प्रतिनिधिसभामा उसको यात्रा दुई तिहाइतर्फ अघि बढ्दै छ।
प्रत्यक्षतर्फ १८ सिट जितेको पुरानो लोकतान्त्रिक दल कांग्रेस समानुपातिकतर्फको मतमा पनि दोस्रो स्थानमा छ।
त्यसैगरि प्रत्यक्षतर्फ ९ क्षेत्रमा जित निकालेको सबैभन्दा ठूलाे वामपन्थी दल नेकपा (एमाले) र ८ क्षेत्रमा विजयी भएको दोस्रो ठूलो वामपन्थी शक्ति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समानुपातिक मतमा पनि क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
पार्टी एकताको सन्देशसहित २०७४ को प्रतिनिधिसभा निर्वाचन मिलेर लड्दा यी दुई दलले राम्रो नतिजा ल्याएका थिए। २०७४ सालमा यी दुई दल (एमाले र तत्कालीन माओवादी)ले संसद्मा झण्डै दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेका थिए।
त्यतिबेला माओवादीको साथ पाउँदा एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानुपातितर्फ ४१ सिट जितेको थियो।
त्यसैगरि एमालेको साथ पाउँदा माओवादी उम्मेदवार प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिटमा विजयी भएका थिए।
निर्वाचनपछि यी दुई दलले पार्टी एकता गरेर नेकपा गठन गरे। दुई दलको एकतापछि २७५ सदस्यीय प्रतिनिधिसभामा त्यतिबेला नेकपा एक्लैको १७४ सिट पुगेको थियो। त्यतिबेला प्रतिनिधिसभामा नेकपालाई दुईतिहाइका लागि मात्रै दश सिट कम थियो।
तर, केपी ओली र प्रचण्डसहितका नेताबिचको जुँगाको लडाइँले नेकपा एक रहन सकेन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक संसद् विघटन गरेपछि नेपालमा कम्युनिस्ट शक्ति रक्षात्मक अवस्थामा पुगे।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा गठनमा कानुनी त्रुटि देखाउँदै दुई पार्टी नै अलग भएको घोषणा गरिदियो। त्यसपछि यी दुई दल अहिले आफूआफूमै प्रतिस्पर्धा गरेर सकिने अवस्थामा पुगेका छन्।
०७९ को निर्वाचनमा एमालेले राप्रपा, जसपासहितका दलसँग चुनावी तालमेल गरेको थियो। तत्कालीन माओवादी कांग्रेससहितका पाँच दलसँग गठबन्धनसहित चुनावमा गएको थियो।
तर, ०७९ को निर्वाचन परिणाम ०७४ मा वामपन्थी एकता हुँदाको जस्तो आएन। चुनावमा सबैभन्दा ठूलो दल कांग्रेस भयो। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हैसियतमा रहे।
०७४ मा संसदमा दुई तिहाइ नजिक पुगेको कम्युनिस्ट शक्ति ०७९ को चुनावसम्म आइपुग्दा निकै खुम्चिसकेको थियो। भर्खरै सकिएको निर्वाचनले त एमाले र नेकपालाई अस्तित्व रक्षाको अवस्थामा पुर्याएको छ। निर्वाचन परिणामले उनीहरू रणभुल्ल अवस्थामा पुगेका छन्।
यो अवस्थामा कतिपयले अब फेरि वामपन्थी शक्तिहरू एक हुनुको विकल्प नभएको तर्क गर्न थालेका छन्। तर, अहिलेसम्म यी दुई वाम दलका नेता कार्यकर्ताबिच कायम ‘इगाे’ले यो तर्क बेकामे गफ जस्तो मात्रै लाग्न सक्छ। तर परम्परागत वामपन्थी जनमत धेरै भएकाे नेपालमा योखाले तर्कको औचित्य भने रास्वपाको बाढीलाई हेरेर अहिले नै सकियो भन्न मिल्दैन।
यदि फागुन २१ को निर्वाचन पनि एमाले र नेकपा मिलेर लढेको भए निर्वाचन परिणाम कस्ता आउथ्यो होला?
यी दुई दल एक्लाएक्लै लड्दा रास्वपा र कांग्रेसलाई २३ सिटमा फाइदा पुगेको भने प्रत्यक्ष तर्फको निर्वाचनमा यी दुई दलका उम्मेदवारले प्राप्त गरेको मत परिणामले देखाएको छ।
एमाले र नेकपा आपसमा लड्दा सबैभन्दा धेरै फाइदा रास्वापाले लिएको छ भने कांग्रेसले पनि त्यसको प्रतिफल भरपूर उठाएको छ।
एमाले र नेकपा मिलेका भए बैतडी, डोटी, बाजुरा, हुम्ला, मुगु, दैलेख, गुल्मी, प्यूठान, बर्दिया २, बागलुड २, रामेछाप, सिन्धुलीका दुवै क्षेत्र, सिन्धुपाल्चोक-१, मकवानपुर-२, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगासहितका जिल्लामा सजिलै जित निकाल्न सक्थे भन्ने निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारले पाएको मतले देखाउँछ।
अब एकैछिन नेकपा एमाले र नेकपाका उम्मेदबार आपसमा लड्दा गुमेका क्षेत्रको चर्चा गराैँ।
यो निर्वाचनमा बैतडीमा रास्वपाका हरि मोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन्। यहाँ कांग्रेसका चतुरबहादुर चन्द १८ हजार १९४ मतसहित निकटतम प्रतिस्पर्धी बनेका छन्।
तर, यहाँ एमालेका दामोदर भण्डारीले १७ हजार ९१ र नेकपाका प्रमानन्द भट्टले ६ हजार ९६५ मत पाएका छन्। दुई दलले पाएको मत जोड्दा यहाँ कम्युनिस्ट मत २४ हजार ९९ हुन्छ। यहाँ दुई दलको एउटै उम्मेदवार हुन्थे भने ती उम्मेदवारले रास्वपाका उम्मेदवारसँग १९ सय ६५ मतान्तले पछि पर्ने थिए।
एमाले र नेकपा मिलेका भए यस्तै परिणाम डोटीमा पनि आउन सक्थ्यो।
यहाँ कांग्रेसका भरत बहादुर खड्का १४ हजार ८९७ मतसहित निर्वाचित बनेका छन्। तर, यहाँ एमालेका दीपक बहादुर धामी एक्लैले १४ हजार ११० मत पाएका छन्।
यहाँ एमालेका धामी कांग्रेसका भण्डारीसँग ७८७ मतान्तरले मात्रै पराजित भएका छन्। दुई पार्टी मिलेका भए यहाँ कांग्रेस उम्मेदवार सजिलै पराजित हुन सक्थे भन्ने तथ्य यहाँ नेकपाका त्रिलोचन भट्टले पाएको ५ हजार ४१३ मतले देखाउँछ।
बाजुरामा पनि दुई वामपन्थी दलले राम्रो मत पाएका छन्। तर, यहाँ कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मतसहित विजयी बने।
बाजुरामा एमालेका लाल बहादुर थापाले १६ हजार ६३३ मत पाउँदा नेकपाका प्रकाश वहादुर शाहले ३ हजार ३०१ मत पाएका छन्।
अछाम-१ मा पनि कांग्रेसका भरतकुमार स्वार विजयी हुनुमा एमाले र नेकपाको आपसी भिडन्तले काम गरेको निर्वाचन परिणामले देखाएको छ।
यहाँ स्वार १० हजार ७५९ मतसहित विजयी हुँदा एमालेका भीमबहादुर रावल १० हजार २३३ मतसहित दोस्रो भएका छन्। यहाँ कांग्रेस उम्मेदवारलाई पराजित गर्न रावललाई जम्मा ५२७ मत मात्रै अपुग देखिन्छ। तर, यहाँ एमालेका दिपकबहादुर साउंदले ७ हजार ३८९ मत पाएका छन्।
दुई वाम दल आपसमा भिड्दा हुम्लामा पनि कांग्रेसले बाजी मारेको निर्वाचन परिणामले देखाएको छ।
यहाँ कांग्रेसका जय पती रोकाया ८ हजार ७९७ मतसहित विजयी हुँदा नेकपाका दीपेन्द्र रोकाया एक्लैले ७ हजार २४३ मत पाएका छन्।
हुम्लामा एमालेका दल फडेरादे ४ हजार ३३१ मत ल्याएका छन्।
मुगुमा पनि कांग्रेसका खड्ग शाही ७ हजार ९१४ मतसहित निर्वाचित भएका छन्। तर, यहाँ एमाले र नेकपाका उम्मेदवारलाई पाएको मत कांग्रेसका उम्मेदवारले पाएकोभन्दा निकै बढी छ।
एमालेका पूर्णबहादुर रोकाया मुगुमा ६ हजार ७१८ मतसहित दोस्रो हुँदा नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत पाएका छन्।
दैलेखमा दुई वाम दल आपसमा भिड्दाको फाइदा कांग्रेसकी बासना थापाले उठाएकी छन्।
थापा १२ हजार ३७२ मतसहित विजयी हुँदा यहाँ नेकपाका रविन्द्र राज शर्मा एक्लैले ११ हजार ७९६ मत पाएका छन्। यहाँ चौथो मत पाएका नेकपाका अम्मर बहादुर थापाले ४ हजार २५६ मत ल्याएका छन्।
यस्तै परिणाम गुल्मी २ मा पनि आएको छ। दुई वाम दल आफूआफूमा भिड्दाको फाइदा यहाँ रास्वपाका गोविन्द पन्थीले उठाएका छन्।
पन्थी यहाँ १६ हजार ९६७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी बनेका एमालेका गोकर्ण राज विष्टले १६ हजार ४०६ मत ल्याएका छन्।
नेकपाका श्रीराम महतले यहाँ ३ हजार ८१ मत पाएका छन्। दुई वाम दल मिलेका थिए भने यहाँ गोकर्ण पराजय भोग्नु पर्ने थिएन।
वाम दल आपसमा भिड्दाको फाइदा रास्वपालाई प्युठानमा पनि भएको छ।
रास्वपाका सुशान्त वैदिक यहाँ २७ हजार ४६९ मतसहित विजयी हुँदा तीन वाम दलले यहाँ पाएका मत रास्वपाको भन्दा निकै बढी छ।
यहाँ एमालेका सूर्यबहादुर थापा क्षेत्रीले १६ हजार ७१०, नेकपाका कृष्ण ध्वज खड्काले ९ हजार ७४ र राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत पाएका छन्। तीन वाम दलका उम्मेदवारले पाएको मत यहाँ ३३ हजार ४३८ हुन्छ। यहाँ वाम दलले पाएकोभन्दा विजयी हुने रास्वपाका वैदिकले ५ हजार ९६९ मत कम ल्याएका छन्।
बर्दिया-२ मा रास्वपाका श्रीधर पोख्रेल २९ हजार ६७८ मतसहित विजयी हुँदा यहाँ तेस्रो स्थानमा रहेको एमाले र चौथो स्थानमा रहेको नेकपाको मत त्यो भन्दा धेरै बढी छ।
यहाँ नेकपाका सुरेश पन्थले १९ हजार १८० र एमालेकी बिमला विकले १० हजार ७७२ मत पाएकी छन्।
बाग्लुड-२ मा पनि वामपन्थीहरू आपसमा लड्दा रास्वपाले फाइदा लिएको मत परिणामले देखाएको छ।
यहाँ रास्वपाका सोम शर्मा १२ हजार ६४७ मतसहित विजयी भएका छन्। तर दुई वाम दलले यहाँ पाएको मत शर्माले पाएको भन्दा झण्डै ६ हजार बढी छ।
यहाँ नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाएका छन् भने एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत ल्याएकी छन्।
यहाँ अर्को वाम घटक राष्ट्रिय जनमोर्चाले नेकपाका उम्मेदवारलाई समर्थन गरेको थियो।
यस्तै परिणाम रामेछापमा पनि देखिएको छ।
रामेछापमा रास्वपाका कृष्णहरी बुढाथोकी २४ हजार ८०८ मतसहित विजयी हुँदा एमालेका माधव प्रसाद ढुंगेलले १७ हजार ६०९ र नेकपाका श्याम कुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन्। यहाँ वामपन्थी दलले पाएको मत रास्वपाको भन्दा ६ हजार ४५५ बढी छ।
सिन्धुली-१ पनि एमाले र नेकपा आपसमा लड्दाको प्रतिफल रास्वपाले उठाएको देखिन्छ।
रास्वपाका धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित विजयी हुँदा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ र नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७०८ मत पाएका छन्।
त्यस्तै फाइदा रास्वपाका उम्मेदवारले सिन्धुली-२ मा पनि उठाएका छन्।
सो पार्टीका आशिष गजुरेल सिन्धुली- २ मा १७ हजार ९४० मतसहित विजयी हुँदा नेकपाका लेखनाथ दाहालले १४ हजार ७८० र एमालेका मनोज जंग थापाले ११ हजार ६०६ मत पाएका छन्। यहाँ वामपन्थी जनमत ८ हजार ४४६ हुँदा पनि रास्वपा उम्मेदवार विजयी भएका छन्।
त्यसैगरि सिन्धुपाल्चोक-१ मा पनि वापमन्थी शक्ति आपसमा जुध्दा रास्वालाई फाइदा पुगेको छ।
रास्वपाका भरत प्रसाद पराजुली यहाँ २४ हजार ४१२ मतसहित विजयी हुँदा नेकपाका माधव सापकोटाले १७ हजार ३२७ र एमालेका सरेश नेपालले ११ हजार ९६१ मत पाएका छन्।
यहाँ पजि नेकपा र एमालेका उम्मेदवारले पाएको मत रास्वपाका विजयी उम्मेदवारले पाएको भन्दा ४ हजार ८७६ मत बढी छ।
यस्तै परिणाम मकवानपुर- २ मा पनि आएको छ। यहाँबाट रास्वपाका प्रशान्त उप्रेतीसँग एमालेका युवा नेता महेश बर्तौला पराजित भएका छन्।
उप्रेती ३० हजार ५० मतसहित निर्वाचित हुँदा बर्तौलाले १८ हजार ८४६ र नेकपाका लव शेर विष्टले १२ हजार ४९२ मत ल्याएका छन्।
यस्तै परिणाम काेसी प्रदेशको पाँचथरमा पनि आएको छ।
यहाँ कांग्रेसका नरेन्द्र कुमार केरुङ १७ हजार २३३ मतसहित विजयी हुँदा तेस्रो स्थानमा रहेका एमालेका अइन्द्र सुन्दर नेम्वाङ १४ हजार ५३४ मत ल्याएका छन् भने नेकपाका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३ मत ल्याएका छन्।
इलाम- १ मा पनि कांग्रेसका निश्कल राई दुई वाम दलले पाएकोभन्दा कम मतसहित विजयी भएका छन्।
राई १४ हजार ५४३ मतसहित विजयी हुँदा एमालेका काजी मान कागतेले ११ हजार ९६६ र नेकपाका रन बहादुर राईले ७ हजार ६६५ मत पाएका छन्।
यस्तै फाइदा कांग्रेसलाई तेह्रथुममा पनि भएको छ।
यहाँबाट कांग्रेसका सन्तोष सुब्वा ११ हजार ५६१ मतसहित विजयी हुँदा नेकपा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ नेकपाका रनध्वज लिम्वूले ९१९ मत पाएका छन्। दुई वाम दलकाे एउटै उम्मेदवार थिए भने यहाँ कांग्रेसको भन्दा ४० मत बढी ल्याएर उनी विजयी हुने थिए।
भोजपुरमा भने वामपन्थी दल आपसमा लड्दाको फाइदा श्रम हर्क राई नेतृत्वको श्रम संस्कृती पार्टीले उठाएको छ।
श्रम संस्कृतिका ध्रुवराज राई यहाँबाट १६ हजार ६६३ मतसहित विजयी हुँदा एमाले र नेकपाका उम्मेदवारलाई त्यो भन्दा निकै बढी मत ल्याएका छन्।
यहाँबाट एमालेका शेरधन राईले १४ हजार ७५० र नेकपाका अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याएका छन्।
यस्तै परिणाम सोलुखुम्बुमा पनि आएको छ। यहाँ भने दुई वाम दल आपसमा भिड्दाको फाइदा कांग्रेसले उठाएको छ।
कांग्रेसका प्रकाश सिंह कार्की १३ हजार १६६ मतसहित निर्वाचित हुँदा यहाँ नेकपाका अशिम राईले ९ हजार ४१४ र एमालेकी कल्पना राईले ८ हजार २२८ मत पाएकी छन्।
खोटाड पनि दुई वाम दल आफसमा लड्दाको फाइदा श्रम संस्कृति पार्टीले उठाएको देखिन्छ।
यहाँबाट आरेन राई १६ हजार ६१२ मतसहित निर्वाचित हुँदा एमालेका देव विक्रम राईले १२ हजार ७१४ र नेकपाका हरि रोकाले ९ हजार ४४३ मत पाएका छन्। यो भनेकाे श्रम संस्कृति पार्टीका उम्मेदवारले पाएकोभन्दा ५५ सय ४५ बढी हो।
यस्तै ढंगले आपसमा लड्दा वामपन्थी दलले ओखलढुंगा पनि गुमाएका छन्।
ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी भएका छन्। यहाँ नेकपाका अम्विर बाबु गुरुङ्गले ११ हजार २९६ र एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छन्।
Shares

प्रतिक्रिया