यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबारसम्म सबै परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ।
सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन्।
यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले आज सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले बताए।
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३:३० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेका छन्।
मतगणना जारी छ।
प्रत्यक्षतर्फ यसअघि नै सबै १६५ क्षेत्रकै परिणाम घोषणा भइसकेको छ। प्रत्यक्षमा पनि सबैभन्दा बढी रास्वपाले १२५ क्षेत्रमा जित हासिल गरेको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जित्दा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा विजय हासिल गरेका छन्।
Shares

प्रतिक्रिया