दलहरुलाई संसदमा संविधानले तोकेको ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन कठिन पर्दै आएको छ। अझ प्रत्यक्षमा त दलहरुले उम्मेदवार उठाए पनि कमै महिलाले चुनाव जित्ने गर्थे।
तर, यो अवस्थालाई यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीको लहरले बदलिदिएको छ। यस पटक प्रत्यक्षतर्फका १६५ सांसदमध्ये १४ जना अर्थात् ८.४८ प्रतिशत महिला सांसदमा पुग्ने पक्का भएको छ। रास्वपाबाट १६ जना महिला उम्मेदवार थिए। जसमध्ये १३ जना निर्वाचित भएका छन्। एक जना कांग्रेसबाट चुनिएकी हुन्।
२०७९ को निर्वाचनमा ५.४५ प्रतिशत महिला निर्वाचित भएका थिए।
सक्षम भए पनि राजनीतिमा नेपाली समाजले महिलालाई सधैँ कम आँक्ने गरेको देखिन्छ। तर, यसपटक घण्टी चिह्न र बालेनको नामले मोहित मतदाताले महिला वा पुरुषको उम्मेदवार छुट्याएनन्। जसका कारण रास्वपाबाट उठेका धेरै महिला निर्वाचित भए।
७ मध्ये ५ प्रदेशबाट महिला प्रत्यक्षतर्फ विजयी भएका छन्।
कोसी प्रदेशको झापा–२ बाट इन्दिरा राना मगर महिलामध्ये सबैभन्दा बढी मतका साथ विजयी भएकी छिन्। मगरले ६०,११० मत ल्याएकी हुन्। उनले ४८ हजार ७४२ मतान्तरका साथ नेकपा एमालेका देवराज घिमिरेलाई पराजित गरेकी हुन्।
रास्वपाकी संस्थापक सदस्य समेत रहेकी उनी अघिल्लो पटक समानुपातिकतर्फबाट संसदमा पुगेर उपसभामुख निर्वाचित भएकी थिइन्।
झापा–१ बाट २९ वर्षकी निशा डाँगी ४५ हजार ६८० मतका साथ निर्वाचित भइन्। रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा आबद्ध रहेकी डाँगी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद थिइन्। त्यतिबेला उनी सबैभन्दा कान्छी सांसद पनि थिइन्। उनले ३५ हजार १३० मतान्तरका साथ नेपाली कांग्रेसका केशवराज पाण्डेलाई हराइन्।
मोरङ–५ बाट आशा झाले ३० हजार ४३४ मत ल्याएर जितेकी छन्। उनले नेपाली कांग्रेसका फुलकुमार लालवानीलाई २१ हजार १९ मतान्तरले पराजित गरेकी छिन्।
मोरङ–६ की रुविना आचार्यले ५५ हजार ५१३ मत ल्याएकी छिन्। आचार्यले नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी छिन्। कोइरालाले मात्र १२ हजार ८५० मत ल्याए।
मधेस प्रदेशकी पुष्पाकुमारी चौधरी सप्तरी–१ बाट उम्मेदवार थिइन्। उनले ३८ हजार १९५ मत ल्याएर निर्वाचित भएकी हुन्। चौधरीले स्वाभिमान पार्टीका सुमित कुमारलाई ३० हजार ३४८ मतका साथ पराजित गरेकी हुन्।
उनी यसपालि पहिलो पटक निर्वाचनमा होमिएकी थिइन्। राजनीतिमा आउनु भन्दा पहिले उनी सामाजिक क्षेत्र र महिला अधिकारका मुद्दाहरूमा सक्रिय थिइन्।
मधेस प्रदेशमा महिला तर्फबाट सबैभन्दा बढी ४४ हजार १८१ मत ल्याएर निमिता भण्डारी (कार्की) निर्वाचित भएकी छिन्। कार्कीले सर्लाही–१ बाट उम्मेदवारी दिएकी थिइन्। नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ ३६ हजार ३१० मतान्तरले पराजित भए। श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका हुन्।
यस्तै गौरी कुमारी महोत्तरी–४ बाट ३० हजार १३२ मत ल्याएर विजयी भएकी छन्। जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई कुमारीले २१ हजार ३९० मतान्तरले पराजित गरेकी हुन्।
बागमती प्रदेशको काठमाडौँ–१ बाट १५ हजार ४५५ मत ल्याएर रञ्जु दर्शना निर्वाचित भएकी छिन्। उनको क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो भएका छन्। तेस्रो पटक पराजित राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मतमा चित्त बुझाउनुप¥यो।
दर्शना १७ वर्षकी हुँदा विवेकशील नेपाली पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। राजनीतिमा प्रवेश गरेर १४ वर्ष संघर्ष गरेपछि उनी बल्ल संसदमा पुग्ने भएकी छिन्।
ललितपुर–३ बाट अघिल्लो पटक पनि निर्वाचित भएर संसदमा पुगेकी तोसिमा कार्की यस पटक पनि सोही क्षेत्रबाट ४३ हजार ९६ मतका साथ विजयी भएकी छिन्। नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत मात्र ल्याए।
राजनीतिमा आउनु अघि उनी जनरल सर्जनको रूपमा काम गर्थिन्। उनले स्वास्थ्य क्षेत्रमा विकृति, भ्रष्टाचार र आम नागरिकको स्वास्थ्य अधिकारका मुद्दाहरूलाई संसदमा उठाएकी थिइन्।
यस्तै चितवन–३ बाट सोविता गौतम ५९ हजार २७७ मतका साथ विजयी भएकी हुन्। गौतमले भरतपुर नगरपालिकाकी पूर्वमेयर रेणु दाहाललाई भारी मतान्तरका साथ पराजित गरेकी हुन्।
धादिङ–१ बाट सामाजिक अभियन्ता समेत रहेकी आशिका तामाङ ३९ हजार १२८ मतका साथ निर्वाचित भएकी छिन्। तामाङले ठूलो मतान्तरका साथ एमाले र कांग्रेसका उम्मेदवारलाई पछाडि पारिन्।
गण्डकी प्रदेशको कास्की–३ बाट बिना गुरुङ ३७ हजार ७५० मतका साथ विजयी भएकी छिन्। रास्वपाको स्थापना कालदेखि नै गुरुङ पार्टीमा आबद्ध छिन्। अघिल्लो निर्वाचनमा उनी रास्वपाको समानुपातिकतर्फबाट संसद बनेकी थिइन्। राजनीतिमा लाग्नुअघि उनी सामाजिक कार्य र पर्यटन क्षेत्रमा सक्रिय थिइन्।
कास्कीमा रास्वपाको पकड बलियो बनाउनमा गुरुङको ठूलो हात छ।
अघिल्लो निर्वाचनमा रास्वपाको समानुपातिकतर्फबाट सांसद बनेकी कोमल ज्ञवाली यस पटक कैलाली–१ बाट १७ हजार ८२६ मतका साथ विजयी भएकी छिन्। राजनीतिमा प्रवेश गर्नु अघिज्ञवाली शिक्षण पेसा र सामाजिक सेवामा आबद्ध थिइन्। उनी लामो समयसम्म शिक्षा क्षेत्रमा संलग्न रहेर विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका मुद्दामा सक्रिय थिइन्।
२०७९ को निर्वाचनपछि संसदमा पुगेपछि पनि कोमलले महिला अधिकार, शिक्षा र सुदूरपश्चिमका स्थानीय समस्याबारे कुरा उठाउने र प्रश्न उठाउने गर्थिन्।
यस्तै नेपाली कांग्रेसबाट एक मात्र महिला बासना थापा दैलेख–१ बाट १२ हजार ३७२ मतका साथ निर्वाचित भएकी छिन्। कांग्रेसमा प्रत्यक्षतर्फबाट समग्रमा १७ जना निर्वाचित भएकोमा थापा एक मात्र महिला हुन्।
उनी २०७४ को स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुख पदमा एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भएकी थिइन्। स्थानीय तहमा पराजय व्यहोरेको ८ वर्षपछि बासना नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा पुग्ने भएकी छिन्।
यो नतिजा अप्रत्याशित नै थियो। देशभर रास्वपाको लहर चलिरहेको बेलामा विगत १२ वर्षदेखि नेकपा एमालेले जित्दै आएको स्थान दैलेख–१ मा थापा पहिलो प्रयासमै निर्वाचित भएकी हुन्। उनले नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गरेकी हुन्।
Shares

प्रतिक्रिया