कोसी प्रदेशका चार निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। सुनसरीका दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जितको नजिक पुग्दा इलाम र संखुवासभामा भने नेकपा एमालेले अग्रता कायम गरेको छ।
सुनसरीमा रास्वपाको 'क्लिन स्वीप' उन्मुख: सुनसरी क्षेत्र नम्बर २ र ४ मा गणना जारी रहँदा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तर बनाएका छन्। ती क्षेत्रमा रास्वपाको जित लगभग सुनिश्चित भइसकेको दाबी प्रतिनिधिहरूले गरेका छन्। यद्यपि, मतगणना जारी छ।
इलाम–१ मा एमाले र श्रम संस्कृतिबीच टक्कर: इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले अग्रता लिइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार कागते ७,४८१ मतका साथ पहिलो स्थानमा छन्।
उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले ६,७५९ मतका साथ पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका निश्चल राई ६,५४८ मतसहित तेस्रो र रास्वपाका विमल गदाल ४,२३६ मतसहित चौथो स्थानमा छन्।
संखुवासभामा एमालेलाई रास्वपाको चुनौती: संखुवासभामा पनि नेकपा एमालेकै उम्मेदवार अर्जुन कुमार कार्कीले अग्रता बनाइरहेका छन्। उनले ५,६१५ मत प्राप्त गर्दा रास्वपाका मिङमा शेर्पा ५,०२३ मतका साथ कडा चुनौती दिइरहेका छन्।
कांग्रेसका दिपन कुमार श्रेष्ठ ३,४५९ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् भने श्रम संस्कृति पार्टीकी उमा कुमारी राई २,३०७ मतका साथ चौथो स्थानमा छिन्।
Shares

प्रतिक्रिया