आफू उठेको सुनसरी-१ को मतगणना चलिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङले आइतबार अब बन्ने प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई होइन, सभापति रवि लामिछानेलाई बनाउनु उचित हुने स्टाटस लेखे।
बालेनप्रति रोष प्रकट गर्दै उनले लेखे, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ। तर सरकारको नेतृत्व रविले गर्दा राम्रो! सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ! नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।’

गत स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएर मेयर बन्न सफल उनीहरूबिच सुरुमा राम्रो मित्रता भए पनि केही समयपछि सम्बन्ध बिग्रिँदै गयो र सामाजिक सञ्जालमा घोचपेच हुन थाल्यो।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गर्ने बेला आफूलाई प्रधानमन्त्री पदमा समर्थन नगरेपछि त साम्पाङले सामाजिक सञ्जालमा बालेनको चर्को विरोध गर्दै निरन्तर स्टाटस लेख्न थाले। त्यो क्रम प्रतिनिधिसभा निर्वाचनमा बालेन भारी मतले विजयी भइसक्दा पनि रोकिएको छैन।
यसैबिच बालेनलाई प्रधानमन्त्री बनाउन नहुने स्टाटस लेखेको केही समयपछि साम्पाङले आफू सुनसरी २ मा विजयी भएपछि अर्को स्टाटस लेखे, जसमा बालेनले उनीप्रति 'माया' दर्शाउँदै कमेन्ट गरेका छन्।
साम्पाङले लेखेको ‘लु अबचाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति’ स्टाटसमा बालेनले कमेन्ट गरेका छन्, ‘तपाईँलाई सधैँ माया थियो, छ र रहन्छ। तपाईँ र धरानलाई सधैँ माया छ।’

Shares

प्रतिक्रिया