राजनीति


ओलीको इलाकामा बालेनको धमाका, दमकमा शनिबार साँझ देखिएको अनौठो दृश्य

ओलीको इलाकामा बालेनको धमाका, दमकमा शनिबार साँझ देखिएको अनौठो दृश्य

झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र साथ बालेन (सरोज नेपाल)


अनिल यादव
फागुन २४, २०८२ आइतबार २:४, झापा

झापाको दमकमा मतगणना केन्द्रबाहिर शनिबार साँझ एउटा अनौठो दृश्य देखियो– 

भीड नाचिरहेको थिएन तर उत्साहको तरंगले सडक कम्पित थियो। युवाहरूको एउटा समूह एउटै नारा दोहोर्‍याइरहेको थियो– ‘अबकी बार, बालेन सरकार।’

केही क्षणपछि अन्तिम परिणाम सार्वजनिक भयो।

काठमाडौं महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले ६८ हजार ३४८ मत पाए। त्यसै क्षेत्रमा लगातार ६ पटक जितेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १८ हजार ७३४ मतमा सीमित भए। मतान्तर— ४९ हजार ६१४।

यो केवल एउटा निर्वाचन परिणाम थिएन।

यो नेपाली राजनीतिमा लामो समयदेखि जमेको संरचनामा बज्रिएको एउटा शक्तिशाली जनमत थियो।
***

नेपाली राजनीतिको रङ्गमञ्चमा समयले यस्तो एउटा दृश्य कोरिदेला भनेर सायद कसैले कल्पना गरेका थिएनन्। अजेय मानिने एउटा किल्ला ढलेको छ र त्यो किल्लाको भग्नावशेषमा उभिएर एउटा ३५ वर्षे तन्नेरीले नयाँ नेपालको शङ्खघोष गरेको छ। 

झापा क्षेत्र नम्बर ५, जहाँ दशकौँदेखि एमाले अध्यक्ष ओलीको एकछत्र राज चल्थ्यो, आज त्यहीँबाट नेपाली राजनीतिको एउटा अध्याय समाप्त भइरहेका थियो र अर्को एउटा नयाँ, कञ्चन र आशालाग्दो अध्यायको प्रारम्भ।

यो एउटा चुनावी हार–जित मात्र होइन, नेपाली मतदाताको मौन विद्रोहको उच्चतम पराकाष्ठा हो। झन्डै ५० हजारको मतान्तरले भनिरहेको छ— अब नेपाली जनता उखान र टुक्काको होइन, काम र परिणामको भोको छ।

किल्ला ढलेको दिन
झापा–५ लाई धेरैले ‘ओलीको किल्ला’ भनेर चिन्थे। २०६४ सालको माओवादी जनलहरताकाबाहेक उनले यहाँबाट कहिल्यै चुनाव हारेका थिएनन्। त्यसैले जब बालेनले यही क्षेत्र रोजे, धेरैले त्यसलाई साहस होइन— दुस्साहस भनेका थिए।

स्वयं ओलीले पनि चुनावअघि नेपालखबरसँग दिएको अन्तर्वार्तामा हारको सम्भावना स्वीकार्न चाहेका थिएनन्।

उनले भनेका थिए, ‘हारको त कुरै नगरौँ न! जित्ने मैले हो, उनीहरूले जित्ने त कुरै नगरौँ!’

तर राजनीति कहिलेकाहीँ अनुमानभन्दा पर जान्छ।

दमकस्थित मतगणना केन्द्रबाहिर उभिएका ६० वर्षीय हरिकृष्ण बुढाथोकी त्यही परिवर्तनको एउटा प्रतिनिधि थिए। 

‘मैले छ पटक ओलीलाई भोट हालेको थिएँ’, बालेनको जित मनाइरहेका उनले नेपालखबरसँग भने, ‘यसपटक परिवर्तन गरेँ। अब युवालाई मौका दिनुपर्छ भन्ने लाग्यो।’

उनको आवाजमा आक्रोश थिएन, केवल थकान थियो। वर्षाैँदेखि एउटै नेतृत्व देख्दा आउने थकान।

केपी ओलीको हारको बीउ चुनावको दिन होइन, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहका दिन नै रोपिएको थियो। जब नयाँ बानेश्वरको सडकमा सुशासन र परिवर्तनको माग राख्ने अबोध बालबालिका र युवाहरूमाथि राज्यले गोली बर्सायो। 

बालुवाटारको शक्तिले नैतिकताको जग त्यतिबेलै गुमाएको थियो। आफ्ना सन्तान मारिँदा अभिभावकत्व ग्रहण गर्नुको साटो सेनाको संरक्षणमा हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नुपर्ने नियतिले ओलीको राजनीतिक उचाइलाई धूलोमा मिलाइदिएको थियो।

ओलीले चुनावअघि दम्भका साथ नेपालखबरसँगको कुराकानीमा भनेका थिए, ‘बालेन यहाँ आउनु पर्दैनथ्यो, हाम्रा कार्यकर्ताले ठीक पारिहाल्थे, यो भुङ्ग्रोमा ऊ उम्किन सम्भव छैन।’

तर, उनले यो बिर्सिए कि जनता अब कसैको कार्यकर्ता मात्र रहेनन्, उनीहरू सचेत नागरिक भइसकेका थिए। वरिष्ठ पत्रकार नारायण अमृतले लेखेझैँ ‘ओलीलाई बालेनले मात्र हराएका होइनन्, ओलीलाई त ती आमाबुबाको आँसुले हराएको हो जसको कोख भदौको त्यो विद्रोहमा रित्तिएको थियो।’ ओलीले उपहार दिएको तबला बालेनले उनकै किल्लामा बजाइदिए, जसको ध्वनिले पुरानो सत्ताको अहङ्कारलाई क्षतविक्षत बनाइदिएको छ।

मौन अभियानको शक्ति
यो चुनावको सबैभन्दा अनौठो पक्ष थियो– बालेनको अभियान। नेपाली राजनीतिमा जहाँ नेताहरू मञ्चमा उभिएर घण्टौँ भाषण गर्छन्, त्यहाँ बालेनले भाषणलाई लगभग त्यागे।

उनी देशभर यात्रा गरे तर माइक समातेका दृश्य विरलै देखिए। सातै प्रदेश घुम्दा उनी प्रायः एउटै काम गर्थे– गाडीबाट हात हल्लाउने, जनतासँग मुस्कुराउने र उम्मेदवारलाई छोटो सुझाव दिने।

उनको सचिवालयका एक सदस्य भन्छन्, ‘बालेनजी यसलाई बोल्ने र नबोल्नेबीचको प्रतिस्पर्धा बनाउन चाहनुहुन्थ्यो।’

यो रणनीति पुराना दलहरूको शैलीभन्दा बिल्कुल फरक थियो।

पुराना नेताहरूले भाषणमार्फत सपना बेचिरहेका थिए। बालेन भने कामको छविमार्फत विश्वास मागिरहेका थिए। बालेनको जित कुनै संयोग होइन, यो एक गहिरो राजनीतिक इन्जिनियरिङको परिणाम हो। काठमाडौँको सुरक्षित विरासत र महोत्तरीको भावनात्मक जगलाई छाडेर प्रधानमन्त्री विरुद्ध प्रधानमन्त्री लड्न झापा पुग्नु उनको ‘हाइ रिस्क, हाइ रिवार्ड’ रणनीति थियो। उनले बुझेका थिए— यदि देश बदल्नु छ भने शक्ति केन्द्रकै छातीमा उभिएर चुनौती दिनुपर्छ।

यो चुनावमा बालेनको सबैभन्दा ठूलो अस्त्र मौनता बन्यो । बोल्नेको पिठो बिक्छ भन्ने उखानलाई गलत सावित गर्दै उनले कम बोले, धेरै हिँडे।

उनले मिडियालाई टाढै राखे, तर जनताको घरदैलोमा पुगेर उनीहरूको समस्याको डाटा संकलन गरे। उनले आफ्ना उम्मेदवारहरूलाई सिकाएको ुधेरै नबोल्नु, जे सकिन्छ त्यति मात्रै बोल्नुु भन्ने मन्त्रले मतदातामा एउटा गहिरो विश्वास पैदा गर्यो। पुराना नेताले आकाशका तारा खसाल्ने सपना बाँडिरहँदा बालेनले भुइँमान्छेको दुःखको इन्जिनियरिङ समाधान खोजिरहेका थिए।

मतदाताको अपेक्षा
मतगणना केन्द्रबाहिर हामीले भेटेका मतदाताका आवाजहरू पनि त्यही परिवर्तनको संकेत थिए।

पहिलोपटक मतदान गरेकी १२ कक्षामा अध्ययनरत झापा ५ की मतदाता प्रशंसा मैनालीले हामीसँग भनिन्, ‘हामीले बालेनलाई भोट हालेको मुख्य कारण उहाँ भ्रष्टाचार गर्नुहुन्न भन्ने विश्वास हो। हामीलाई विदेश जान मन नलागोस्, यहीँ काम पाइयोस् भन्ने चाहना छ।’

त्यस्तै अर्की युवा मतदाता प्रश्ना चुडालले भनिन्— हामीलाई दुबईजस्तो देश बनाउनुपर्दैन। तर पढ्न नपाएकाले पढ्न पाउनुपर्यो, स्वास्थ्यमा सहज पहुँच हुनुपर्याे, मेचीमा मात्रै होइन कर्णालीसम्मका बाटो बन्नुपर्यो।

उनका शब्दहरूमा कुनै राजनीतिक सिद्धान्त थिएन। त्यहाँ केवल सरल अपेक्षा थियो—अवसर, शिक्षा र काम।

स्थानीय गोमा कार्कीको दृष्टिकोण अझ परिपक्व थियो। ‘जितेको महिना दिनमै परिणाम खोज्दैनौँ,’ उनले भनिन्, ‘पाँच वर्ष हेर्छौा। काम गरेनन् भने हामी झोले हुन्छौँ, अहिले समर्थक हो।’

उनको वाक्यमा लोकतन्त्रको सबैभन्दा सुन्दर तत्व थियो—समर्थन पनि सर्तसहित।

रास्वपाको लहर र नयाँ ‘म्यान्डेट’को अर्थ
प्रत्यक्षतर्फ ८० सिटमा विजय (यो रिपोर्ट तयार पार्दासम्म) र समानुपातिकमा भारी अग्रताका साथ रास्वपाले बहुमत ल्याउनुको अर्थ परिवर्तनको तीव्र भोक हो।

यो लहरले पहाड, मधेस, र हिमाललाई एउटै सूत्रमा उनेको छ। बालेनले सुदूरपश्चिम पुग्दा त्यहीँको लवजमा बोलेका शब्दहरू र कर्णालीको दुखमा साटेको आत्मीयताले उनलाई एउटा क्षेत्रीय नेताबाट राष्ट्रिय आइकनमा रुपान्तरण गरिदिएको छ।

जनताले दिएको यो म्यान्डेटको स्पष्ट सन्देश छः
–भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताः प्रशंसा मैनाली र रितिका भण्डारी जस्ता नयाँ मतदाताले बालेनमा एउटै आश राखेका छन्— अब देश लुट्नेहरूको दिन सकिनुपर्छ।

–स्वदेशमै रोजगारीः ६० वर्षीय हरिकृष्ण बुढाथोकीले ६ पटक ओलीलाई भोट हालेर पनि यसपटक बालेन रोज्नुको कारण आफ्ना छोराछोरीलाई विदेश पठाउनु नपरोस् भन्ने चाहना नै हो ।

–सुविधाको विकेन्द्रीकरणः देशभर अभुतपूर्व लहर ल्याइरहेको रास्वपाले सबैभन्दा लज्जाजनक हार कर्णालीमै व्होरिरहँदा पनि झापा ५ मा भेटिएकी रितिको बालेनसँग खास अपेक्षी उही थियो– कर्णालीको बाटो र स्वास्थ्य सेवामा सहज पहुँच अबको प्राथमिकता हुनुपर्छ। बालेन शाह अब केवल एउटा सांसद वा मेयर रहेनन्, उनी झन्डै दुई–तिहाइ जनमतको आशाका केन्द्रविन्दु हुन्। अब बन्ने बालेन नेतृत्वको सरकारले निम्न कुरामा ध्यान दिनु अनिवार्य छ।

–गफ होइन, डेलिभरीः चुनावी मैदानमा उनी जति मौन रहे, सत्ताको कुर्र्सी बसेपछि उनको कामले त्यति नै ठूलो स्वरमा बोल्नुपर्छ। जनताले जितेको महिना दिनमै जादु खोजेका छैनन्, तर थिति बसेको हेर्न चाहन्छन्।

उनीहरु चाहन्छन्, संस्थागत सुधार। पुराना दलले भत्काएका राज्यका संयन्त्रहरू— अदालत, प्रहरी र प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनु बालेनको पहिलो चुनौती हुनेछ।

बालेन सरकार जेनजी र युवा पुस्ताको सपना हो। यो विद्रोह युवाहरूको हो। त्यसैले शिक्षालाई सीपसँग र सीपलाई बजारसँग जोड्ने नीति तत्काल ल्याइनुपर्छ।

जुन अहंकारले ओलीलाई यो अवस्थामा पुर्यायो, बालेन र रास्वपाका नेताहरूले त्यसबाट पाठ सिक्नुपर्छ। सत्ताको मातले जनताको चित्कार सुन्न छाडियो भने इतिहास दोहोरिन समय लाग्दैन।

झापा ५ मा मतगणना भइरहँदा बाहिर लागेको नारा थियो–बालेन शाह आयो, सूर्य कता हरायो ?

यो केवल एउटा चुनावी नारा मात्र थिएन, एउटा राजनीतिक युगको अन्त्यको घोषणा पनि थियो। बालेनले आफ्नो फेसबुक स्टाटसमा खुवालुङलाई सभ्यताको द्वार भनेझैँ, उनको यो विजय नेपाली राजनीतिको नयाँ सभ्यताको द्वार हो।

ओलीले उपहार दिएको तबला आज बालेनले विजयको उत्सवमा बजाइरहँदा त्यसको तालमा नेपालका युवाहरूको सपना नाचेको छ।

अबको पाँच वर्ष बालेनका लागि परीक्षाको घडी हो। यदि उनले जनताको यो निर्मल भरोसालाई परिणाममा बदल्न सके भने नेपाललाई स्विट्जरल्यान्ड बनाउनु पर्दैन। बालेनले भनेझैँ नेपाललाई नेपाल मात्र बनाइदिए पुग्छ— जहाँ हरेक नेपालीले गौरवका साथ शिर उठाएर बाँच्न पाऊन्।

इतिहास साक्षी छ– जब–जब शासकले जनताको आँसुलाई कमजोरी ठानेका छन्, तब–तब बालेन जस्ता आँधीहरू जन्मिएका छन्। यो मौन हुरीले पुराना संरचनाहरू त भत्काएको छ। आशा गरौँ, अब यसले एउटा सुन्दर र समृद्ध नेपालको निर्माण पनि गर्नेछ। 

झापा ५ को पराजय र विजय दुवै प्रतीकात्मक छन्। पराजय– पुरानो राजनीतिक संस्कृतिको। विजय– परिवर्तनको आकांक्षाको।

अब इतिहासले एउटै प्रश्न सोधिरहेको छ— यो मौन हुरीले उठाएको परिवर्तन व्यवहारमा रूपान्तरण हुन्छ कि हुँदैन?

यदि हुन्छ भने झापा–५ केवल एउटा निवाचन क्षेत्रको कथा रहनेछैन। त्यो नेपाली राजनीतिक पुनर्जागरणको पहिलो अध्याय बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad