डा. लेखजंग थापाको दैनिकी केही महिना अघिसम्म स्टेथोस्कोप, एमआरआई रिपोर्ट र ओपीडी कक्षको घेराभित्र सीमित थियो। तर, रुपन्देही–३ को निर्वाचनको नतिजाले उनको परिचय मात्र बदलिदिएको छैन, देशकै रुग्ण नीति र थला परेको स्वास्थ्य प्रणालीको उपचार गर्ने दायित्व पनि सुम्पिदिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका वरिष्ठ न्युरोलोजिस्ट डा. थापाले शनिबार एउटा यस्तो इतिहास रचे, जुन नेपालको संसदीय निर्वाचनको इतिहासमै 'कीर्तिमान' बन्यो। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतको विशाल अन्तरले पराजित गरे। डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले केवल ८ हजार ४३५ मतमा चित्त बुझाउनु पर्यो।

यो केवल एउटा जित मात्र थिएन, एउटा सन्देश थियो। जहाँ एमालेका बासुदेव घिमिरे र राप्रपाका गौरव बोहरा जस्ता स्थापित अनुहारहरू १० हजार मतको आँकडा पनि छुन नसकेर खुम्चिए, त्यहाँ डा. थापाको 'घण्टी' ले रुपन्देहीको राजनीतिक गढ नै हल्लाईदियो।
हार्भर्ड ज्ञान र बाँसबारीको अनुभव
डा. थापाको राजनीतिक दाउपेचसँगको साइनो धेरै पुरानो होइन। २०७९ को आम निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीको खस–आर्यतर्फको समानुपातिक सूचीमा थिए। तर, मूलधारको राजनीतिमा नीतिगत हस्तक्षेप गर्ने उनको हुटहुटीले उनलाई रास्वपातिर डोर्यायो। गत साउनमा नागरिक उन्मुक्तिबाट राजीनामा दिएर उनी रास्वपाको 'प्राइमरी इलेक्सन' मा होमिए। ९ जना आकांक्षीलाई पछि पार्दै उम्मेदवार बनेका ४७ वर्षीय थापालाई रुपन्देहीका मतदाताले यसरी पत्याइदिए, जसको कल्पना उनले स्वयंले पनि गरेका थिएनन्।
सिद्धार्थनगर–९ अञ्चलपुरका स्थायी बासिन्दा थापाको शैक्षिक प्रोफाइल लोभलाग्दो छ। पोखराको मणिपालबाट एमबीबीएस गरेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी र चितवनबाट डीएम न्युरोलोजी गरेका उनी नेपालमै उत्पादित दोस्रो न्युरोलोजिस्ट हुन्। उनले विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालय, मेडिकल स्कूलबाट 'सेफ्टी क्वालिटी लिडरसिप' मा समेत अध्ययन गरेका छन्।
सन् २०१४ देखि ७ वर्षसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा स्वर्गीय डा. उपेन्द्र देवकोटासँगै काम गर्दा उनले चिकित्सा क्षेत्रको सफलता मात्र देखेनन्, यसभित्रका नीतिगत बेथिति पनि नजिकबाट नियाले। डा. देवकोटाको स्वास्थ्य सुधार गर्ने हुटहुटीबाट प्रभावित थापाले पछि महाराजगन्जमा आफ्नै न्युरो सेन्टर स्थापना गरे। नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षका रूपमा उनले बनाएको 'स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल' अहिले देशभर कार्यान्वयनमा छ। उनी नेपालका राम्रा न्यूरो चिकित्सकमध्ये एक जना हुन्।
किन छोडे सेतो कोट?
एउटा सफल र स्थापित चिकित्सकले किन राजनीतिको 'हिलो' मा पाइला हाल्छ? यो प्रश्न डा. थापाले चुनावभर धेरै पटक सामना गरे। उनका सहकर्मी न्युरोलोजिस्ट डा. सुमन भट्टराई भन्छन्, 'राजनीतिक हस्तक्षेपका कारण चिकित्सा शिक्षा र सेवा लथालिंग भएको देख्दा उनी जहिले पनि चिन्तित हुन्थे। त्यही सुधार गर्ने हुटहुटीले उनलाई संसद्तिर तानेको हो।'
डा. थापाको आफ्नै तर्क छ– 'चिकित्सक भएर मैले ४–५ लाख बिरामीको उपचार गर्न सक्थेँ होला, तर सांसद भएर मैले ३ करोड नेपालीको उपचार गर्ने नीति बनाउन सक्छु।'
घरदैलोका क्रममा उनले भोगेका अनुभवहरू निकै भावुक थिए। कतै कसैले "तपाईंले मेरो हजुरबुबालाई निको पार्नुभएको थियो' भन्थे त कतै 'हामीलाई अब कसले हेर्छ डाक्टर साब?' भन्दै बिरामीहरू चिन्ता व्यक्त गर्थे। तर डा. थापाले उनीहरूलाई एउटै आश्वासन दिए– 'म अस्पतालबाट संसद्मा जाँदैछु ताकि तपाईंले उपचार नपाएर अकालमा मर्नु नपरोस्।'
अबको यात्रा: नीतिगत शल्यक्रिया
संसद्मा डा. थापाको प्रवेशले केवल एउटा सिट मात्र थपेको छैन, स्वास्थ्य क्षेत्रका जल्दाबल्दा मुद्दाहरूले एउटा प्राज्ञिक स्वर पाएको छ। अनावश्यक रूपमा बढ्दो स्वास्थ्य खर्च, समयमा उपचार नपाउने अवस्था, र परीक्षणका नाममा विदेश पठाउने प्रवृत्तिको अन्त्य गर्नु उनको मुख्य एजेन्डा हो।
'चिकित्सक र बिरामीबीचको बढ्दो दूरी कम गर्ने र नेपालमै गुणस्तरीय उपचारको ग्यारेन्टी गर्ने नीति बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ,'उनले विजयपछि भने।
रुपन्देही–३ को यो निर्वाचन परिणामले के देखाएको छ भने जनता अब केवल आश्वासन होइन, विशेषज्ञता र इमानदारिता खोजिरहेका छन्। डा. लेखजंग थापाका लागि संसद्को यो यात्रा एउटा नयाँ परीक्षण हो– के उनले ओपीडीमा जस्तै देशको स्वास्थ्य नीतिको 'ब्लकेज' हटाउन सक्लान्? यसको उत्तर अबको पाँच वर्षले दिनेछ।
Shares

प्रतिक्रिया