राजनीति


रास्वपाका विजयी यी उम्मेदवार, जसले निकटतम प्रतिस्पर्धीलाई ४० हजारभन्दा बढी मतले हराए

रास्वपाका विजयी यी उम्मेदवार, जसले निकटतम प्रतिस्पर्धीलाई ४० हजारभन्दा बढी मतले हराए

नेपालखबर
फागुन २३, २०८२ शनिबार १५:३५, काठमाडौँ

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ।

अहिलेसम्म सार्वजनिक परिणामअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ३७ सिट जितेको छ।

यस्तै ८२ स्थानमा रास्वपाकै उम्मेदवारले अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धेरै ठाउँमा निकै पछाडि देखिएका छन्। 

यसपटक विजयी रास्वपाका उम्मेदवारले निकै फराकिलो मतान्तर बनाएका छन्। यस क्रममा रास्वपाका केही नेताले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ४० हजारभन्दा बढी मतले हराएका छन्। 

अहिलेसम्म रास्वपामा सबैभन्दा बढी फराकिलो मतान्तरमा विजयी उम्मेदवार बनेका छन्- लेखजंग थापा।

रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका थापाले ५० हजार ३७९ मतान्तरमा चुनाव जितेका छन्।

उनले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङलाई ८ हजार ४३५ भोट मात्र पाएका छन्। 

यस्तै रुपन्देही २ मा विजयी रास्वपाका उम्मेदवार सुलभ खरेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ बढी मतले हराएका छन्। 

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल १२ हजार ८६१ मत सीमित भएका छन्। 

यसैगरी मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा विजयी रास्वापा उम्मेदवार रुविना आचार्यले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले हराएकी छन्।

निर्वाचित आचार्यले ५५ हजार ५१३ मत पाउँदा पराजित कोइराला १२ हजार ८५० मतमा खुम्चिएका छन्। 

चितवन २ मा पनि रास्वपाका सभापति रवि लामिछानेले पनि झन्डै ४० हजार आसपास मतान्तरका साथ विजयी भएका छन्। 

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेललाई ३९ हजार ८३८ मतान्तरले हराएका हुन्।

निर्वाचित रविले ५४ हजार ४०२ ल्याउँदा पराजति मीना १४ हजार ५६४ मतमा सीमित भएकी छन्।

चितवन क्षेत्र नम्बर ३ मा पनि रास्वपाकी सोविता गौतम निकटतम प्रतिस्पर्धीले भन्दा ३८ हजार ६६२ बढी मत ल्याएर विजयी भएकी छन्।

विजयी सोबिताले ५९ हजार २७७ मत ल्याउँदा ले नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल २० हजार ६१५ मतमा सीमित भइन्।

झापा-५ मा जित सुनिश्चित गरेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले पनि निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ३९ हजार आसपास बनाइरहेका छन्। 

यद्यपि मतगणना जारी रहेकाले बालेन कति मतान्तरले विजयी होलान् भन्ने थाहा पाउन अन्तिम परिणाम कुर्नैपर्छ। 

अहिलेसम्म नतिजाअनुसार रास्वपाका विजयी उम्मेदवारमा सबैभन्दा कम मतान्तर बनाउनेमध्ये गुल्मी क्षेत्र नम्बर २ मा उठेका गोविन्द पन्थी हुन्। 

उनी निकटत प्रतिस्पर्धीले भन्दा ५६१ मत मात्र बढी ल्याएर विजयी भएका हुन्। विजयी पन्थीले १६ हजार ९६७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका उपाध्यक्ष गोकर्ण विष्ट १६ हजार ४०६ मत ल्याएका छन्।

यस्तै बागलुङ २ मा विजयी सोम शर्मा पनि अहिलेसम्मको परिणाममा कम मतान्तरले जित्ने रास्वपा उम्मेदवार हुन्। उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेलले भन्दा ७७९ मत बढी ल्याएका छन्। 

१२ हजार ६७४ मतका साथ शर्माले जित हासिल गर्दा पौडेलका पक्षमा ११ हजार ६ मत झरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad