प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम नतिजा आउने क्रमसँगै नेपाली राजनीतिमा एउटा रोचक दृश्य देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र विमलेन्द्र निधि जस्ता प्रभावशाली शीर्ष नेताहरू आफ्नै गढमा कडा संघर्ष गरिरहँदा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' भने पूर्वी रुकुमबाट विजयी भएका छन्।
प्रचण्डले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरी तुलनात्मक रूपमा 'सुरक्षित' मानिएको पूर्वी रुकुम रोजेका थिए। अन्य क्षेत्रमा रास्वपा उम्मेदवारहरूको कडा चुनौती भए पनि माओवादी आधार इलाका मानिने यस क्षेत्रमा प्रचण्डले आफ्नो सङ्गठनात्मक पकडलाई जोगाउन सफल भए।
अन्तिम मत परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएर विजयी भएका छन्। कुल १९ हजार १८८ मत खसेको यस क्षेत्रमा उनका प्रतिस्पर्धीहरू निकै पछाडि देखिए। एमालेका लीलामणि गौतम र कांग्रेसकी कुसुमदेवी थापाले समान ३ हजार ८१ मत प्राप्त गरेका छन् भने रास्वपाका लखन कुमार थापा ८१९ मतमा सीमित भए।
'जेनजी हाम्रै क्रान्तिको नयाँ रूप'
सुरुवाती दिनमा युवा पुस्ताको आक्रोशलाई हल्का रूपमा लिए पनि २०८१ भदौको 'जेनजी मुभमेन्ट' पछि प्रचण्डको बोली फेरिएको थियो। उनले २०८२ असोज २६ मा पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा स्पष्टै भने, "जेनजी क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हो। यो पुस्ताले सडकमा उत्रिएर आफ्नो राजनीतिक उपस्थिति मात्र प्रमाणित गरेको छैन। यसले परिवर्तनको नयाँ कार्यदिशा पनि देखाएको छ। उनीहरू अरू कसैका होइनन्, हाम्रै क्रान्तिका नयाँ रूप हुन्।"
बीचमा उनी नयाँ शक्ति र रास्वपाप्रति आक्रामक पनि बनेका थिए तर राजनीतिक समीकरण बदलिँदै जाँदा उनले आफूलाई समन्वयकारी देखाउने प्रयास गरे। तर रवि लामिछाने पक्राउ पर्दा उनले 'राजनीतिक प्रतिशोध' भन्दै नयाँ शक्तिको बचाउमा बोल्ड अवाजसहित उभिएर सबैलाई अचम्ममा पारेका थिए।
प्रचण्ड-रवि सहकार्य र भ्रष्टाचार विरुद्ध कदम
ललिता निवास जग्गा प्रकरणको फाइल पनि प्रचण्डकै कार्यकालमा खोलिएको हो। प्रधानमन्त्रीको निवास रहेको सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध फाइल पनि त्यही समया अघि बढेको थियो। यो बाहेक सहकारीको बचत अपचलन गर्नेहरू विरुद्ध छानबिन समिति र कानुनी प्रक्रियाको सुरुवात पनि उनी प्रधानमन्त्री भएकै समयमा भएको थियो, जसमा पछि रवि लामिछाने आफैँ पनि जोडिन पुगे।
यो पनि: प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी, रास्वपा चौथो
Shares

प्रतिक्रिया