उत्तरी गोरखाको हिमाली भेगबाट मतपेटिका संकलनमा खटिएको नेपाली सेनाको हेलिकप्टरले शुक्रबार कुहिरो र खराब मौसमका कारण निकै सास्ती बेहोर्नुपरेको छ। चुमनुब्रीका दुर्गम मतदान केन्द्रबाट मतपेटिका बोकेर उडेको हेलिकप्टर गोरखा सदरमुकाममा बस्न नसकी पोखरा ‘डाइभर्ट’ भए पनि मौसममा केही सुधार आउनासाथ पुनः गोरखा फर्किएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार अपरान्ह सदरमुकाम र आसपासको क्षेत्रमा एक्कासि बाक्लो कुहिरो लागेपछि हेलिकप्टरले अवतरण गर्न सकेको थिएन। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चालकले हेलिकप्टरलाई पोखरा विमानस्थलतर्फ मोडेका थिए।
पोखरामा १० मिनेट, फेरि गोरखा प्रस्थान
कास्की प्रहरीका अनुसार पोखरामा ‘इमर्जेन्सी ल्यान्डिङ’ गरेको हेलिकप्टर त्यहाँ करिब १० मिनेट मात्र रोकिएको थियो। गोरखा सदरमुकामको आकाशमा कुहिरो केही हटेको जानकारी पाउनासाथ हेलिकप्टर मतपेटिकासहित पुनः गोरखाका लागि उडेको हो।
हेलिकप्टरमा उत्तरी गोरखाका अत्यन्तै दुर्गम मानिने दुई केन्द्रका मतपेटिका थिए। गौरीशंकर आधारभूत विद्यालय, खाङसार (चुमनुब्री–१) र साम्दो आधारभूत विद्यालय, साम्दोका मतपेटिका अन्तत: गोरखा सदरमुकाम पुगेका छन्।
उत्तरी गोरखामा कुल २३ मतदान केन्द्र छन्। जसमध्ये पहिलो चरणमा ७ वटा केन्द्रको मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याइसकिएको छ। दोस्रो लट लिएर आउने क्रममा मौसम बाधक बनेको हो।
Shares

प्रतिक्रिया