राजनीति


७७ जिल्लाका सीडीओसँग ३ घण्टा छलफलपछि गृह मन्त्रालयले भन्यो: देशभर चुनावको तयारी पूरा

७७ जिल्लाका सीडीओसँग ३ घण्टा छलफलपछि गृह मन्त्रालयले भन्यो: देशभर चुनावको तयारी पूरा

नेपालखबर
फागुन २०, २०८२ बुधबार ११:२६, काठमाडौँ

गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ।

गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिए।

उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ।

शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए।

बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad