नेपाली कांग्रेस (बीपी) फागुन १७ गते नेपाली कांग्रेसमा समाहित भएको छ। काठमाडौँको सामाखुसीमा भएको चुनावी सभामा सभापति गगन थापाले कांग्रेस बीपीलाई कांग्रेसमा समाहित गराएका हुन्।
कांग्रेस सभापति थापा र कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनबीच भएको सहमतिमा एकताबद्ध भएर निर्वाचनमा होमिने उल्लेख छ।
फागुन २१ गतेको चुनावको मुखमा कांग्रेसमा समाहित हुन लागेको कांग्रेस बीपीको संगठन ५४ जिल्ला र सातै प्रदेशमा छ। बीपी कांग्रेसको १५१ सदस्यीय केन्द्रीय समिति रहेकामा अहिले १२२ जना मात्र यसमा छन् भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य यसअघि नै कांग्रेसमा प्रवेश गरिसकेका छन्।
डडेल्धुरामा भने वडा तहसम्मै बीपी कांग्रेसको संगठन छ। जिल्लाका ५२ वटै वडा, सात पालिका, दुईवटा प्रदेश र जिल्ला कार्यसमिति छ।
सभापति शेरचनको जिल्ला मुस्ताङ र काठमाडौँमा पनि कांग्रेस बीपीको संगठन तल्लो तहसम्म छ। २०७९ को प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेस (बीपी) ले करुवा चुनाव चिह्नमा १२ हजार ५०२ मत पाएको थियो।
कोसी प्रदेशमा २ हजार ५८, मधेसमा २ हजार ६ सय २२, बागमतीमा ३ हजार ७ सय १४, गण्डकीमा ७ सय ९१, लुम्बिनीमा १२ सय ८८, कर्णालीमा ५३८ र सुदूरपश्चिममा ६ हजार ९ सय ७९ मत पाएको थियो।
नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्ण मल्ल प्रवेश भएपछि डडेल्धुरामा नेपाली कांग्रेस बीपीको राम्रो जनमत देखिन्छ। मल्लले ०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत ल्याएका थिए।
डडेल्धुराको प्रदेशसभा २ मा नेपाली कांग्रेस बीपीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार तारा जोशीले कांग्रेसका गोविन्द बोहरालाई पराजित गरेका थिए। प्रदेशसभा सदस्यमा ११ हजार १६१ मत ल्याएर विजयी भएका जोशी अहिले डडेल्धुराबाट रास्वपाको उम्मेदवार छन्।
२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस बीपीले डडेल्धुरामा दुई वटा वडाध्यक्ष जितेको थियो। अमरगढी नगरपालिका–८ को वडाध्यक्षमा नेपाली कांग्रेस बीपीका नरबहादुर साकी र तत्कालीन कांग्रेस सभापति देउवाको गृहवडा गन्यापधुरा गाउँपालिका–१ को अध्यक्षमा नरेश भण्डारी विजयी भएका थिए।
कांग्रेस बीपीलाई विलय गराउँदा कांग्रेसलाई केही हजार मत समानुपातिकमा थपिए पनि मुख्य राहत कांग्रेस उम्मेदवार नैनसिंहलाई नै हुने देखिन्छ। गत निर्वाचनमा कांग्रेसले डडेल्धुरामा समानुपातिकतर्फ १८ हजार ५६२, एमालेको ९ हजार २१४, नेकपाको ९ हजार ३७२, कांग्रेस बीपीले ४ हजार ५१४, रास्वपाले ३ हजार ६५० र राप्रपाले १५ सय पाएको छ।
विगतको अनुकूल अंकगणितका साथ देउवाको विरासत जोगाउन महरलाई कांग्रेस र कांग्रेस बीपीको एकताले थप सहज भएको छ। कांग्रेसमा नयाँ नेतृत्व आएपछि संसदीय राजनीतिबाट बिदा दिएका देउवाले सात वटा चुनाव जितेको आफ्नो विरासत विश्वासपात्र नैनसिंह महरको काँधमा बिसाएका छन्।
महरसँग नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा। तारा जोशी चुनावी मैदानमा उत्रिएका छन्। मुख्य प्रतिस्पर्धा महर, माल र जोशीबीच हुने देखिन्छ। मल्लले ०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत ल्याएका थिए भने कांग्रेस बीपीसँग एकताले समानुपातिक मत नै २३ हजार ६७ हुन पुग्छ।
डडेल्धुरामा कांग्रेस बीपीका नेता कार्यकर्ता केही दिनदेखि नै कांग्रेस उम्मेदवार महरको चुनावी प्रचारप्रसारमा हिँडिरहेका छन्। कांग्रेस बीपी पछिल्लो समय कांग्रेसमा समाहित हुन आतुर देखिन्थ्यो।
कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु राखेको थियो।
गत पुस १३ मा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको दोस्रो दिन देउवा निवास महाराजगन्ज पुगेर कांग्रेस बीपीका नेताहरूले कांग्रेसमा समाहित हुन चाहेको बताएका थिए।
तर, कांग्रेसमा विशेष महाधिवेशन कि नियमित भन्ने विवाद चर्किएपछि एकता रोकिएको थियो। गत पुसमा विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि कांग्रेस बीपीका नेताहरूले फेरि एकता संवाद अगाडि बढाएका थिए। फागुन २१ को निर्वाचनको देशदौडहमा रहेका सभापति थापाले कांग्रेस बीपीसँगको एकताको विषयमा समन्वयन गर्न पार्टीको निर्वाचन समितिका संयोजक सीताराम केसीलाई जिम्मेवारी दिएका थिए।
कांग्रेस बीपीका वरिष्ठ नेता कर्णबहादुर मल्ल र संयोजक केसीबिच भएको छलफलबाट एकताको आधार तयार भएको थियो। संयोजक केसीका अनुसार कांग्रेस सभापति थापा र कांग्रेस बीपीका सभापति शेरचनको सहमतिपछि समाहित भएको हो।
‘२०७४ मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीजस्तै गरी आज एकता भएको छ। जिम्मेवारीको कुरा पार्टी समायोजन प्रक्रियाले टुंग्याउने छ। दुई जना बसेर टुंग्याउनुहुन्छ होला’, उनले नेपालखबरसँग भने।
नेताहरुका अनुसार कांग्रेस बीपीका सभापतिसहित तीन–चार जनालाई केन्द्रीय सदस्य र बाँकी नेताकार्यकर्तालाई विभिन्न जिम्मेवारी दिइने छ।
Shares

प्रतिक्रिया