विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल फर्काउन पहल गर्नुपर्ने व्यवस्थाको माग गर्दै व्यवस्थापिका संसदमा जरुरी महत्वको प्रस्ताव पेस भएको छ।
कोरोना भाइरस (कोभिड १९)को महाव्याधिबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सोमबार सो प्रस्ताव प्रतिनिधिसभामा पेस गरेका हुन्। प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्।
कोरोनाको संक्रमणका कारण विदेशमा रहेका नेपालीहरु अलपत्र परेको र उनीहरुलाई तत्काल नेपाल फर्काउन ढिलाइ गर्न नहुने भन्दै जरुरी महत्वको प्रस्ताव संसदमा दर्ता गराइएको हो।
जरुरी प्रस्तावमा छलफल गर्नुपर्ने विषय २ वटा राखिएको छ भने ८ वटा तत्काल गर्नुपर्ने काम रहेको उल्लेख गरिएको छ।
जसमा विदेशमा रहेका नेपालीहरुको वास्तविक तथ्य तथ्यांक संकलन गर्नुपर्ने, जोखिमको अवस्था हेरी वर्गीकरण गरी उद्धार, राहत र स्वदेश फिर्ता योजना र कार्यक्रम ल्याउन माग गरिएको छ।
यसैगरी आकस्मिक संयन्त्र र प्रणालीको निर्माण गर्नुपर्नेदेखि भारतमा अलपत्र परेका र नेपाल आउन चाहानेहरुलाई सरकारले उचित पहल गर्नुपर्ने सुझाब दिइएको छ।
विदेशबाट आएकाहरुका लागि परीक्षणसम्बन्धी व्यवस्था मिलाउन माग गर्दै उनीहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
विदेशमा रहेका नेपालीहरु आफैँ खर्च गरेर आउन चाहानेको सन्दर्भमा विकल्प खुला गरिदिनुपर्ने थापाले पेश गरेको जरुरी महत्वको प्रस्तावमा उल्लेख छ।

प्रतिक्रिया