राजनीति


कीर्तिपुरका पूर्वमेयरले चुनावको मुखमा किन छाडे ४० वर्ष पसिना बगाएको एमाले

नगर विकासका ‘आर्किटेक्ट’ रमेश, रूपा महर्जनलाई जिताउन मैदानमा
कीर्तिपुरका पूर्वमेयरले चुनावको मुखमा किन छाडे ४० वर्ष पसिना बगाएको एमाले

सागर न्यौपाने
फागुन १८, २०८२ सोमबार २०:३०, काठमाडौँ

‘कीर्तिपुरलाई समृद्ध बनाउनु छ। यहाँको ऐतिहासिक पहिचानलाई आधुनिकतासँग जोड्नु छ। विकास निर्माणमा कायापलट गर्नु छ,’ कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जन आफ्ना विगतका योजनाहरू स्मरण गर्दै गर्दा उज्यालो देखिन्छन्। 

२०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट ७ हजार ३६० मतका साथ मेयर जितेपछि उनले कीर्तिपुर बनाउने मार्गचित्र कोरेका थिए– ‘मेरो कीर्तिपुर, समृद्ध कीर्तिपुर।’

आज कीर्तिपुर पूर्वाधारको जुन जग बनेको छ, त्यसको मुख्य आर्किटेक्ट उनै हुन्। जसले प्राचीन सहरलाई डिजिटल युगमा प्रवेश गराउन भूमिका खेले।

उनको कार्यकालमा कीर्तिपुरले नेपालमै पहिलो पटक डिजिटल सिग्नेचर र अनलाइन सेवाको सुरुवात ग‍र्‍यो। मोबाइलबाटै निवेदन दिने र वडाका कामहरू प्रविधिमार्फत हुने जुन थिति उनले बसाले।

‘जहाँ शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता हुनेछ,’ उनले भने, ‘यहाँको सांस्कृतिक धरोहर र सम्पदाको संरक्षण गर्दै पर्यटन विकास मार्फत आर्थिक र सामाजिक समृद्धि हासिल हुनेछ।’ 

भौतिक पूर्वाधार अन्तर्गत ढल र खानेपानीको काम हुँदै थियो, सकिएको थिएन। कार्यकाल सकियो। फेरि टिकट पाउनेमा उनी ढुक्क पनि थिए। तर, उनको चाहना पूरा भएन। २०७९ को स्थानीय चुनावमा उनलाई पार्टीले टिकट पत्याएन। 

यद्यपि टिकट नपाउँदा पनि पार्टीले उठाएका उम्मेदवार जिताउन चुनाव परिचालन समितिको संयोजक भएर खटिएको उनी बताउँछन्। ‘जनताले पत्याएनन् र हाम्रो पार्टीका उम्मेदवार पराजित भए,’ उनी गुनासो गर्छन्, ‘उल्टै मलाई नै घात गरेको आरोप लगाएर पार्टीले कारबाहीको सिफारिस पो गरेछ।’
 
अनि बाटो मोडियो
४० वर्षसम्म एमालेमा पसिना बगाएका महर्जनलाई टिकट दिएन। असन्तुष्ट महर्जन चुनावमा हिँडेनन्। जसकारण नगरपालिकामा एमाले नराम्रोसँग पराजित भयो।

गएको वैशाखदेखि त रमेशले एमालेको सक्रिय राजनीति नै छाडिदिए।

केपी शर्मा ओलीको कार्यशैलीका कारण एमाले छोडेको उनी बताउँछन्। 

‘दुई तिहाइको शक्तिशाली सरकार चलाउँदा पनि जनअपेक्षा पूरा गर्न नसक्नु, पार्टीभित्र व्यक्तिवाद हाबी गराउनु जस्ता कदमले मेरो मनमा ओलीप्रति गहिरो अविश्वास पैदा ग‍र्‍यो,’ उनी भन्छन्।

उनी हालै नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्। जबकि, राष्ट्रिय स्वतन्त्र पार्टीतिर खुल्दा उनलाई फाइदा हुनसक्थ्यो। तर, रास्वपाको उनी आलोचना गर्छन्।

भन्छन्, ‘मौसमी लहर र अनुभवहीनहरूको झुण्ड हो।’
 
उनले कांग्रेस रोज्ने त प्रश्नै थिएन। किनकि आफ्नो नसा–नसामा कम्युनिस्ट विचार रहेको उनको भनाइ छ। तर, एमालेको अहंकार र नयाँ दलको अनुभवहीनताका बीच नेकपालाई एउटा यस्तो साझा चौतारी देखे, जहाँबाट छरिएका वामपन्थीहरूलाई फेरि एक ठाउँमा ल्याउन सकिने उनको भनाइ छ।

‘ओलीको नेतृत्वमा न वाम एकता सम्भव छ, न त देशको राष्ट्रियता नै सुरक्षित छ,’ उनले भने, ‘यही कारणले गर्दा प्रचण्ड र माधव नेपालको नेतृत्वको नेकपा रोजेँ।’

उनको अबको चाहना भनेको आफूले मेयर हुँदा सुरु गरेका तर अधुरा रहेका सपनाहरूलाई संघीय बजेटमार्फत पूरा गर्नु हो। त्यसका लागि काठमाडौँ क्षेत्र नम्बर १० मा नेकपा उम्मेदवारलाई जिताउन आफू लागिपरेको उनले बताए। नेकपाले यहाँ रूपा महर्जन श्रेष्ठलाई उठाएको छ।

६० वर्षको उमेरमा पनि रमेश महर्जनमा १८ वर्षे जोस देखिन्छ। कीर्तिपुरको अधुरो ढल निकास, खानेपानी र डिजिटल सिटीको सपनाले आफूलाई बिसाउन नदिएको उनी बताउँछन्।

‘कीर्तिपुरलाई अझै समृद्ध बनाउनु छ, जसको लागि मैले लामो राजनीति गरेको बाटो नै परिवर्तन गरेको छु,’ उनले भने, ‘यसका लागि नेकपाको उम्मेदवार रूपा महर्जन जिताउनुपर्नेछ। यसपटक अलि मेहनत गरियो भने चुनाव जित्न सकिन्छ।’ 

अहिलेसम्म यहाँ चार पार्टीबीच तीव्र प्रतिस्पर्धा भइरहेको उनी देख्छन्। चन्द्रागिरिदेखि दक्षिणकालीसम्म फैलिएको यो विशाल क्षेत्रमा मतदाताहरू अहिले मौन बसेको उनको अनुभव छ। 

‘यसपालिको चुनाव अलि फरक छ, सायद मध्यावधितिर भएर हो कि, सोसल मिडियामा जति हल्ला छ, भुइँमा मान्छेहरू त्यति खुलेका छैनन्,’ उनले थपे, ‘आम मान्छेहरू चिया पसलमा पहिले जस्तो गफ गर्दैनन्, एकैपटक निर्णय गर्ने दिनको पर्खाइमा देखिन्छन्।’

त्यही भएर चुनावी परिणाम आकलन गर्न उनलाई हम्मे परिरहेको छ। 

‘शनिबारसम्म एक खालको सिन प्रस्ट हुँदै जाला,’ उनले भने, ‘मान्छेहरूले अन्तिममा विकास र स्थायित्वकै पक्षमा निर्णय गर्नेछन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad