प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरूले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताएकी छन्।
मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन्। प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सवल पक्ष भएको पनि उल्लेख गरिन्।
उनले भनिन्, ‘अन्तर्राष्टिय विकास साझेदारहरूले पनि नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नेछन् भन्नेमा म विश्वस्त छु।’
उनले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्मा खेलेको भूमिका प्रशंशनीय रहेको पनि बताइन्। जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखी कार्यक्रम र स्वयम्सेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरूको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ।
उनले भनिन्,‘राज्यको नीति अंगिकार गरी सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो। सरकारी संघ संस्थाहरुले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिवी निवारण, सामुदायिक विकास र वातावरण संरक्षण जस्ता विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।’
प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्याउने अपेक्षा समेत गरिन्।

प्रतिक्रिया