राजनीति


एउटै मञ्चबाट कांग्रेस उम्मेदवारलाई भोट माग्दै एमाले र राप्रपाका नेता

एउटै मञ्चबाट कांग्रेस उम्मेदवारलाई भोट माग्दै एमाले र राप्रपाका नेता

मनाङको नासों गाउँपालिकाको तालमा भएको चुनावी कार्यक्रममा तीनै दलका नेता। तस्बिर सौजन्य: नवीन अंकुर


वाशुदेव मिश्र
फागुन १२, २०८२ मंगलबार १४:४१, पोखरा

हिउँदेयाम अन्तिमतिर पुगे पनि हिमाल पारिको जिल्ला मनाङमा चल्ने चिसो सिरेठो कम भएको छैन। नार्पाभूमितिर त हिँउ नै परिरहेको छ। जाडो छल्ल बेँसी झरेका मनाङबासी नफर्किएकाले गाउँ अझै खाली नै लाग्छन्। प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदावर भने गाउँ फर्किएका छन्। 

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङ फागुन ९ मा नेकपा (एमाले)का जिल्ला अध्यक्ष पोल्देन छेपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता  कुविरसिंह गुरुङसहित जिल्ला फर्किए। त्यससँगै हिमाली जिल्लालाई पनि फागुन २१ को चुनावले छोप्दै लगेको छ। 

एउटै गाडीमा काठमाडौँबाट मनाङ पुगेका टेकबहादुर र पोल्देनले मनाङ प्रवेशद्वारमै रहेको तालमा साझा भेला आयोजना गरे। भेलामा दुवै जना एउटै मञ्चमा थिए। राप्रपाका नेता कुविरसिंह गुरुङको समेत समर्थन रहेका टेकबहादुरलाई चुनावी कार्यक्रममा साझा उम्मेदवारको रुपमा प्रस्तुत गरियो। 

कांग्रेसको चुनाव चिह्न रुख र एमालेको सूर्य अंकित ब्यानरसँगै एउटै मञ्चमा बसेका कुविरले टेकबहादुरलाई साझा उम्मेदवारका रुपमा घोषणा मात्रै गरेनन् प्रत्यक्षतर्फ मत दिन अनुरोध पनि गरे। 

त्यस लगत्तै बोलेका एमालेका पोल्देनले टेकबहादुरलाई दाइ भनेर सम्बोधन गरे। दुवै दलको चुनाव चिह्न फरक भए पनि साझा उम्मेदवार भएकाले टेकबहादुरलाई जिताउन रुखमा मत दिन पोल्देनले आग्रह गरे। 

टेकबहादुरले चाहिँ लामा गुरु र आफन्तहरूको चाहना अनुसार आफू साझा उम्मेदवार भएको जानकारी दिए। उनले मनाङबासीको चाहना पूरा गर्ने प्रतिबद्धता जनाए। 

मनाङका पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार थोरै जनसंख्या रहेको मनाङको ङिस्याङ परापूर्वकालदेखि एउटै भाषा, एउटै संस्कृति र आपसी नाताले जोडिएको समाज हो। त्यो समाज फुट्नु हुँदैन भन्ने मान्यता राख्ने ठूलो जनमतका कारण नै अहिले कांग्रेस र एमालेबीच चुनावी सहकार्य सम्भव भएको हो। 

‘विगतका केही वर्षहरूमा दलगत राजनीतिका कारण गाउँ–गाउँबीच फाटो आयो र चुनावपछि मतदाताबीच समेत दूरी बढ्यो,’ विनोदले भने, ‘स्थानीय सरकारका नियमावलीबारे छलफल हुँदा पालिका विभाजनको प्रस्ताव उठे पनि हाम्रो पुरानो एकता जोगाउन हामी एउटै पालिकामा सीमित रह्यौँ। ढिलो भए पनि कांग्रेस र एमाले मनाङले संसद् चुनावमा एक भएर जाने निर्णय गर्दै सह्रानीय कार्यको सुरुवात गरेका छन्।’

उनका अनुसार मनिवा लामा शेरप ग्याल्जेन रिन्पोछले धेरै वर्षअघिदेखि मनाङेहरूबीच विभाजन हैन, मेलमिलाप हुनुपर्छ भन्ने मान्यता राख्दै आएका थिए। ‘अहिले उहाँ भएको भए सबैभन्दा बढी खुशी हुनुहुन्थ्यो,’ विनोदले भने, ‘उहाँ जहाँ भए पनि हाम्रो यो राम्रो कार्य देखेर खुशी महसुस गर्नुहुनेछ।’

हाल पोखरा बस्दै आएकी माया गुरुङका अनुसार लामा गुरुहरू र काठमाडौँमा बस्ने मनाङेबासीको चाहना अनुसार यसअघि पनि कांग्रेस, एमाले र राप्रपाबीच सहमतिको प्रयास भएको थियो। टेकबहादुरले नै पोल्देनसमक्ष यो प्रस्ताव राखेका थिए। तर, अघिल्लो चुनावमा सहमति जुट्न सकेको थिएन। 

‘अहिले चाहिँ टेकबहादुर दाइ भाग्यमानी हुनुभयो, चिठ्ठा थुत्दा उहाँलाई संघीय सांसदको पद प¥यो। पोल्देन दाइहरू अब प्रदेशमा जाने हो,’ उनले भनिन्, ‘सानो ठाउँलाई राजनीतिले बिगारेको थियो, अब राम्रो हुन्छ होला।’

मनाङमा कांग्रेस, एमाले र राप्रपाबीच सहमति हुँदा नेताहरू एउटै मञ्चमा देखिएका हुन्। मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुरलाई एमाले र राप्रपाले समर्थन गरे पनि मैदान खाली भने छैन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यसोदा सुवेदी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ मैदानमै छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार तय गरेका अनिल गुरुङ चाहिँ उम्मेदवारी दर्ता गराउनै गएनन्। जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार ७ हजार मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad