राजनीति


रसुवाको चुनावी समीकरण ‘यू-टर्न’: के ‘जनार्दन फ्याक्टर’ले चुनावी अंकगणित उलटपुलट हुन्छ?

रसुवाको चुनावी समीकरण ‘यू-टर्न’: के ‘जनार्दन फ्याक्टर’ले चुनावी अंकगणित उलटपुलट हुन्छ?

सुनिता विष्ट
फागुन ११, २०८२ सोमबार १२:४९, मकवानपुर

प्रतिनिधि सभा निर्वाचनको संघारमा हिमाली जिल्ला रसुवाको राजनीतिक समीकरण नाटकीय रूपमा फेरिएको छ। बिहीबार नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता दिँदै एमाले रसुवाका अध्यक्ष जनार्दन ढकाललाई कांग्रेसमा स्वागत गरेका थिए।

२५ वैशाख २०८१ मा रसुवाको एमाले अध्यक्षमा सर्वसम्मत चयन भएका उनी १० महिनापछि नेपाली कांग्रेसमा समाहित भएपछि जिल्लाको चुनावी अंकगणित 'ट्रनिङ पोइन्ट'मा पुगेको हो।

ढकालसँगै जिल्लाका ७८ जना एमाले नेताहरुले एकैपटक एमाले छोडेर कांग्रेस प्रवेश गरेका थिए। उनी २५ वैशाख २०८१ मा रसुवाको एमाले अध्यक्षमा सर्वसम्मत चयन भएका थिए। त्यसअघि उनी एमालेको जिल्ला सचिव थिए। बनेदेखि नै उनले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए।

उनी २०७० को संविधान सभा निर्वाचनमा रसुवाबाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार बनेका ढकाल पराजित भएका थिए।

२०७० को संविधानसभा निर्वाचन जितेर रसुवामा एमालेको झन्डा गाडेका ढकालको बहिर्गमनले एमाले उम्मेदवार प्रेमबहादुर तामाङलाई ठूलो धक्का लागेको छ। कांग्रेस उम्मेदवार मोहन आचार्यलाई फाइदा हुने भएको छ।

राजनीतिक 'यू-टर्न' र असन्तुष्टिको जरा
२०४७ सालदेखि अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गरेका ढकालको यो 'यू-टर्न' आकस्मिक मात्र छैन, यसभित्र लामो समयदेखिको गुम्सिएको असन्तुष्टि पनि झल्किन्छ। गत वैशाखमा सर्वसम्मत अध्यक्ष बने पनि पार्टीभित्रैबाट आफूलाई असहयोग भएको गुनासो गर्दै आएका थिए।

ढकाल निकट स्रोतका अनुसार एमालेभित्रको आन्तरिक गुटबन्दी र काम गर्ने वातावरण नभएपछि उनले पार्टी छाड्ने विषयमा  निकटस्थहरूसँग भित्रभित्रै छलफल गर्न थालेका थिए। 

चुनावी अंकगणित
रसुवाको चुनावी इतिहास हेर्ने हो भने यहाँ व्यक्तित्व र गुटले ठूलो अर्थ राख्छ। २०७४ को निर्वाचनमा कांग्रेसका मोहन आचार्यले १४ हजार ४५३ मत ल्याउँदा ढकाल १०,२७८ मत पाएका थिए। अहिले तिनै मुख्य प्रतिस्पर्धी ढकाल आचार्यको क्याम्पमा पुग्नुले कांग्रेसको पल्ला भारी भएको देखिन्छ।

कांग्रेस रसुवाका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ यसलाई 'क्लिन स्वीप'को आधार मान्छन्। उनी भन्छन्, “यसै पनि हामी जिल्लामा ५१ प्रतिशत जनमतमा थियौं, उहाँ आउनुभएपछि अब जिल्लामा कांग्रेसले ८० प्रतिशत जनमत सुरक्षित राख्छ भन्ने अनुमान गरेका छौं। एमालेका जिल्लादेखि पालिका कमिटीसम्मका नेताहरु कांग्रेस प्रवेश गर्नुले हाम्रो उम्मेदवार मोहन आचार्यले चुनाव अहिलै जित्नुभयो भन्दा पनि हुन्छ।”

तामाङका अनुसार यो संख्या ७८ मा मात्र सीमित छैन, हालसम्म ९८ जनाले एमाले त्यागेका छन्। रसुवा एमालेले भने यसलाइ 'अन्तरघाती निस्किएका हुन्' भनेर बताउने गरेको छ। ढकालको बहिर्गमनलाई 'शुद्धीकरण'को रूपमा व्याख्या गर्ने गरेको छ।

एमाले रसुवाका कार्यवाहक अध्यक्ष कैशाङ नुर्बु तामाङ ढकालको बहिर्गमनले पार्टीलाई क्षतिभन्दा बढी 'स्पष्टता' दिएको दाबी गर्छन्।

उनले नेपालखबरसँग भने, “एकजनाले गर्दा भावनात्मक हिसाबले केही साथीहरु जानुभयो, त्यही सेन्टिमेन्टल भोट मात्रै कांग्रेसलाई जाने हो। उहाँहरु गोप्य रुपमा अन्य दलहरुलाई सघाउँदै आउनुभएको मान्छेहरु हो। यो पटक खुलेरै सहयोग गर्न जानुभयो। जसले हामीलाई ढुक्क बनाएको छ।”

तामाङको विश्लेषणमा २०७० को जितमा पनि ढकालको आफ्नै सामर्थ्यभन्दा तत्कालीन माओवादीको वैशाखी मुख्य थियो। “उहाँको काम नै अरु दललाई सघाउने थियो। यो निर्वाचनमा पनि एमालेको तर्फबाट उहाँकै नाम सिफारिस भएको थियो तर आकंक्षा देखाउनु भएन। उहाँको मन अन्तै रहेछ, सायद त्यसैले पनि होला,” उनले थपे।

गगन थापा फ्याक्टर
एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालको कांग्रेस प्रवेशको पछाडि कांग्रेस महामन्त्री गगन थापाको हात रहेको चर्चा छ।  रसुवा कांग्रेसका जिल्ला सभापति तामाङका अनुसार जनार्दन ढकाल सभापति थापाको भिजनबाट प्रभावित भएर कांग्रेसमा होमिएका हुन्।

यो राजनीतिक हेरफेरको वास्तविक परीक्षण फागुन २१ को निर्वाचनले गर्ने नै छ। तर सोमबार हुने कांग्रेसको चुनावी सभालाई ढकालले सम्बोधन गर्ने तय भएपछि रसुवाको राजनीतिमा अहिले एउटै प्रश्न तैरिएको छ– के ढकालले आफ्नो व्यक्तिगत मत कांग्रेसको झोलीमा सुरक्षित रूपमा खसाल्न सक्लान् !?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad