राजनीति


मधेस कमजोर भए संघीयता रहँदैन: उपेन्द्र यादव

मधेस कमजोर भए संघीयता रहँदैन: उपेन्द्र यादव

नेपालखबर
फागुन १०, २०८२ आइतबार १६:१५, सप्तरी

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेसको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन्।

संघीयताको जननी नै मधेस प्रदेश भएकोले मधेशको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए।

‘संघीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रिकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आइतबार मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेस जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन्।’

सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले संघीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्तिहरू संघीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

‘मुलुकमा संघीयता धानिएकै मधेस प्रदेशको दृढ अडानको कारणले हो। मधेशले आवाज उठाएन भने संघीयता केवल कागजमा सीमित हुनेछ। अधिकारको रक्षा गर्न मधेस सधैं अग्रपंक्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने।

मधेसको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः संघीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट गरे।

‘मधेस कमजोर भयो भने संघीयता रहँदैन। त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो,’ उनले जोड दिए।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताको रक्षा, अधिकारको सुनिश्चितता र स्वाभिमानको संरक्षणका लागि मतदानमार्फत् जसपा नेपाललाई बलियो बनाउन आमजनतालाई सार्वजनिक अपील गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad