राजनीति


प्रचण्डले भने- ‘नयाँ शक्तिहरू क्षणिक हावाहुरी हुन्, आवेगको भरमा आएको लहर टिक्दैन’

प्रचण्डले भने- ‘नयाँ शक्तिहरू क्षणिक हावाहुरी हुन्, आवेगको भरमा आएको लहर टिक्दैन’

नेकपाका संयोजक प्रचण्ड


नेपालखबर
फागुन ९, २०८२ शनिबार १७:२१, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक शक्तिहरूलाई ‘क्षणिक हावाहुरी’ को संज्ञा दिँदै उनीहरूको आयु समाप्त भएको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलहरूसँग मुलुक हाँक्ने कुनै ठोस सिद्धान्त र सांगठनिक आधार नभएको दाबी गरे ।

निर्वाचनको संघारमा नयाँ दलहरूप्रति देखिएको आकर्षणलाई सामान्य मौसमी प्रभावको रूपमा टिप्पणी गर्दै दाहालले भने, ‘हावाहुरी केही दिन आएजस्तो देखिए पनि त्यो सधैँ चल्दैन। अहिले त्यो हुरी थामिइसकेको छ। मानिसहरूले बुझिसकेका छन् कि देशलाई वैचारिक र सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति कुन हो। आवेगको भरमा आएको लहरले मुलुकको जटिल राजनीतिलाई निकास दिन सक्दैन।’

प्रचण्डले नयाँ दलहरूले बाँडेको सपनालाई ‘भ्रमको खेती’ भन्दै अब जनता पुनः आफ्नै पार्टीको एजेन्डा र संगठनमा फर्किएको जिकिर गरे। उनले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका शक्तिहरूले निर्वाचन बिथोल्न चलखेल गरिरहेको समेत आरोप लगाए। “अझै पनि केही मानिसहरू निर्वाचन हुँदैन भन्न छाडेका छैनन्। यसखालको प्रचारको पछि नलाग्न र दृढतापूर्वक चुनावको तयारीमा लाग्न अपिल गर्दछु,” उनले कार्यकर्तालाई निर्देशित गरे।

देशमा हाल दुई प्रकारका प्रवृत्ति आमनेसामने भएको उल्लेख गर्दै उनले एकातर्फ शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउकोमा गोली हान्ने र अर्कातर्फ देश जलाउने विध्वंशकारी शक्ति सक्रिय रहेको बताए। यिनै प्रवृत्तिविरुद्ध आफ्नो पार्टी खडा भएको उनको भनाइ थियो।

आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै उनले कार्यकर्ताहरूलाई अबको १२ दिन निर्णायक हुने बताए। उक्त अवधिलाई ‘युद्धस्तर’ को तयारीका रूपमा लिन निर्देशन दिँदै उनले भने, ‘हामी अबको १२ दिन युद्धस्तरमा खट्ने हो भने देशको नम्बर एक पार्टी बन्न र नयाँ परिस्थिति निर्माण गर्न सफल हुनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad