राजनीति


मोरङ १: चुनावैपिच्छे नेता फेरिरहने मतदाताको रोजाइमा यसपटक को?

एमालेका खतिवडा, कांग्रेसका फागो, नेकपाका लिम्बू र रास्वपाका न्यौपाने प्रतिस्पर्धामा
मोरङ १: चुनावैपिच्छे नेता फेरिरहने मतदाताको रोजाइमा यसपटक को?

सुमन सुस्केरा
फागुन ८, २०८२ शुक्रबार १२:३, विराटनगर

कुनै समय मोरङको १ नम्बर क्षेत्रमा पर्ने पहाडी बस्ती सिंहदेवी, पाटीगाउँ र याङ्सीलाका बासिन्दाका लागि बिजुलीको उज्यालो केवल सपना जस्तै थियो। साँझ पर्ने बित्तिकै मट्टितेलको टुकी र दियोको भरमा रात काट्नुपर्ने स्थानीयको बाध्यता थियो। 

तर, अहिले यहाँ विजुली बत्तीको अभाव छैन। विगतमा गाउँमा बिजुली बत्ती ल्याइदिने भन्दै मत माग्ने दलका नेताहरू यो निर्वाचनमा बिजुली बाहेकका विभिन्न विकासका आश्वास लिएर गाउँमा पुगेका छन्। 

यो क्षेत्रमा एमालेले नेता घनश्याम खतिवडा, कांग्रेसले खड्ग फागो, नेकपाले कुशल लिम्बू र रास्वपाले यज्ञमणी न्यौपानेलाई उम्मेदवार बनाएको छ। यहाँ मुख्य प्रतिस्पर्धा यिनै चार नेताबीच हुने अनुमान गरिएको छ। 

बिहीबार मोरङ १ का पहाडी गाउँमा पुग्दा एमाले कोसी प्रदेशका अध्यक्षसमेत रहेका खतिवडा मोरङका पहाडी गाउँमा बिजुली बत्ति पुर्याउने अभियानको नेतृत्व आफूले गरेको दाबी गर्दै स्थानीयसँग मत मागिरहेका भेटिए। खतिवडा गएको मंगलवारदेखि केराबारी गाउँपालिका क्षेत्रका पहाडी भेगमा भोट मागिरहेका छन्। 

०७४ अघिसम्म मोरङका पहाडी दुर्गम बस्तीहरू अन्धकारमा थिए। ०७४ मा यहाँबाट विजयी भएपछि खतिवडाले बत्ती ल्याउने कामको नेतृत्व गरे। झन्डै १ अर्ब रुपैयाँ लागतमा सिंहदेवी, पाटीगाउँ, याङ्सीला, भोगटेनी, वारङ्गी र रामितेखोला जस्ता विकट क्षेत्रमा विद्युतीकरणको काम भयो। 

अहिले यहाँका स्थानीय गाउँमा ‘विजुली क्रान्ति’को नेतृत्व खतिवडाले गरेको भन्न हिचकिचाउँदैनन्। 

तिनै खतिवडा २०७९ सालको निर्वाचनमा भने कांग्रेसका डिगबहादुर लिम्बूसँग ४३० मतान्तरले पराजित बने। अहिले उनी ०७९ मा पराजित हुनुपर्दा अधुरा रहेका कामका योजना पूरा गर्ने आश्वास बाँड्दै भोट मागिरहेका छन्। 

खतिवडासहहित सबै पार्टीका उम्मेदवार अहिले यहाँ सडक, खानेपानी जस्ता पूर्वाधारका योजना अघि सार्दै अहिले भोट मागिरहेका छन्। 

एमाले उम्मेदवार खतिवडाले विशेषगरि दाहालचोकदेखि डाँडाबजारसम्मको २६ किलोमिटर सडक र फाकफोक खोलाको पुललाई संघीय बहुवर्षीय योजनामा पारेर निर्माण सम्पन्न गर्ने अठोट व्यक्त गर्दै मत मागिरहेका छन्। 

यसअघि स्थानीय तहको प्रमुखको जिम्मेवारीमा बसेर अनुभव बटुलेका कांग्रेस कोसी प्रदेश समितिका सहमहामन्त्रीसमेत रहेका फागो पनि यो क्षेत्रका बलियो उम्मेदवार हुन्।  

लामो समयदेखि वडा तहबाटै राजनीति सुरु गरी दुई कार्यकाल क्षेत्रीय सभापति र नगर प्रमुखको अनुभव सँगालिसकेका फागोले यसपटक विकासको दिगो मोडेल र युवाहरूको निराशा सम्बोधन गर्ने एजेन्डा अघि सारेका छन्।

मोरङ १ को भूगोल तराईको समथर भूभागदेखि पहाडी दुर्गमसम्म फैलिएको छ। जसलाई फागो समस्या भन्दा पनि ठूलो सम्भावनाका रूपमा हेर्नुपर्ने तर्क गर्छन्।

विशेषगरि मोरङका पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्धन र नगदे बालीको प्रचुर सम्भावना छ। कफी, कुचो र अलैँची खेतीमा सरकारी अनुदान र बजार व्यवस्थापन गर्न सके स्थानीयस्तरमै यहाँ रोजगारी सिर्जना हुन सक्ने देखिन्छ। यहाँका उम्मेदवारले पनि यिनै एजेण्डासहित मतदातासँग भोट मागिरहेका छन्। 

कांग्रेस नेता फागोले ०७९ को निर्वाचित डिगबहादुर लिम्बुले अघि सारेका तर संसद् विघटनका कारण अधुरा रहेका कामलाई पूर्णता दिनु आफ्नो दायित्व भएको बताए। 

यो क्षेत्रका अर्का प्रतिस्पर्धी हुन्, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कुशल लिम्बू। उनी यहाँका परिचित नेता मानिन्छन्। उनले आगामी निर्वाचनका लागि आफ्ना मुख्य एजेण्डा जेनजी आन्दोलनले उठाएका मुद्दालाई मान्छन्। 

ती माग सम्बोधन गर्नु र देशमा कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) हुनेगरि शासकीय सुधारको विषय पनि उनले आफ्नो चुनावी एजेण्डा  बनाएका छन्। 

उनले आफूलाई यसै क्षेत्रको माटोमा भिजेको भूमिपुत्र र जनताको सुख–दुःखको साथी दाबी गर्दै मत मागिरहेका छन्।

कुशल पूर्व जनसेनाको कमान्डर र जनजाति आन्दोलनबाट आएका नेता हुन्। उनीसँग राजनीतिक संघर्षको लामो अनुभव छ। विगतमा प्रदेश सरकारमा रहेर शून्यबाट कानुन निर्माण र बजेट परिचालनमा देखाएको कार्यक्षमतालाई उनी आफ्नो योग्यताको रुपमा प्रस्तुत गर्छन्। लिम्बू २०७४ सालको निर्वाचनमा कोसी प्रदेश सभाको सदस्यमा निर्वाचित भएका थिए।

नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)बाट उम्मेदवार बनेका यज्ञमणी न्यौपाने पेसाले वकिल हुन्। उनले आफूलाई रास्वपाको डिजाइनरको रूपमा प्रस्तुत गर्दै मत मागिरहेका छन्। 

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने जेल परेको बेला न्यौपानलेले लामिछानेको पक्षमा वकालत गरेका थिए। सोही आधारमा लामिछानेले उनलाई टिकट दिएको चर्चा छ।

चुनावी अभियान तीव्र बन्दै जाँदा विपक्षी दलका नेता कार्यकर्ताले न्यौपानलाई भूगोन नबुझेको र स्थानीयलाई नचिन्ने नेताको रुपमा प्रस्तुत गरेर उडाउने कामसमेत गरिरहेका छन्। 

झापा घर भएका न्यौपानेले मोरङ १ का लागि आफ्ना चुनावी एजेण्डा स्पष्ट रुपमा दिन नसके पनि आफूले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक कानुनमा स्नातकोत्तर अध्ययन पूरा गरेको, संवैधानिक व्याख्याता, प्रशासनिक न्याय, सहकारीसम्बन्धी विवाद, सुधारात्मक अधिकार क्षेत्र तथा विधायन प्रक्रियामा देखिएका असंवैधानिक अभ्यासका विषयमा निरन्तर अध्ययन र लेखन गर्दै आएको बताउने गरेका छन्। 

विगतको समीक्षा: कुन दलको अवस्था कस्तो?
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार रहेका तीनजना प्रतिस्पर्धी यही भूगोलबाट यस अघिका निर्वाचित जनप्रतिनिधि हुन्। 

मोरङ १ बाट २०७४ सालको निर्वाचनबाट एमाले नेता खतिवडा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए भनेँ प्रदेश सभा सदस्यमा कुशल लिम्बु निर्वाचित भएका थिए। 

त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने सहमतिसहित मत मागेका थिए। 

सोहीअनुसार खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा लिम्बू प्रदेशमा निर्वाचन भए। अहिले यी दुबै नेता संघीय संसद्को लागि प्रतिस्पर्धामा उत्रिएका छन्। फागो भनेँ २०७४ सालको निर्वाचनमा मोरङको उर्लावारी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

तर, रास्वपाका न्यौपाने भने फरक भूगोलबाट यहाँ चुनाव लड्न आएका नेता हुन्। विपक्षीले उनलाई टुरिष्ट उम्मेदवारको रुपमा चित्रण गरिरहेका छन्। 

मोरङ १ मा लेटाङ र उर्लाबारी नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिका गरि चारवटा पालिकाको भूगोल पर्छ। 

२०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले २७ हजार २९७ मतसहित विजयी हुँदा नेकपा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मतप्राप्त गरेका थिए। 

त्यतिबेला यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले ८ हजार ६३ मत प्राप्त गरेका थिए।

गत निर्वाचनमा मोरङ १ बाट दलहरुले प्राप्त गरेको समानुपातिक मतलाई आधार मान्दा यहाँ नेकपा एमाले झण्डै १० हजार मतले आगाडी छ। ०७९ मा नेकपा एमाले ३१ हजार ३४०, नेपाली काँग्रेसले २१ हजार ७४५, राप्रपाले ९ हजार ७७४ र तत्कालीन नेकपा माओवादीले ८ हजार ५५ मत प्राप्त गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad