फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भावी प्रधानमन्त्रीका दाबेदारहरू पसिना काढिरहेका छन्। यसपटक सबैभन्दा ठूलो ब्याटल ग्राउन्ड झापा–५ बनेको छ। जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली गढ जोगाउन निकै मेहनत गरिरहेका छन् भने उनको किल्ला भत्काउन बालेन्द्र शाह (बालेन) कम्मर कसेर लागेका छन्।
काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाको वरिष्ठ नेता बन्दै चुनावी महासंग्राममा होमिएका हुन्। युवामा बालेनको क्रेजले ओलीलाई
यसपटक निकै दबाबमा पारेको देखिन्छ। उनी मत माग्न घरघर पुगेका छन्।
उता, नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट नयाँ परीक्षा दिँदैछन्। काठमाडौँ–४ बाट चुनाव जितिरहेका उनी मधेस झरेपछि त्यहाँको जातीय र क्षेत्रीय राजनीति मिलाउन मेहनत गरिरहेका छन्।
ओली, गगन, र बालेन तीनै नेता प्रधानमन्त्रीको उम्मेदवार घोषित भएर चुनावमा होमिएका हुन्। जसकारण उनीहरूको काँधमा जित्नैपर्ने बोझ छ। दिनरातको दौडधुप, रणनीति र भोटको जोडघटाउले उनीहरूको अनुहारमा स्पष्ट थकान र तनाव देखिन्छ।
तर, पूर्वी रुकुम पुग्दा ठ्याक्कै उल्टो दृश्य देखिन्छ। जहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन्। उनी कुनै दबाबमा देखिँदैनन्।
जबकि, कहिले सिरहा, काठमाडौँ, चितवन त कहिले गोरखाबाट चुनाव जितेका उनी १३ वर्षपछि कुनै ठूलो दलको वैशाखीबिना एक्लै चुनावमा होमिएका हुन्। तथापि, यसपटक उनी तनावमा होइन, ‘बिन्दास’ मुडमा देखिन्छन्।

फागुनको चिसो सिरेटो सिस्ने हिमालबाट झरेर उत्तरगंगाको तिरैतिर रुकुमकोटसम्म आइपुग्दा चुनावी रापले वातावरण तातिसकेको छ। तर, प्रचण्ड शान्तिपूर्वक डुलिरहेका छन्।
स्थानीयको भान्छा र आँगनमा मिसिएका उनी स्थानीयसँगै छमछमी नाचिरहेका छन्। नेकपाका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले संयोजक प्रचण्ड आधार इलाकामा गएर रमाइरहेको बताए।
‘रुकुमका जनताले ०६४ पछि प्रचण्डलाई चुनाव लड्न आग्रह गरे पनि आउनुभएको थिएन, यसपटक यहाँबाट उठ्दा उहाँ बिन्दास र उत्साहित हुनुहुन्छ,’ बरालले नेपालखबरसँग भने।
रुकुम पूर्वबाट जितेर प्रचण्डले नयाँ राजनीतिक सन्देश दिने बराल बताउँछन्।
‘भ्रष्टाचारविरुद्ध सुशासनको नयाँ सन्देश दिने भनेर हामीले भनेका थियौँ, त्यसको मजबुत आधार रुकुम पूर्व हो,’ बरालले थपे, ‘यो क्षेत्र जितेर प्रचण्डले समाजवादी क्रान्तिको नयाँ सन्देश दिनुहुन्छ।’
यद्यपि, प्रचण्डलाई चुनौती नभएको होइन।

कांग्रेस, एमालेका उम्मेदवार त छन् नै, त्यसमाथि प्रचण्डका पुराना सहयात्री बाबुराम भट्टराई र जनार्दन शर्माले गठन गरेको प्रलोपाले सन्दीप पुनजस्ता युवा उम्मेदवारलाई उतारेको छ। उनले सहिद परिवारको सहानुभूति पाउने देखिन्छ। अर्कोतिर, रास्वपातिर बहेको हावाले युवा मतदातालाई लोभ्याइरहेको छ। तर प्रचण्ड ढुक्क देखिन्छन्।
७० वर्ष पुगेका प्रचण्ड बिहानै रुकुमकोटको सडकमा ‘मर्निङ वाक’मा निस्कन्छन्। बाटोमा भेटिएका स्थानीयसँग हात मिलाउँदै हाँसीमजाक गर्छन्। उनको हाउभाउ, खानपान र हिँडाइमा एक किसिमको निर्धक्कपन देखिन्छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका भिडिओ र तस्बिरलाई आधार मान्ने हो भने उनमा कति पनि तनाव र दबाब देखिँदैन। उनी रुकुमेली मतदाताको आँगनमा मकै, भटमास र केरा खाँदै रमाइरहेका छन्।
भाइरल भएको एउटा भिडिओमा प्रचण्ड एउटा पसलको बेन्चमा बसेर केरा खाइरहेका देखिन्छन्। त्यसको पैसा उनी आफैँले तिर्छन्।
उनी रुकुमकोट, मैकोट, तकसेरा र उत्तरगंगा लगायत धेरै ठाउँ पुगिसके। सहिद परिवार भेटे। चुनावी घरदैलोका क्रममा उनी कहिले मकै–भटमास चपाउँछन्, कहिले घरभित्र आगो ताप्दै वृद्धवृद्धाहरूसँग गफिन्छन्।
रुकुम प्रचण्डकै नेतृत्वमा माओवादीले गरेको १० वर्षे जनयुद्धको आधार इलाका हो। २० वर्षअघि रुकुम पूर्वको चुनवाङमा बसेको माओवादी बैठकले शान्ति र संविधानको नारा पारित गरेको थियो। शान्ति प्रक्रियामा आएपछि प्रचण्डले चार वटा चुनाव लडे। रोल्पा, काठमाडौँ, सिरहा, चितवन र गोरखाबाट उनले जितेका थिए।
२०६४ मा रोल्पा र काठमाडौँ–१० बाट भारी मतले जितेका उनी २०७० को चुनावमा सिरहा पुगेर जिते।
२०७४ मा चितवन–३ बाट जिते। त्यसबेला एमालेसँग गठबन्धन थियो। २०७९ मा गोरखा–२ बाट जित्दा पनि कांग्रेससँगको गठबन्धन थियो। तर, रुकुम उनको रोजाइमा परेको थिएन।
भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि नेपालको राजनीति बदलिएको छ। चुनाव दुई वर्षअगावै हुँदैछ। देशैभर पुराना पार्टीका नेता हराउने भन्दै अभियान चलेको छ। यी घटना नियालिरहेका प्रचण्ड आफूलाई सबैभन्दा सुरक्षित महसुस गरेर रुकुम पूर्व पुगेका हुन्।
‘तीन वटा पालिका जितेको, दुई तिहाइ बढी वडा जितेको भएकाले पनि उहाँ पूर्वी रुकुममा ढुक्क हुनुभएको छ,’ बरालले भने, ‘क्रान्तिको नेतृत्व गरेका नेतालाई मत दिएर जिताउन पाउने अवसर पाएपछि त्यहाँका मतदाता खुसी हुनुहुन्छ।’

रुकुममा अझै पनि रातो रङको प्रभाव रहेको नेकपाका केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती दाबी गर्छन्। तर, प्रचण्डलाई जोखिम नै नभएको भने होइन। विशेषगरी नयाँ पुस्ताका मतदाता, जो सामाजिक सञ्जालमा सक्रिय छन्, उनीहरूले पुरानो नेता भन्दै प्रश्न उठाइरहेका छन्। यही प्रश्नको जवाफ दिन उनी घर–घर पुगिरहेका छन्।
त्यही भएर उनले मत मात्र मागेका छैनन्, सहिद परिवारसँग बसेर आँसु पनि पुछेका छन्। जनयुद्धकालीन विगत स्मरण गरेका छन्।
‘मैले धेरै जिल्ला घुमेँ, तर रुकुमको माटोमा जुन आत्मीयता छ, त्यो कतै पाइनँ,’ प्रचण्डले मतदातासँग भनेका छन्, ‘अब यसपटक म रुकुमबाटै समृद्धिको नयाँ मोडल सुरु गर्न चाहन्छु।’
यो सौम्य शैलीले प्रचण्डलाई फेरि राष्ट्रिय राजनीतिमा स्थापित गर्छ कि गर्दैन, त्यो त फागुन २१ को नतिजाले नै बताउनेछ। तर, लुम्बिनी प्रदेश अध्यक्ष बराल प्रचण्डले रुकुमको माटोमा आफूलाई फेरि एकपटक जनताको नेताका रूपमा प्रस्तुत गर्न कुनै कसर बाँकी नराखेको बताउँछन्।
Shares

प्रतिक्रिया