राजनीति


भिरको बाटो हिँडेपछि प्रचण्डले भने- समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ

भिरको बाटो हिँडेपछि प्रचण्डले भने- समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १८:५७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको सुनाएका छन्। 

उनी चुनावी अभियानका क्रममा मंगलबार रुकुम पूर्वको नायगाड-देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका-२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका थिए। जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सुनाएका हुन्। 

भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीमा दुई-तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उनले बताए। मतदाताबाट पाएको हौसलाले भौतिक कठिनाइ महसूस नभई नयाँ ऊर्जा प्राप्त भएको उनको भनाइ थियो। 

चुनावी भेटघाटका क्रममा मतदाताले विकास निर्माणमै जोड दिएको उनले सुनाए। ‘सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ,’ प्रचण्डले भने। 

रुकुम पूर्वका जनताले सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीका लागि आग्रह गरेको बताए। ‘यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,’ उनले भने। 

रुकुम पूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको सुनाउँदै त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको उनको भनाइ थियो। अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने उनले प्रतिबद्धता पनि गरे। 

रुकुम पूर्वलाई ‘क्रान्तिको आधारभूमि’ भन्दै प्रचण्डले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने जिकिर गरे। ‘देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो,’ प्रचण्डले भने, ‘अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुम पूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्त्वपूर्ण हुन्छ।’

रुकुम पूर्व जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उनले सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको बताए। उनले भने, ‘समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो। त्यो सम्भावना यहाँबाट देखिन्छ।’

उनी प्रतिनिधि सभाको निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। चुनावी प्रचारका क्रममा केही दिनदेखि रुकुम पूर्वमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad