फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले भूगोल केन्द्रित रणनीति पनि बुन्न थालेका छन्। देशभरि राजनीतिक सञ्जाल भएको नेपाली कांग्रेसले मधेसलाई प्राथमिकतामा राख्दै जनकपुरबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने कर्णालीको सुर्खेतलाई आफ्नो राजनीतिक प्रस्थानविन्दु बनाउने भएको छ।
रास्वपा कर्णालीतिर
रास्वपाले सुरूमा सुदूरपश्चिमको केन्द्र धनगढीमा शक्ति प्रदर्शनको तयारी गरेको थियो। पार्टीको मुख्य प्रतिज्ञापत्र सार्वजनिक गर्ने उसले कर्णाली रोजेको छ। फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सुर्खेतमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितका शीर्ष नेतृत्वले घोषणापत्र सार्वजनिक गर्नेछन्।
रास्वपा नेतृ प्रतिभा रावल भन्छिन्, ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे तर पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले भोग्नु पर्यो। हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौँ।’
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कर्णालीमा १२ सिट छन्।
कांग्रेसको नजर मधेसमा
यो पटक सभापति गगन थापा आफैँ मधेसको सर्लाही–४ बाट उम्मेदवार छन्। त्यसैले पनि कांग्रेसले मधेसलाई महत्त्व दिएको जस्तो देखिन्छ।
प्रवक्ता चालिसेले भन्छन्, ‘कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिनेछ।’
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मधेशमा ३२ सिट रहेका छन्।
अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामै व्यस्त रहँदा नेकपा एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम अलमलमै देखिएको छ। फागुन ६ गते उनी काठमाडौँ फर्कने तालिका छ। त्यसपछि एमालेले घोषणापत्र सार्वजनिक गर्नेछ। स्थानचाहिँ अहिलेसम्मका लागि काठमाडौँ नै हुने भनिएको छ।
Shares

प्रतिक्रिया