राजनीति


सस्मित पोखरेलसँग ‘तत्कालै’: बहुमत ल्याउने रणनीति अनुसार बालेन झापा-५ गएका हुन् (भिडिओ)

सस्मित पोखरेलसँग ‘तत्कालै’: बहुमत ल्याउने रणनीति अनुसार बालेन झापा-५ गएका हुन् (भिडिओ)

अनिल यादव
फागुन ४, २०८२ सोमबार २१:४३, काठमाडौँ

‘हेभिवेट’ भिडन्त र नयाँ पुस्ताको हस्तक्षेपको रोचक दृश्यका कारण काठमाडौँ क्षेत्र नम्बर ५ को चुनावी सरगर्मी यतिबेला उत्कर्षमा छ। एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल, बदलिएको भनिएको कांग्रेसका महामन्त्री प्रदीप पौडल, राप्रपाका चतुर खेलाडी कमल थापा र अभिनेत्री निशा अधिकारीजस्ता चर्चित नामहरूको बीचमा रास्वपाबाट टक्कर दिन आएका छन्, सस्मित पोखरेल। पोखरेल बालेन शाह काठमाडौँ महानगरमा मेयर हुँदा उनको सचिवालयमा थिए। 

‘घन्टी’ चिह्न लिएर चुनावी मैदानमा होमिएका सस्मितको यो यात्रा बालेनको चुनावी अभियानदेखि सुरु भएर अहिले संघीय संसदको दैलोसम्म आइपुगेको छ। स्थानीय तहको निर्वाचनमा बालेनलाई जिताउन अहोरात्र खटिएका सस्मितका लागि राजनीति नौलो भने होइन। तर, हिजो अरूलाई जिताउन हिँडेका उनी आज आफैँ मत माग्न व्यस्त छन्। 

नेपालखबर ‘तत्कालै’मा गफिन आइपुगेका उनी हिजो र आजको अवस्थालाई तुलना गर्दै भन्छन्, ‘त्यतिखेर पनि बालेन उठ्दै गर्दा ‘को हो’ भन्ने एउटा अपरिचित अनुहार थियो। हामीलाई पनि सुरुमा अपरिचित भन्थे, तर आजको दिनसम्म आउँदा एकदमै राम्रो उम्मेदवार भन्ने किसिमको जुन वातावरण बनेको छ, मलाई त यो भोगाइ एकदमै उस्तै–उस्तै लागिरहेको छ।’

सस्मितको उम्मेदवारीलाई धेरैले बालेन र रास्वपाबीचको रणनीतिक एकताको रूपमा पनि हेरेका छन्। बालेनसँगको निकटताकै कारण टिकट पाएको भन्ने आरोपको खण्डन गर्दै उनी भन्छन्, ‘यो दुई पक्षबीचको एकता थियो। रास्वपाको अस्तित्वलाई मेयर बालेनको पक्षले स्वीकारेको र बालेनको अस्तित्वलाई रास्वपाले स्वीकारेको हो। महानगरमा उनले गरेको कामलाई अवमूल्यन गर्न मिल्दैन।’

एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलजस्ता स्थापित नेताहरूलाई चुनौती दिइरहँदा सस्मितको मुख्य हतियार यो क्षेत्रसँगको उनको पुरानो र भावनात्मक सम्बन्ध हो। उनी आफूलाई केवल उम्मेदवार नभई यो माटोको छोराको रूपमा चिनाउन चाहन्छन्। 

‘काठमाडौँ ५ को सुकेधाराको किनारा मार्गमा मेरो घर छ। त्यतिबेला मार्गभरि अरू घरै थिएनन्, धानखेत र मकैबारी हुन्थ्यो। यो क्षेत्र कसरी हुर्कियो, त्यो मैले देखेको छु र क्षेत्रले म हुर्केको देखेको छ। त्यसैले यो क्षेत्रसँग मेरो एकदमै विशेष भावनात्मक अट्याचमेन्ट छ,’ उनले काठमाडौँ ५ नै रोज्नुको कारण बताए। 

मतदाताले हेभिवेट छाडेर सस्मितलाई किन रोज्ने भन्ने प्रश्नमा उनको तर्क छ, ‘सांसद हुनका लागि दुई वटा गुण चाहिन्छ। एउटा क्षेत्रसँगको सम्बन्ध, जुन मेरो छ। दोस्रो, नीति निर्माण र कानुन निर्माणको क्षमता। म कानुनको विद्यार्थी भएकाले आवाजलाई कानुन र नीतिमा परिवर्तन गर्न अरूभन्दा बढी सक्षम छु भन्ने लाग्छ।’

अमेरिकामा उच्च शिक्षा सकेर नेपाल फर्किएका सस्मितले काठमाडौँ युनिभर्सिटीमा कानुन पढेका हुन्। कानुनको विद्यार्थीका रूपमा संसद् सचिवालयमा इन्टर्नसिप गर्दाको एउटा प्रसंगले उनलाई राजनीतिमा लाग्न प्रेरित गरेको बताउँछन्। 

तत्कालीन विधायन समितिका सभापति परशुराम मेघी गुरुङसँगको भेट सम्झिँदै उनी भन्छन्, ‘हामीले एउटा विधेयकमा अध्ययन गरेर रिपोर्ट बुझाएका थियौँ। त्यो रिपोर्ट पढेपछि उहाँ यति प्रभावित हुनुभयो कि उहाँले भन्नुभयो– हाम्रा जनप्रतिनिधिहरूले तपाईंहरू जस्तो होमवर्क गरेर विधेयकमा काम गरिदिएको भए यस्ता लुपहोलहरू हुने थिएनन्। तपाईंहरू जस्तो मान्छे सांसद हुनुपर्छ।’ 

यही प्रेरणाले नै नीति निर्माणको मुख्य थलोमा पुग्ने आँट दिएको सस्मित बताउँछन्।

रास्वपाले आइतबार सार्वजनिक गरेको आफ्नो ‘करार पत्र’ मा बहुमत आएमा मात्र काम गर्ने सर्त राखेको भन्दै कतिपयले आलोचना गरिरहेका छन्। तर, सस्मित भने बहुमत आउने निश्चित भएको हुँदा त्यो बाहेकको परिणाम परिकल्पना नगरिएको बताउँछन्।

उनी भन्छन्, ‘म त ग्राउन्ड रियालिटीको आधारमा भन्दैछु, बालेन शाहको क्याम्पेनमा हुँदा जस्तो रेस्पोन्स थियो, त्योभन्दा बढी रेस्पोन्स अहिले देखिएको छ। काठमाडौँको १० वटै क्षेत्रमा जित सुनिश्चित छ जस्तो मलाई लाग्छ।’

रास्वपाका अन्य नेताहरू जस्तै सस्मित पनि बहुमत आउनेमा ढुक्क देखिन्छन्। 

‘बहुमत त अवश्य आउँछ, एकल बहुमत आउँदा जुन किसिमले काम गर्न सहज हुन्छ, गठबन्धनमा जाँदा त्यो नहुन सक्छ। तर, अहिले वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्तिको रूपमा रास्वपा देखिएको छ,’ उनले भने। 

चुनावमा भोट माग्न आउने, अरुबेला हराउने मौसमी उम्मेदवारहरूबाट संशकित छन् मतदाता। तर, सस्मितले आफू जित या हार जे भए पनि यो क्षेत्रको सेवामै रहने प्रतिबद्धता जनाएका छन्। अघिल्लो प्रदेश सभा निर्वाचनमा पराजित हुँदा पनि उनले सुकेधारामा कार्यालय खोलेर जनताका समस्या सुनेका थिए। 

उनी भन्छन्, ‘जितेँ भने म महिनाको एउटा वडामा सामुदायिक सुनुवाइ कार्यक्रम राख्छु। ५ वर्षमा कम्तीमा एउटा वडामा चार पटक सामुदायिक सुनुवाइ हुन्छ। जितिसकेपछि पनि हामी मतदातासँग एकदमै नजिक रहेर काम गर्छौँ।’ 

काठमाडौँ ५ मा यसपटक पुराना हस्ती र नयाँ जोसको बीचमा रोचक भिडन्त हुँदैछ। सस्मित भने बालेन शाहको रणनीति र रास्वपाको ‘घन्टी’ को लहरले यो सबै अवरोध चिरेर आफ्नो जित सुनिश्चित गर्ने दाबी गर्छन्। 

भन्छन्, ‘हामीले सपना देखाएको मात्र होइन, गरिसकेको कुरालाई अब रेप्लिकेट गर्ने हो। यो सपना होइन, योजना हो।’

रास्वपाका वरिष्ठ नेता बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीको किल्ला मानिने झापा–५ मै चुनाव लड्न पुगेपछि अहिले यो इलेक्सनको एपिसेन्टर जस्तै भएको छ। सस्मित यो बालेनको रणनीतिक निर्णय भएको बताउँछन्। 

भन्छन्, ‘बालेनले झापा–५ रोज्नु कसैसँगको व्यक्तिगत प्रतिशोध होइन, यो रास्वपालाई बहुमत र दुई तिहाइको नजिक पुर्‍याउने रणनीतिक निर्णय हो। बालेन झापा ५ नगएर सहजै चुनाव जितिने काठमाडौँ या मधेसको कुनै क्षेत्रबाट उठेको भए बहुमतको माहोल नबन्न सक्थ्यो। प्रधानमन्त्रीकै उम्मेद्वारसँग लड्न गएपछि त्यसले देशभर घन्टीमय माहोल बनाएको छ। यो रणनीति नै हो।’

सस्मित र बालेनको सम्बन्ध उम्मेदवार र समर्थकको मात्र होइन। सस्मित त्यही व्यक्ति हुन्, जसले विवेकशील साझा पार्टीमा रहँदा बालेनलाई मेयरको उम्मेदवार बनाउनुपर्छ भनेर पार्टीभित्र प्रस्ताव राखेका थिए। तर पार्टी आफैँ विभाजन उन्मुख भएपछि अन्ततः बालेन स्वतन्त्र उठे र सस्मित उनको कोर टिममा बसेर जिताउन खटिए।

हिजो बालेनलाई जिताउन हिँडेका सस्मितलाई आज बालेनको पूर्ण साथ छ। सस्मित भन्छन्, ‘बालेनले मलाई केही सहयोग चाहिन्छ भने मबाट केही गरिदिनुपर्ने छ भने भन्नु भन्नुभएको छ। उहाँको साथ र मेरो अनुभवले काठमाडौँ–५ का मतदातामा एउटा नयाँ आशा जगाएको छ।’

बालेन र आफ्नो उम्मेदवारीबारे उनले थप के–के भने? हेर्नुस् सस्मितसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटो/भिडिओ : सरोज शाही
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad