नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताएका छन्।
सोमबार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१२, कोलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै प्रचण्डले दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए। यो क्षेत्रमा दलित समुदायको वाहुल्य रहेको छ।
उनले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने बताए। ‘हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौँ,’ प्रचण्डले भने।
आफू प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेको उनले सनुाए। आफ्नो सरकार ढलेपछि त्यो काम अगाडि नसकेको उनको भनाइ थियो। ‘म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु,’ प्रचण्डले भने।
उनी रुकुम पूर्वबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्। दलितको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्र बनाएर त्यही समुदायलाई विशेष अधिकार दिन सकिने उनको भनाइ थियो।

उनले रुकुमबाट सुरु भएको विद्रोहले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै संविधानले दलित, जनजातिलगायत सबैलाई अधिकार दिएको उल्लेख गरे। ‘अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ,’ प्रचण्डले भने।
रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्त्वपूर्ण सडक योजनामा पनि अघि बढाउने उनले बताए। ‘हामी तकसेरा हुँदै सहिद मार्गबाट आएका छौँ। त्यसको स्तरउन्नति गर्ने, तकसेरा-सानीभेरी-उत्तरगंगा-ढोरपाटन-बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ,’ उनले भने।
निर्वाचित भएपछि सडकलाई बेनीसम्म छिचोल्ने र स्थानीयलाई सुविधा पुग्ने गरी काम गर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया