राजनीति


जसपा घोषणापत्र: संविधान संशोधनदेखि सातै प्रदेशमा क्रिकेट रंगशाला

जसपा घोषणापत्र: संविधान संशोधनदेखि सातै प्रदेशमा क्रिकेट रंगशाला

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १४:५९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभाको निर्वाचनका लागि ल्याएको घोषणापत्रमा संविधान संशोधनदेखि सातै प्रदेशमा रंगशाला निर्माणका योजना अघि सारिएको छ। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा संविधान संशोधन र परिमार्जनलाई प्राथमिकतामा राखिएको छ। २०७२ सालमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पहिलो संविधान सभाले पारित गरेका राज्य पुनर्संरचना लगायतका महत्त्वपूर्ण प्रावधानलाई उल्ट्याएको जसपा नेपालको दाबी छ। जसले गर्दा यस संविधानबाट संघीय समाजवादी व्यवस्थाको आधारशिला खडा गर्न नसकिने ठम्याइ छ। 

त्यसैले मुलुकको विद्यमान शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत राखेर संविधान संशोधन गर्नुपर्ने जसपा नेपालले जनाएको छ। घोषणापत्रमा भनिएको छ, ‘राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक लोकतन्त्र, समावेशी लोकतन्त्र तथा सांस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्ने लगायतका विषयहरूमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावको आधारमा संविधान संशोधन÷परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट धारणा जसपा नेपालको रहेको छ।’

जसपा नेपालले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न योजना अघि सारेको छ। त्यस्तै, हरेक प्रदेशमा एउटा अत्याधुकित वहुविशिष्टिकृत सेवाप्रदायक अस्पताल र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणापत्रमा उल्लेख छ। 

स्कूल, कलेज र विश्वविद्यालयलाई सार्वजनिक प्रणाली अन्तर्गत सञ्चालन गर्ने जसपा नेपालको योजना छ। उच्च तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख छ। 

जसपा नेपालले भ्रष्टाचार नियन्त्रणमा जोड दिएको छ। घोषणापत्रमा भनिएको छ, ‘२०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्रीलगायत मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरू र संवैधानिक आयोगहरूमा भएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिनेछ।’

पाँच वर्षभित्र हुलाकी राजमार्ग सम्पन्न गर्ने पनि जसपा नेपालले प्रतिबद्धता जनाएको छ। पूर्व-पश्चिम रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्ने र मधेसका जिल्लामा उत्तर-दक्षिण सडक सञ्जालसहित आर्थिक करिडोर विकास गर्ने जनाइएको छ। 

खेलकुदलाई प्राथमिकता दिनुपर्ने जनाउँदै जसपा नेपालले रंगशाला निर्माण गर्ने योजना अघि सारेको छ। ‘सात वटै प्रदेशहरूमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट तथा फुटबल रंगशाला आगामी पाँच वर्षभित्र निर्माण गरिनेछ,’ घोषणापत्रमा भनिएको छ। 

त्यस्तै, एकीकृत ग्रामीण विकास योजना लागू गर्ने, योजनाबद्ध सहरीकरण र सुरक्षित बसोबास प्रबर्द्धन गर्ने जसपा नेपालले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad