राजनीति


दुई करोड ३ लाखमध्ये डेढ करोड बढी मतपत्र तयार, सेनाले पनि गर्नेछ ढुवानी

दुई करोड ३ लाखमध्ये डेढ करोड बढी मतपत्र तयार, सेनाले पनि गर्नेछ ढुवानी

मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरिरहेको हो।


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १३:०, काठमाडौँ

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बागमतीबाहेक अन्य छ वटा प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न गरेको हो।

जनक शिक्षाका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार हाल दैनिक १२ देखि १५ लाखका दरले मतपत्र छपाइ भइरहेको छ। बाँकी रहेको बागमती प्रदेशको मतपत्र पनि आउँदो आइतबारसम्म छापिसकिने केन्द्रले जनाएको छ।

प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ।'

कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सकिएको उनले बताए। ''आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ”, उनले भने।

उम्मेदवारको संख्याका आधारमा मतपत्रको आकार फरक हुने भएकाले छपाइमा केही समय लागेको केन्द्रको भनाइ छ। छपाइ सकिएका जिल्लाहरूमा नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र ढुवानी सुरु भइसकेको छ ।

प्रबन्ध निर्देशक पौडेलले भने, “उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको हो।”

केन्द्रका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा मतपत्र ढुवानी भइसकेको वा भइरहेको छ। बागमती प्रदेशका सिन्धुली, रामेछाप, रसुवा र सिन्धुपाल्चोकको छपाइ सकिए पनि अन्य जिल्लाको भने जारी छ।

यसअघि नै निर्वाचन आयोगले १० लाख नमुना मतपत्र र २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्ला–जिल्लामा पठाइसकेको छ। भक्तपुरस्थित केन्द्रको छापाखानामा कडा सुरक्षाबीच बाँकी मतपत्र छपाइलाई तीव्रता दिइएको छ।

विकट हिमाली जिल्ला र सडक सञ्जालले नछोएका निर्वाचन क्षेत्रहरुमा नेपाली सेनाले हेलिकोप्टरबाट मतपत्र ढुवानी गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad