राजनीति


मधेसमा ‘नयाँ’ रास्वपाका अधिकांश उम्मेदवार पुरानै

मधेसमा ‘नयाँ’ रास्वपाका अधिकांश उम्मेदवार पुरानै

सागर न्यौपाने
माघ २९, २०८२ बिहिबार ११:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गतेको चुनावको लागि देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर रास्वपाले देशव्यापी माहोल खडा गर्ने प्रयास गरिरहेको छ। 

यो पार्टीले विशेषगरी मधेस प्रदेशलाई प्राथमिकतामा राखेको देखिन्छ। मधेसमा समानुपातिकमा राम्रो मत पाउने उसको आकलन देखिन्छ। 

रास्वपाले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई उम्मेदवार भन्दै अब नयाँलाई छान्नुपर्ने बताउँदै आएको छ। तर, यो पार्टीले मधेसमा उठाएका अधिकांश उम्मेदवार भने ‘नयाँ’ नभई पुरानै पार्टीबाट चुनाव लडेका र राजनीति गरेकाहरू छन्।

प्राइमरी इलेक्सन गराएर उम्मेदवार छान्ने भनेको रास्वपाले आफ्नो त्यो वाचा त पूरा गरेन नै, मनोनयनको आसपास अन्य दलका नेता भित्र्याएर टिकट समेत दियो। मधेसमा उसका कतिपय उम्मेदवार त मुद्दा–मामिला लागेका र विवादित छविका पनि  छन्।

नरेन्द्र कलवार साह
सर्लाहीका ३ का रास्वपा उम्मेदवार नरेन्द्र कलवार साहको राजनीति मधेस केन्द्रित दलबाट अघि बढेको हो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवार बनेका उनी पराजित भए। त्यसअघि उनी २०७० को संविधान सभा निर्वाचनमा तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सभासद बनेका थिए। 

उम्मेदवार बन्नका लागि २०७९ असोज १२ गते माओवादी केन्द्र प्रवेश गरेका उनले सर्लाही ३ मै टिकट पाए। त्यसबेला कांग्रेससहित पाँच दलीय गठबन्धनबाट उठेका उनी एमालेका हरि उप्रेतीसँग पराजित भए। यसपटक नेपाली कम्युनिस्ट पार्टीले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सर्लाही ३ को उम्मेदवार बनाएपछि उनले नेकपा परित्याग गरी रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन्। 

चन्दनकुमार सिंह
चन्दनकुमार सिंह २०७४ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट बाराको देवताल गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। २०७९ मा पनि उनी सोही पालिकामा उठेका थिए, तर पराजित भए। यसपटक उनलाई रास्वपाले बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको चुनावमा उठाएको छ।

उनको राजनीतिको सुरुवात सद्भावना पार्टीको विद्यार्थी संगठनबाट भएको हो। २०६६ सालताका उनी तराई–मधेस लोकतान्त्रिक पार्टीमा लागेका थिए।

रामविनोद यादव
धनुषा २ बाट रास्वपाले उम्मेदवार बनाएको रामविनोद यादवको राजनीति सद्भावना पार्टीबाट सुरु भएको हो। हत्या आरोपमा उनी ३ वर्ष जेलजीवन बिताएर फर्किएका हुन्। उनैलाई रास्वपाले यसपटकको चुनावमा उठाएको छ।

रहबर अन्सारी
बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका रहबर अन्सारीले शान्तिप्रक्रियापछि माओवादी भएर राजनीति गरे। 

उनी फागुन २१ गतेको लागि तय भएको चुनावको लागि बारा क्षेत्र नम्बर ४ मा उठ्न माघ ५ गते रास्वपा प्रवेश गरेका हुन्। २०७९ को प्रदेश सभा चुनावमा माओवादी केन्द्रबाट पर्साबाट जितेका उनी कार्यकाल बाँकी छँदै छोडेर प्रतिनिधि सभाको चुनाव लड्दैछन्। 

प्रमोदकुमार महतो
महोत्तरी १ बाट रास्वपाले उम्मेदवार बनाएका प्रमोदकुमार महतोले जनमत पार्टी छोडेर जनस्वराज पार्टी बनाएका थिए। तर, उनको सो दललाई सर्वाेच्चले मान्यता नदिएपछि उनी रास्वपा प्रवेश गरेर महोत्तरी १ बाट उम्मेदवार बनेका हुन्।

२०७९ को प्रदेश सभा चुनावमा उनी महोत्तरी १ (ख)मा स्वतन्त्र उम्मेदवार बनेका थिए तर पराजित भए। 

शिवशंकर यादव
रास्वपाको टिकट लिएर सिरहा–२ बाट उम्मेदवार बनेका शिवशंकर यादव दोस्रोपटक चुनाव लड्दैछन्। उनले लौरो चुनाव चिह्न लिएर २०७९ को प्रतिनिधि सभाको चुनाव लडेका थिए। 

तपेश्वर यादव
सिरहा–४ का तपेश्वर यादव जसपा नेता हुन्। जो स्थानीय तह चुनावमा झिनो मतले पराजित भएका थिए। अहिले उनी रास्वपाको मधेस प्रदेश अध्यक्ष पनि छन्।

किशोरी साह
धनुषा–१ का किशोरी साह कमलको राजनीति एमालेबाट अघि बढेको हो। निर्माण व्यवसाय गरिरहेका उनी तीन दशकदेखि राजनीतिमा पनि सक्रिय छन्। २०४० सालमा पञ्चायती व्यवस्थाविरोधी अभियानका क्रममा अनेरास्ववियुको सदस्य भएका साहले २०४८ सालमा रघुनाथपुरमा पहिलोपटक आफ्नै अगुवाइमा एमालेको संगठन निर्माण गरे। २०६७ सालमा एमालेको जिल्ला सदस्य र क्षेत्रीय इन्चार्ज भएका उनी २०७४ को प्रदेश सभा चुनावमा धनुषा क्षेत्र–१ (क)बाट निर्वाचित भएका थिए। 

उनलाई एमालेले मधेस प्रदेश सभाको सचेतक बनाएको थियो। गएको चुनावताका जनमत प्रवेश गरेर प्रतिनिधि सभाको चुनावमा धनुषा १ बाट उम्मेदवार बनेका थिए। तर, पराजित भए। 

राजकिशोर महतो
रास्वपाबाट धनुषा–४ का उम्मेदवार राजकिशोर महतोको राजनीतिक यात्रा मधेसकेन्द्रित दलबाट भएको हो। उनले संघीय समाजवादी फोरमबाट २०७४ को प्रदेश सभा चुनावमा धनुषा ४ (ख)को उम्मेदवार बनेका थिए। यसपटक उनी रास्वपा प्रवेश गरेर प्रतिनिधि सभा चुनाव लड्दैछन्। 

अमरेशकुमार सिंह
लामो समय नेपाली कांग्रेसमा राजनीति गरेर सांसद बनेका अमरेशकुमार सिंह अघिल्लो पटक टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी माघ ५ गते रास्वपा प्रवेश गरेका हुन्। उनलाई रास्वपाले सर्लाही–४ को उम्मेदवार बनाएको छ। उनी यसपटक कांग्रेस सभापति गगन थापाको प्रतिस्पर्धी छन्।

रमाकान्त चौरसिया
रमाकान्त चौरसियाको राजनीतिक पृष्ठभूमि पनि कांग्रेससँग जोडिन्छ। तर, उनी कांग्रेस छोडेर रास्वपा प्रवेश गरी पर्सा–३ को टिकट लिन सफल भएका छन्। 

सुशील पटेल
संघीय समाजवादी फोरम र जनता समाजवादी पार्टीबाट केही समय राजनीति गरेका सुशील पटेल अहिले रास्वपामा छन्। उनलाई पार्टीले पर्सा–२ को उम्मेदवार बनाएको छ।  

टेकबहादुर शाक्य
टेकबहादुर शाक्यको राजनीति माओवादी केन्द्रबाट अघि बढेको हो। माओवादीको केन्द्रीय सदस्य रहेका उनी रास्वपा प्रवेश गरेका हुन्। अहिले उनलाई रास्वपाले पर्सा–४ को उम्मेदवार बनाएको छ। 

अमरकान्त चौधरी
रास्वपाले सप्तरी–३ का अमरकान्त चौधरीका बुबा चन्द्रकान्त चौधरी २०७४ को चुनावमा राष्ट्रिय जनता पार्टीबाट सप्तरी ३ मा विजयी बनेका थिए। छोरा अमरकान्त चौधरीको राजनीति पनि राजपाबाट अघि बढेको हो। अहिले रास्वपाको टिकट लिएर सोही निर्वाचन क्षेत्रमा उम्मेदवार छन्। 

सीताराम साह
सीताराम साहको राजनीति कांग्रेसबाट अघि बढेको हो। 

कांग्रेस सप्तरी क्षेत्र नम्बर–४ को क्षेत्रीय सभापति समेत रहेका उनी २०७४ सालमा प्रदेश सभा निर्वाचनमा सप्तरी ४(क) बाट उम्मेदवार भए पनि पराजित भएका थिए।

२०७९ को स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाको मेयर उठेका उनी पराजित भएका थिए। अहिले कांग्रेस छोडेर साह रास्वपा प्रवेश गरी सप्तरी क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका छन्।

रवीन्द्र पटेल
रौतहट क्षेत्र नं ३ का उम्मेदवार बनेका रवीन्द्र पटेलको राजनीति माओवादीबाट सुरु भएको हो। 

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रमा माओवादीबाट उम्मेदवार थिए। तर, माओवादीले प्रभु साहलाई समर्थन गरेपछि उनले उम्मेदवारी फिर्ता लिएनन्। यसपटक पनि उनी नेकपाबाटै उम्मेदवार बन्न चाहन्थे तर, पुनम यादवलाई उम्मेदवार बनाएपछि उनी रास्वपा गएका हुन्।

त्यसपछि रास्वपाले नवीन चौरसियालाई दिन भनेको टिकट खोसेर पटेललाई दिएको हो।
‍‍‍
राजेशकुमार चौधरी
राजेशकुमार चौधरीको राजनीतिक पृष्ठभूमि कांग्रेसबाटै अघि बढेको देखिन्छ। २०७४ मा कांग्रेसबाट उनी रौतहट १ (ख) मा प्रदेश सभाको चुनाव लडेका थिए। जुन चुनावमा उनी संघीय समाजवादी फोरमका योगेन्द्र राय यादवसँग जम्मा २७८ रनले पराजित भएका थिए। २०७९ को चुनावमा भने उनी स्वतन्त्रबाट उठे तर, पराजित भए।

यसपटक उनी रास्वपा प्रवेश गरेर प्रदेश छोडेर प्रतिनिधि सभामा रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad