राजनीति


मधेसमा बालेन: नजाने भनेको क्षेत्रमा गए, जाने भनेका ठाउँमा गएनन्

मधेसमा बालेन: नजाने भनेको क्षेत्रमा गए, जाने भनेका ठाउँमा गएनन्

सुभाष कर्ण
माघ २८, २०८२ बुधबार १३:४७, जनकपुरधाम

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजो (मंगलबार)देखि मधेस प्रदेशको चुनावी अभियानमा छन्। 

मंगलबार बिहान सप्तरीबाट सुरु भएको उनको अभियान आज सर्लाहीसहित पश्चिम मधेसका जिल्लामा जारी छ। बालेन जहाँ पुग्ने हो, उनको सचिवालयले पहिल्यै त्यसको सेड्युल सार्वजनिक गर्दै आएको छ। 

तर, बालेन कतिपय सेड्युल विपरितका ठाउँमा पनि गएका छन्। बालेनको सचिवालयले गएराति जारी गरेको सेड्युलमा सर्लाही क्षेत्र नम्बर ४ थिएन। तर, उनी आज त्यहाँ पुगेका छन्।

 

सर्लाहीपछि रौतहट लागेका बालेन चन्द्रपुरबाट बाराको निजगढ गएर फेरि चन्द्रपुर नै फर्किएका छन्। त्यहाँबाट उनी फेरि गौरतर्फ लागेका छन्। 

बालेनको भव्य स्वागत

मधेसमा बालेनको भव्य स्वागत भएको छ। चुनाव प्रचार–प्रसारलाई तीव्रता दिन मधेस यात्रामा निस्केका बालेनले मंगलबार सप्तरीदेखि महोत्तरीसम्मको भ्रमण गरेका थिए। 

बालेनको मधेस यात्रा सप्तरी जिल्लाको कञ्चनरुपबाट सुरु भएको हो। त्यहाँबाट उनी सप्तरी सदरमुकाम राजविराज पुगे। 

सप्तरीमा उनले हनुमाननगर बोदेबरसाइन, भगवानपुरको भ्रमण गरे। त्यसपछि सिरहा जिल्लाको औरही, गोलबजार, चोहर्वा हुँदै धनुषा प्रवेश गरेका थिए। 

उनी जहाँ पुगेका छन्, त्यहाँ स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणले फूलमाला र पुष्पगुच्छाले उनलाई स्वागत गरेका छन्। उनलाई नाराबाजी र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको छ। 

सिरहाबाट धनुषा प्रवेश गर्ने क्रममा कमला नगरपालिका अन्तर्गतको कमला पुलमा रास्वपा धनुषा क्षेत्र नम्बर २ का उम्मेदवार रामविनोद यादव र समानुपातिक उम्मेदवार जुली यादवको नेतृत्वमा हजारौँ कार्यकर्ताले बालेनलाई स्वागत गरेका थिए। 

त्यसपछि उनी धनुषाको कमला नगरपालिका, यदुकोहा, तिनकौरिया, धनुषाधाम तथा नगराईन पुगे। ती स्थानमा रास्वपा कार्यकर्ता तथा समर्थकहरुले ‘अबकी बार बालेन सरकार’को नारा लगाउँदै उनको हैसला बढाए। 

‘मधेस यात्राका क्रममा बालेनको धनुषामा भएको उपस्थितिले स्थानीय मतदाता उत्साह थपिएको छ,’ रास्वपाका उम्मेदवार रामविनोद यादवले नेपालखबरसँग भने, ‘यसबाट जनसमर्थन बढनुका साथै राम्रो परिणाम आउने अपेक्षा छ।’
 
धनुषामा रास्वपाको संगठन ठूलो नरहे पनि देशमा हुने परिवर्तनको आशले बालेनप्रति मधेशी जनतामा आशा जागेको उनको भनाई छ। ‘यो जनसमर्थनले जनतामा देखिएको विकासका सपना पूरा गर्ने दायित्व हामीमा थपिएको छ,’ उनले भने। 

मंगलबार नगराइनबाट महोत्तरी प्रवेश गरेका बालेन सिधै सदरमुकाम जलेश्वर पुगेका थिए। जलेश्वरपछि उनी आफ्नो जन्मस्थान एकडारा पुगे। जहाँ स्थानीयबासीले विशेष आत्मीयताका साथ उनको स्वागत गरेका थिए। जन्मथलो पुगेका बालेन भावुक देखिएका थिए, एकडारापछि उनी बर्दिबासतर्फ लागे। 

रास्वपा मधेस प्रदेश र्‍यापिड समितिका सदस्य शम्भु साहकाअनुसार बालेन मंगलबार बर्दिबासमा बास बसेर पश्चिमको यात्रामा निस्केका हुन्।

मधेसका जिल्लामा घण्टी हल्लाउँदै रास्वपाको पक्षमा मत मागिरहेका बालेनले कतै सार्वजनिक मञ्चमा बोलेको भने देखिएको छैन। तर, उनलाई स्वागत गर्न गाउँ गाउँबाट सडक किनारमा बिहानैदेखि उनका समर्थक जम्मा हुने गरेका छन्।

समर्थकलाई उने गाडीबाटै हात हल्लाउँदै अभिवादन गर्छन्। घण्टी बजाउँदै उत्साह थप्छन्। समर्थकको ठूलो भिड देखेमात्रै उनी गाडीबाट निस्कने गरेका छन्। नत्र उनी गाडीभित्रै बस्छन्। 

सर्लाहीको नवलपुर, हरिवन, नयाँरोड लगाएतका ठाउँमा उनी गाडीको छतमा देखिएनन्। भित्रै बसे। तर, बरहथवामा भने उनी बाहिरै देखिएर समर्थकलाई अभिवादन गरे। उनको यो भ्रमणले मधेसमा रास्वपाप्रतिको समर्थन बढेको देखिन्छ।

कतिपय ठाउँमा समर्थकलाई बनाए निराश 
बालेन शाहको स्वागतको पखाईमा रहेका जनकपुरधामसहित विभिन्न स्थानका नेता कार्यकर्ता तथा समर्थक निराश देखिए। 

मंगलबार दिउँसोदेखि पखाईमा बसेका सिरहाको लहान र धनुषाको जनकपुरधाम, महेन्द्रनगर र ढल्केवरका रास्वपा कार्यकर्ता तथा समर्थक बालेन नआएपछि निराश भएर घर फर्केका थिए। 

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम क्षेत्रमा पर्ने धनुषा ३ का उम्मेदवार मनिष झा र धनुषा ४ का उम्मेदवार राजकिशोर महतो मंगलबार दिउँसैदेखि बालेनको पखाईमा बसेका थिए।

तर उनले धनुषाधामबाट रुट परिवर्तन गर्दै सिधै नगराईन हुँदै महोत्तरी पुगेपछि घण्टौ प्रतिक्षापछि उनीहरु साँझपख निराश भएर घर फर्केका थिए। 

त्यस्तै अवस्था आज सर्लाहीको नवलपुर, हरिवन, नयाँरोड लगायतका क्षेत्रमा पनि देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad