राजनीति


काठमाडौँ ४ : गगन नहुँदाको फाइदा लिन अघि सरे राजन, बालेन लहरले हौसिए पुकार

सचिन भन्छन् : एमाले र रास्वपाको प्रतिस्पर्धा दोस्रो स्थानको लागि
काठमाडौँ ४ : गगन नहुँदाको फाइदा लिन अघि सरे राजन, बालेन लहरले हौसिए पुकार

सागर न्यौपाने
माघ २७, २०८२ मंगलबार २२:१०, काठमाडौँ

काठमाडौँ क्षेत्र नम्बर ४ मा ७६ हजार १४१ मतदाताले ३३ मतदानस्थल र ८८ मतदान केन्द्रबाट आगामी फागुन २१ गते एक उम्मेदवारलाई सिंहदरबार पुर्‍याइदिनेछन्। यिनै मतदाताको मन जित्ने लक्ष्य लिएर २८ उम्मेदवार मैदानमा छन्। तर, यसपटक यो क्षेत्रमा पछिल्ला तीन चुनाव लगातार जितेका गगन थापा छैनन्। 

पुस २७–३० सम्म भएको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि थापा यो क्षेत्र छोडेर सर्लाही ४ गएका छन्।

२०७०, ०७४ र ०७९ मा सो क्षेत्रबाट निर्वाचित भएका थापा मधेस झरेपछि नेकपा एमाले सचिव राजन भट्टराई उत्साहित छन्। 

कांग्रेसका थापासँग भट्टराई पछिल्ला दुई चुनावमा पराजित भएका थिए। यतिसम्म कि, २०७४ मा एमाले–माओवादी केन्द्रबीच गठबन्धन हुँदा समेत उनले जित निकाल्न सकेका थिएनन्। क्षेत्र नम्बर ४ मा बलियो पकड जमाएका कांग्रेसका थापाले यसपटक सो क्षेत्र छोडेपछि एमाले सचिव भट्टराई पहिलो जित निकाल्ने योजनामा छन्। 

एमाले काठमाडौँ जिल्ला अध्यक्ष नारायण सिलवाल जित्ने अवस्था रहेको रिर्पोटिङ भएपछि भट्टराईलाई अन्तिम अवस्थामा उम्मेदवारी मनोनयन गर्न दबाब दिएको बताउँछन्। 

‘तलबाट जिताउँछौँ राजनजी नै उठ्नपर्छ भनेर माग आएपछि उहाँ उम्मेदवार बन्न तयार हुनुभयो,’ सिलवालले नेपालखबरसँग भने, ‘अहिले हामी सहज जित हासिल गर्छाैँ। न्युट्रल मत रास्वपा र कांग्रेसतिर बाँडिने देखियो, हाम्रो पार्टीको सांगठनिक मत प्राप्त हुँदा जित्छौँ।’

तर, पहिलो पटक जित्न चाहेका एमाले सचिव भट्टराईलाई कांग्रेसका सचिन तिमल्सेना, नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल, रास्वपाका पुकार बम, राप्रपाका वरिष्ठ अधिवक्ता सुरेन्द्रराज भण्डारीले टक्कर दिँदैछन्। 

त्यसमाथि अघिल्लो पटकको चुनावमा भन्दा यसपटक ६ हजार ३८९ मतदाता बढेका छन्, जुन निर्णायक हुन सक्छन्। 

काठमाडौँ–४ मा पनि युवा र नयाँ मतदाताको निर्णायक भूमिका रहने भएकाले यी थपिएका ६ हजारभन्दा बढी मतले नतिजालाई कुनै पनि दिशामा मोड्न सक्ने देखिन्छ।

किनकि, यसपटक मतदाताको मनोविज्ञान बदलिएको छ। झन् जेनजी आन्दोलनपछि हुन लागेको चुनाव भएकोले युवाहरूको रोजाइमा जुन उम्मेदवार पर्‍यो उसैले सिंहदरबार प्रवेश पाउने सम्भावना बढी छ।

उम्मेदवारको प्रचार शैली, योजना, एजेन्डाले पनि मतदाताको मन प्रभावित पार्नेछ। कांग्रेसका सचिन तिमल्सेना ३३ वर्षीय युवा हुन्। त्यसकारण युवासहित निर्णायक मत आफूले पाउनेमा उनी आशावादी देखिन्छन्। 

‘माहोल राम्रो छ। चुनाव जितिन्छ। रास्वपाको लहर मेरो क्षेत्रमा छैन। हाम्रो क्षेत्रमा हामी चुनाव जित्नेमा छौँ। मतदाताले जिताउँछौँ भन्नुभएको छ,’ उनले भने, ‘मलाई देखेर मतदाताले नयाँ मानिस आएको भन्दै उत्साहित हुनुभएको छ।’

२०७९ सालमा थापाले एमालेका भट्टराईलाई ७ हजार ४४७ मतान्तरले हराएका थिए। कांग्रेसका थापाले २१ हजार ३०२  ल्याउँदा एमालेका भट्टराईले १३ हजार ८५५ मत पाएका थिए। यस्तै, राप्रपाका ठाकुरमोहन श्रेष्ठले ४ हजार ०५० पाउँदा स्वतन्त्र अर्जुनकुमार प्रसाईंले २ हजार ३०८ मत पाएका थिए।

तर, त्यसबेला यो क्षेत्रमा रास्वपाले कुनै उम्मेदवार उठाएको  थिएन। सभापति रवि लामिछानेले गगन थापालाई सहयोग गरेको आरोप पनि लागेको थियो। थापा जिताउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समेत सहयोग गरेको बताइएको थियो। 

‘चुनाव जित्नेमा पूर्णरुपमा विश्वास्त छु,’ तिमल्सेनाले थपे, ‘सबै वडामा पुगिसके, अब एकपटक सभापतिलाई ल्याएर आमसभाको कार्यक्रम पनि राख्छु।’

सो क्षेत्रमा एमाले र रास्वपाबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनसक्ने तिमल्सेना बताउँछन्।

काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा तथा बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ नम्बर वडा यो निर्वाचन क्षेत्रमा समेटिएको छ। 

२०६४ मा देशभर माओवादीका उम्मेदवारले जित्दा यो क्षेत्रमा पराजित भएको थियो।

त्यसबेला कांग्रेसकी सुप्रभा घिमिरेले जितेको यो क्षेत्रमा २०७० देखि गगन थापाको उदय भएको हो। ०६४ देखिको हारको बदला लिन मैदानमा खटिएका छन्– नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुसाल।

‘चुनावीको माहोल राम्रो हुँदै गएको छ, पार्टी एकता भयो। म लामो समयसम्म यही क्षेत्रमा काम गरेको, यहाँका मतदाताको हरेक सेन्टिमेन्टसँग जोडिएको, हरेकसँग सम्बन्ध भएकोले मलाई जिताएर पठाउँछन् भन्ने विश्वास छ,’ उनले भने।

जेनजी आन्दोलनपछि कांग्रेस र एमालेलाई हेर्ने मतदाताको मनोविज्ञान फेरिएको उनको भनाइ छ।

‘हामीले ०७० पछि आफ्नै उम्मेदवार उठाएनौँ, कहिले एमाले गठबन्धन, कहिले कांग्रेस गठबन्धन भएकोले जनप्रतिनिधि उनै भए,’ नेकपाका उम्मेदवार भुसालले थपे, ‘तर, जनताले भोगिरहेका समस्या हिजो र आज उस्तै छ, त्यसकारण हाम्रो लागि सहज सहज हुँदै गएको छ।’

रास्वपाले पुकार बमलाई यो क्षेत्रबाट उठाएको छ। विवेकशील अभियानमा जोडिएर राजनीतिमा पाइला राखेका बम निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौँ–४ आइपुगेका हुन्।

यसअघि उनी काठमाडौँ १ मा उठेका थिए। त्यसअघि २०६४ सालमा काठमाडौँ ८ बाट उम्मेदवार बनेका बम २०७४ मा पनि सोही क्षेत्रमा उठेर पराजित भएका थिए।  

यसपटक रास्वपामा बालेन शाहको प्रवेशले आफूलाई उत्साहित बनाएको उनी बताउँछन्। केही दिनयता निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा पदयात्रा कार्यक्रम गरिरहेको बमले बताए।

२०७९ को चुनावमा समानुपातिकतर्फ पाएको मत हेर्दा सो क्षेत्रमा कांग्रेसले ११ हजार ८०८ र एमालेले १० हजार ५६० मत पाएको देखिन्छ। 

प्रत्यक्षमा उम्मेदवार नबनाएको रास्वपाले समेत ९ हजार ४१२ मत पाएको थियो।

राप्रपाले ६ हजार ८८१ मत पाउँदा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितले समग्रमा ३ हजार मत मात्र पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad