राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेन्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।
सोमबार प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बेलायतले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रले राष्ट्रसंघीय शान्तिसेनामार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको बताए। उनले नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको विकासमा निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिए।
उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुशी व्यक्त गरे। पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पुर्याउन उचित हुने उनको भनाइ थियो।
कार्यक्रममा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेन्डले ब्रिटिस गोर्खा सेना सधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे। ब्रिटिस गोर्खामा भर्ना भएका युवालाई नेपालका छोराछोरी भनेर सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीप्रति माया र सम्मान प्रकट गर्ने गरेको सुनाए।
कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रव फेन पनि उपस्थित रहेका थिए।
Shares

प्रतिक्रिया