नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन्।
गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न सर्लाही क्षेत्र नं ४ का मतदातासँग शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताएका हुन्।
उनले भनेे, 'मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ। म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ। अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ। मजस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्त्व बुझाउने छु।'
आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आम नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए।
'सर्लाही-४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु। जसरी अहिले मलाई काठमाडौँ-४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही-४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु', सभापति थापाले भने।
उनले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले बिस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया