संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो ।
अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ। सांसदहरुको तापक्रम नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको छ। गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन्। भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ। सांसदहरुले मास्क र पञ्जा लगाएका छन्।
प्रत्यक्ष प्रशारण
Posted by Nepalkhabar on Friday, May 8, 2020LIVE: प्रतिनिधि सभा बैठक, २०७७ बैशाख २६ गते , ४:०० बजे
बजेट ल्याउनु अघि संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ। बजेटको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथि समेत संसदमा छलफल हुने छ। त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने छ भने जेठ १५ गते बजेट पेश गर्ने छ। संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन गत चैत २४ गते अन्त्य भएको थियो। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागु गरेपछि हिउँदे अधिवेशन छिटै अन्त्य गरिएको थियो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैशाख २८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ।
वैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिइन्। जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने सैवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो।

प्रतिक्रिया