सङ्घीय राजधानीको मुटु मानिने काठमाडौं क्षेत्र नं. १ यतिबेला चुनावी रापले तातिएको छ। थापाथली, नयाँ वानेश्वर, बबरमहल समेटिएको यो क्षेत्रको चुनाव जति रोचक छ, यहाँको अङ्कगणित त्योभन्दा बढी पेचिलो देखिएको छ।
यसपटकको निर्वाचनमा यो क्षेत्रको निर्णायक चाबी पुरुष उम्मेदवारको हातमा नभई महिला मतदाताको हातमा पुगेको देखिन्छ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं–१ मा जम्मा ४८ हजार ४ सय ८९ मतदाता छन्। यसमा महिला मतदाताको सङ्ख्या पुरुषको तुलनामा २ हजार १५ ले बढी छ। यहाँ २५ हजार २५२ महिला मतदाता छन् भने पुरुष मतदाताको सङ्ख्या २३ हजार २३७ मात्रै छ। रोचक पक्ष के छ भने, मतदातामा महिलाको वर्चस्व भए पनि उम्मेदवारी दिनेमा भने पुरुषहरूको लर्को छ।
पुरूष उम्मेदवारलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीले रञ्जु दर्शनालाई मैदानमा उतारेको छ। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट रेणुका भण्डारी र नेमकिपाबाट रमिला सुवाल पनि चुनावी मैदानमा छन्।
यो क्षेत्रमा करिब ५ प्रतिशत मतको हेरफेरले नतिजा उल्टाउन सक्छ। यस्तो अवस्थामा २ हजारभन्दा बढी सङ्ख्यामा रहेका अतिरिक्त महिला मतदाताले जसलाई रोज्छन्, उही सिंहदरबारको यात्रा तय गर्नेछ।
पुरुष उम्मेदवारले महिलाको मन जित्लान् त? महिला उम्मेदवारले महिला शक्तिको फाइदा उठाउलान्? फागुन २१ पछि थाहा हुनेछ।
Shares

प्रतिक्रिया