राजनीति


ग्राउन्ड जिरो धनुषा-३ : विमलेन्द्र र जुलीविरुद्ध मनिषको ‘टकला’ कार्डले ल्याएको तरंग

मनिष घरघर पुग्दा कांग्रेस-एमाले भन्छन् : हामीले मतका लागि हात जोड्नै पर्दैन
ग्राउन्ड जिरो धनुषा-३ : विमलेन्द्र र जुलीविरुद्ध मनिषको ‘टकला’ कार्डले ल्याएको तरंग

लोकेन्द्र भट्ट
माघ २१, २०८२ बुधबार १२:१, जनकपुर

मधेस प्रदेशको मुकाम रहेको धनुषा–३ मा प्रतिनिधिसभा निर्वाचनका लागि ४५ जना स्पर्धामा छन्। कांग्रेसबाट विमलेन्द्र निधि, राष्ट्रिय स्वतन्त्र (रास्वपा) बाट मनिष झा, एमालेबाट जुली महतो, जनता समाजवादी पार्टी (जसपा)बाट परमेश्वर साह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रामललित मण्डल र राष्ट्रिय मुक्ति मोर्चाबाट राजीव झा चुनावी मैदानमा छन्।

स्वतन्त्र उम्मेदवार अधिकांश डमी हुन् भने साना दलले राजनीतिक उपस्थितिका लागि उम्मेदवारी दिएको पाइन्छ। कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री निधि सो क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन् भने एमालेकी महतो पूर्वमन्त्री तथा निवर्तमान सांसद हुन्।

जसपाका परमेश्वर साह प्रदेश पूर्वसांसद हुन् भने रास्वपाका झा २०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका थिए। जसपाका साह र रास्वपाका झा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा छन् भने नेकपाका मण्डल र राष्ट्रिय मुक्ति मोर्चाका झा पहिलो पटक संसद प्रवेशको दौडमा छन्।

विगतमा स्थानीय र प्रदेश सभा निर्वाचनमा सहभागी नभएको रास्वपाको ग्रासरुटमा संगठनिक संरचना छैन तर मधेसमा रास्वपाप्रति एक किसिमको लहर नै देखिन्छ। जसपा, जनमत र राष्ट्रिय मुक्ति पार्टीको संगठन छ। जसपाका उम्मेदवार साह तत्कालीन राजपाबाट २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएरका थिए।

मधेस प्रदेशमा राजपाको प्रमुख सचेतक समेत बनेका उनी मधेस आन्दोलनमा तत्कालीन तमलोपाबाट अग्रमोर्चामा थिए। २०७९ मा प्रदेश सभामा पराजित भएका साहलाई जसपाले अहिले प्रतिनिधिसभा उम्मेदवार खडा गरेको छ। यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट उपाध्यक्ष राजीव झा चुनावी मैदानमा छन्।

धनुषा २ छाडेर राजीव २०७४ मा महतो निर्वाचित धनुषा– ३ मा उम्मेदवार बनेका छन्। २०७० मा धनुषा– २ बाट उम्मेदवार भएर पराजित भएका राजीवले धनुषामा सामाजिक अभियान्ताको छवि बनाएको पाइन्छ। ‘क्लोथ ब्यांक’ र नेपाल–भारत खुला सीमा संवाद समूहको अध्यक्ष भएर उनले काम गरेका छन्।

निधिको विरासत, जुलीको आत्मविश्वास
कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र विद्यार्थी राजनीतिबाट उदाएका कांग्रेसका शीर्ष नेता हुन्। २०२९ सालमा रामसागर रामस्वरुप बहुमुखी क्याम्पस जनकपुरको स्ववियु सचिव र धनुषा जिल्ला नेविसंघका सचिव भएका उनी २०३३ सालमा २१ वर्षको उमेरमा नेविसंघका केन्द्रीय सदस्य भएका थिए।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि २०३६ सालमा जनकपुरमा भएको नेविसंघको अधिवेशनमा विमलेन्द्र निर्विरोध अध्यक्ष बनेका थिए। नेपालमा प्रजातन्त्र पुनःप्राप्तिपछि विमलेन्द्र कांग्रेसको पार्टी राजनीतिमा होमिएका थिए। सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा उपप्रधानसहित गहृमन्त्री भइसकेका निधि पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्म भए। कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित निधिको संसदीय राजनीति पनि हार–जित मिश्रित छ।

२०५१ को मध्यावधि निर्वाचनमा धनुषा–४ बाट निर्वाचित उनी २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भएका निधि २०७४ को निर्वाचनमा तत्कालीन राजपाका राजेन्द्र महतोसँग पराजित भए। २०७९ मा समानुपातिक सांसद बनेका निधि आसन्न फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा छन्।

कायस्थ समुदायका विमलेन्द्रका लागि धनुषा–३ जातीय समीकरणले अनुकूल क्षेत्र मानिन्छ। मधेसी समाजमा ‘चित्रगुप्तका खानदान’ भनेर परिचित कायस्थ समुदायका निधिले आउने चुनावमा त्यस्तो चतुरता देखाउन सक्छन् या सक्दैनन्, अहिले नै भन्न सकिन्न।

यस्तै, २०७४ मा समानुपातिक सांसद बनेकी एमाले उम्मेदवार महतो २०७९ मा तत्कालीन लोसपाका अनिल झालाई हराउन सफल भएकी थिइन्। यद्यपि यसपालि एमाले केन्द्रीय सदस्य महतोको चुनावी चहलपहल धनुषा–३ मा देखिइसकेको छैन। धनुषा ३ मा अहिलेसम्म कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक धनुषा ३ मा रास्वपा केन्द्रीय प्रवक्ता मनिषा झाको उम्मेदवारीले रौनक थपेको छ। जनकपुरधाममा भएको रास्वपाको ‘परिवर्तनको उद्घोष सभा’मा बालेनको सम्बोधनले धनुषामा पुराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धालाई अझ टड्कारो पारिदिएको छ।

रास्वपाका उम्मेदवार झा ‘अब की बार, बालेन सरकार’को नारासहित आक्रामक शैलीमा चुनावी दौडमा छन्। कांग्रेस, एमाले र मधेसवादी दलका उम्मेदवार मतदातामाझ कम देखिँदा रास्वपाका झा मतदाताको दैलोदैलोमा पुगिरहेको भेटिए। काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहलाई मधेसी समुदायको प्रधानमन्त्रीको नारा दिएर मत बटुल्ने रणनीतिले धनुषा–३ मा मनिषलाई थप राहत दिएको देखिन्छ।

धनुषा–३ का मतदाता बालेनलाई प्रधानमन्त्री बनाउन र मनिषलाई सांसद जिताउन घण्टीमा भोट दिन उत्सुक देखिन्छन्। तर, मनिषका लागि टाउको दुखाइ भने स्वतन्त्र उम्मेदवार दिवाकर साह बनेका छन्। दिवाकर साह आफ्नै शैलीको पत्रकारिताबाट मधेसमा चर्चित छन्। धनुषा–३ मा सप्तरीका साहप्रति युवा आकर्षण लोभलाग्दो नै छ। साहको उम्मेदवारीले मनिषलाई चिन्ता थपेको प्रस्ट देखिन्छ। यसलाई चिर्न धनुषा–३ का नागरिकसँग सेल्फी खिच्ने, सँगसँगै ‘अब की बार, बालेन सरकार’ को नारा लगाउने, सबैसँग गफगाफ गर्ने र चिया पिउने शैली मनिषले अपनाएको देखिन्छ। 

कांग्रेस र एमालेका उम्मेदवारहरू भने धनुषा–३ का लागि आफूहरू परिचित रहेको भन्दै हात जोड्दै मत माग्न नपर्ने बताउँछन्। राजनीतिक विरासत, पटक–पटक चुनाव जितेको अनुभव, मन्त्री हुँदा गरेको काम, पार्टीको सांगठनिक शक्तिलाई चुनावी परिणाममा बदल्ने निधिको रणनीति देखिन्छ। यद्यपि मतदाताको अपेक्षा, सीमित कार्यकर्ताको घेराबन्दी, आम जनताको पहुँचबाट टाढा रहने शैली र पार्टीको अन्तर्घात भने निधिको विजयमा बाधक हुन सक्छ। कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकार्न गाह्रो मानिरहेका निधिको व्यवहार विशेष महाधिवेश पक्षधर कार्यकर्तालाई चित्त बुझेको छैन।

सभापति थापाले माघ १६ गते मधेस प्रदेशका ३२ जना उम्मेदवारलाई जनकपुरमा भेला गराएर आन्तरिक रणनीति बनाउँदा जनकपुरमै रहेका निधि सहभागी भएनन्। गगन थापाको हातबाट टिकट लिएर उम्मेदवार भए पनि निधिले सभापति स्वीकार्न नसकेको यसबाट पनि देखिन्छ। फागुन ७ मा कांग्रेसले जनकपुरमा गर्ने आमसभामा पनि निधि आउने टुंगो छैन।

यसको प्रभाव धनुषा–३ मा नतिजामा पर्न सक्ने निधिका शुभचिन्तकलाई चिन्ता छ। निधिको जितमा धनुषा–३ को ग्रामीण भेगमा पकड भएका रामसरोज यादवको भूमिका पनि निर्णायक हुनेछ। पछिल्लो समय शेखर कोइरालासँग नजिकिएका यादवको निधिसँग दूरी बढेको देखिन्छ। 

यस्तै एमाले उम्मेदवार महतो पनि प्रतिस्पर्धा बाहिर छैनन्। गत निर्वाचनमा ठूलो मतान्तरले विजयी भएकी उनी मन्त्री भएर यो क्षेत्रमा राम्रै काम गरेको दाबी गर्छिन्।

एमालेको सांगठिक बल, महिला र मुस्लिम मत जुलीको जितको आधार बन्नसक्छ। तर, परिवारवादको आरोप, एमाले अध्यक्ष र सचिव महेश बस्नेतले मधेसीको आत्मसम्मानमा ठेस पुग्ने गरी दिएको अभिव्यक्तिले उनलाई पछ्याइरहेको छ।

रास्वपाको टकला रणनीति
धनुषा–३ को नतिजामा निर्णायक मानिने जनकपुर बम काण्डका नाइके पूर्वराज्यमन्त्री सञ्जय साह (टकला)को समर्थन मनिषलाई रहेको चर्चा जनकपुरमा व्यापक छ। गत निर्वाचनमा एमालेका रघुवीर महासेठ र जुली महतोको पक्षमा खुलेका उनी अहिले रास्वपासँग निकट हुन पुगेका छन्।

नख्खु कारागारमा रास्वपा सभापति रवि लामिछानेसँग दोस्ती बढाएका टकलाको झुकावले कांग्रेस र एमाले दबाबमा छन्। भदौ २४ मा रवि लामिछानेसँग नख्खु कारागारबाट भागेका टकला अहिले कारागार फर्किएपनि धनुषामा चुनावी दोस्ती देखिन्छ। टकलाका समर्थकहरूले रास्वपालाई सहयोग गरिरहेको देखिन्छ। उनका दाहिने हात मानिएका रामविनोद यादव रास्वपाबाटै उम्मेदवार छन्।

टकलालाई जन्मकैदको फैसला सुनाइएको सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याकाण्डमा सफाइ पाएका तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादव रास्वपाबाट धनुषा–२ मा उम्मेदवार हुनुले यो कुरा पुष्टि हुन्छ। २०६६ फागुन १७ गते होलीको दिन जनकपुरको शिवचौकमा सिंघानियाको हत्या भएको थियो। त्यो घटनामा साहका निकट सहयोगी मानिने यादवलाई आफ्नो घरमा बोलाएर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानको दाबी थियो।

यादव ३ वर्ष कैद बसेर रिहा भएका थिए। धनुषा–३ मा टकलाको समर्थनले मनिषलाई लाभ र हानि दुवै हुने देखिन्छ। मधेस मामिलाका जानकार रोशन जनकपुरीका अनुसार मनिषले टकलाको साथ लिँदा उद्यमी, व्यवसायीको मत गुमाउने खतरा छ। 

‘सञ्जय साहले होल्ड गर्ने मत त पाऊलान्। तर उद्यमी, व्यवसायीको मत गुमाउने निश्चित छ। रास्वपाले टकलालाई रिहा गर्ने वचन दिएको भन्ने पनि सुनिन्छ। यसले जनकपुरका उद्यमीमा त्रास पैदा गराएको छ,’ रोशन भन्छन्। 

धनुषा–२ र १ मा टिकट वितरण गर्दा मनिषले धनुषा–३ मा आफू चुनाव जित्ने रणनीति बनाएर गलत मान्छेलाई टिकट दिएको भन्दै विरोध पनि भएको थियो। धनुषामा पार्टीको सांगठनिक संरचना नभएपछि रास्वपाले रणनीतिक रुपमा टकला कार्ड प्रयोग गरेर चुनाव जित्न खोजेको स्थानीय बताउँछन्। 

विगतको गणित
धनुषा ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ सहित जम्मा ३८ वटा वडा पर्छन्। उपमहानगरपालिकाका २५ वटा वडा मध्ये १७ वटा, नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँच वटा वडा र विदेह नगरपालिकाको एउटा वडा रहेका छन्। धनुषा ३ मा स्थानीय तहतर्फ जनकपुरधाममा मेयर र उपमेयरसँगै १७ वडामध्ये कांग्रेसले ८ वटा, एमाले ५, माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, तमलोपा र माओवादीले एक/एक वटा वडा जितेका छन्।

नगराइन नगरपालिकामा कांग्रेसले मेयरसँगै ४ वटा वडा जितेको छ भने एमालेले उपमेयरसँगै ४ वटा र एउटा वडा लोसपाले जितेको छ। धनौजी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसँगै कांग्रेसले ४ वटा वडा र एउटा लोसपाले जितेका छन् भने मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसँगै जसपा नेपालले ४ वटा वडा जितेको छ भने कांग्रेसले २ वटा वडा जितेको छ।

जसपा, लोसपा र तमलोपा मिलाएर हालको जसपा नेपालको ८ वटा वडा हुन जान्छ भने जनकपुरधामका दुई वटा स्वतन्त्र अहिले कांग्रेसकै पक्षमा छन्। यस्तो अवस्थामा कांग्रेसको १९ वटामा पहुँच छ।

गत निर्वाचनमा धनुषा ३ मा कांग्रेसको समानुपातिक मत २५ हजार १९५ छ भने एमालेको १७ हजार ८७४ मत देखिन्छ। यस्तै जनमतको ८ हजार ८२, जसपाको (तत्कालीन लोसपा) सहित ९ हजार ८३८, नेपाल संघीय समाजवादी पार्टीको १ हजार ४ सय ८६, राप्रपाको १ हजार ३ सय ३१, रास्वपाको १ हजार २ सय १९, तराई मधेस लोकतान्त्रिक पार्टीको १ हजार २११ र नेकपाको (तत्कालीन माओवादी र समाजवादी) १२ सय २७ मत छ।

कांग्रेस उम्मेदवार निधिले आफ्नो समानुपातिक मत जोगाउन मात्र सक्दा पनि धनुषा–३ मा उनी जित नजिक पुग्न सक्छन्। तर, रास्वपा अनि बालेनको आकर्षण र मनिषको आक्रामक प्रचारको निधिले कसरी सामना गर्छन् भन्ने कुराले धनुषा–३ को चुनाव परिणाम तय हुने निश्चित छ।

(साथमा सुभाष कर्ण)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad