नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सात बुँदे सुझाव दिएका छन्।
चुनाव प्रचारको क्रममा सुदूरपश्चिम हुँदै आज दैलेख पुगेका शाहलाई आफ्नो गृहजिल्लाबारे जानकारी दिँदै एमाले नेता रिजालले सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन्।
प्रधानमन्त्रीको उम्मेदवारका रुपमा रास्वपाले अघि सारेका बालेन तीब्र गतिमा विभिन्न जिल्लाहरू पुगिरहेका छन्। त्यसरी तीब्र ढंगले पिचरोड हुँदै एक जिल्लाबाट अर्को जिल्ला पुग्न सम्भव गराएको ‘पुराना पार्टी’हरूले हो भन्ने स्मरण रिजालले गराएका छन्।
उनले आफ्नो क्षेत्रको भूगोलबारे जानकारी दिँदै त्यहाँको बाटोघाटो, बिजुली बत्ती, सञ्चार सम्पर्कलगायतको विकास ‘दलहरुकै सरकार र जनप्रतिनिधिले गरेका’ स्पष्ट पार्दै ‘पुराना नयाँ नेता सबै चोर हुन्’ भन्ने आफ्नो भाष्य बदल्न सुझाव पनि दिएका छन्।
यस्तो छ बालेनलाई सम्बोधन गरेको रिजालको खुला पत्र
प्रिय बालेनजी,
१) बहुदलीय व्यवस्था स्थापनायताका ३५ बर्षमा केही पनि भएन भन्ने भाष्य खडा गर्न खोजिएको छ। सबैतिर भ्रष्टाचार मात्रै भयो, तपाईंकै भाषामा ‘नयाँ–पुराना सबै नेता चोर हुन्‘ भनेर पढाउन खोजिएको छ। तर, तपाईं अछाम हुँदै दुल्लूसम्म जुन पिच बाटोमा आउनुभयो, त्यो मध्यपहाडी राजमार्गका नाममा यही बीचमा बनेको हो। अझ नेकपा (एमाले) को योजनामा त्यो बाटो बनेको हो। निकट बिगतमा पैतालाले नापेका ती बाटोमा यत्तिकै मोटर पुगेको होइन।
२) केही समयअघिसम्म हामी अन्धकारमा थियौँ। धेरै परको त कुरा छाडिदिनूस्, मैले नै सुर्खेतबाट बोकेको मट्टितेलको टुकी बालेर पढेको हुँ। तपाईं आज साँझ दुल्लू पुग्दा विजुली बत्ती बलेको देख्नुभयो होला– त्यो अहिलेकै व्यवस्थाका कारण र यिनै दलहरुको सरकारका कारण सम्भव भएको हो।
३) तपाईं दुल्लू हुँदै सुर्खेत झर्दा प्रयोग गरेको बाटो पनि पिच पाउनुभयो होला। अहिले दुल्लू–सुर्खेतको बाटोका लागि प्रशस्त विकल्प छन्। दुल्लू–चगत्रा–रावतकोट हुँदै चुप्रा निस्केर पनि आउन सकिन्छ। दुल्लूबाट बैक हुँदै माथिल्लो डुंगेश्वर पनि झर्न सकिन्छ। दुल्लूबाट रिजु हुँदै तल्लो डुंगेश्वरबाट आए पनि हुन्छ। जानकारी राख्नूस्– यी सबै काम दलहरुकै सरकार र जनप्रतिनिधिले गरेका हुन्। केही समयअघिसम्म पनि हामी भारी बोकेर ती बाटोमा पैदल हिँड्थ्यौँ भन्दा तपाईं पत्याउनुहुन्छ कि हुन्न कुन्नि?
४) दुल्लूमा क्याम्पस रहेको कुरा हतारमा थाहा पाउनुभएन होला। बैकमा कृषि क्याम्पस छ। तपाईंलाई हेर्न आउने युवाका हातहातमा मोबाइल देख्नुभयो होला। सञ्चार सम्पर्कबाट कोही पनि बाहिर छैन। यी सबै काम तपाईंले पुराना भन्ने गरेका दलहरुकै कारण सम्भव भएका हुन्।
५) रावतकोटको बाटो प्रयोग गरेर दैलेख बजार पुगेको भए जलचलेमा केही भौतिक संरचना देख्नुहुन्थ्यो होला। ती संरचना पेट्रोलियम पदार्थको उत्खननका लागि केपी ओली प्रधानमन्त्री भएको बेला अघि बढाइएको कामका परिणाम हुन्। त्यहाँ ग्यास भएको आधिकारिक पुष्टि भइसकेको छ र चीनले थप अध्ययन गरिरहेको छ। यदि बीचैमा कसैले बिगारिदिएनन् भने यसबाट ग्यास उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने योजना छ।
६) अझै राम्रो गर्छु भन्नूस्, जनतालाई सहमत गराउनूस्। लोकतन्त्रमा त्यो सुविधा तपाईंलाई पनि छ। तर, मानौँ– नेपाल राष्ट्रको उत्पत्ति नै तपाईं काठमाडौँको मेयर निर्वाचित भएको दिनबाट भएको हो र नेता भनेको बालेन शाह मात्रै हो जस्तो भाष्य नबनाउनूस्। अरु सबै भ्रष्ट र असक्षम अनि महानगरको १५ प्रतिशत बजेट खर्च गर्न नसक्ने मेयर योग्य चाहिँ हुन सक्दैन।
७) तपाईं युवा हुनुहुन्छ। जोश छ, केही गरौँ भन्ने हुटहुटी पनि होला। तर, सबैलाई खराब देखाएर आफू असल हुन चाहने अभ्यासलाई लोकतान्त्रिक मान्न सकिन्न। नेता भएपछि ताली मात्र होइन, गाली पनि खान सक्नुपर्छ। आरोपको जवाफ दिन पनि सक्नुपर्छ। रहस्यको पात्र बनेर युवाहरुलाई रुमल्ल्याउन खोज्नुलाई कदापि लोकतान्त्रिक मान्न सकिन्न। आउनूस्, एजेन्डामा बहस गरौँ। जनताले तपाईंका एजेन्डा मन पराएछन् र मत दिएछन् भने पनि यही व्यवस्थाका कारण त्यो सम्भव हुने हो। नत्र भने आम घृणा, उत्माद, अतिवाद र अतिरञ्जनाले क्षणिक सन्तुष्टी त देला तर राष्ट्रलाई राम्रो गर्दैन।
Shares

प्रतिक्रिया