राजनीति


रुपन्देही २ को हावा रास्वपातिर बग्दा विष्णु पौडेलको कठिनाइ बढ्दै

०७९ मै रास्वपाले समानुपातिकमा एमालेलाई उछिनेको थियो
रुपन्देही २ को हावा रास्वपातिर बग्दा विष्णु पौडेलको कठिनाइ बढ्दै

सागर न्यौपाने
माघ १७, २०८२ शनिबार १९:५०, काठमाडौँ

दलहरूले समानुपातिक चुनावमा पाएको मतलाई आधार मानेर उसको संगठनबारे लेखाजोखा हुने गर्छ। चुनाव जित्ने र हार्ने विश्लेषणको पहिलो आधार त्यसैलाई बनाइन्छ। 

त्यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दललाई फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका मुख्य प्रतिस्पर्धी मान्न सकिन्छ। 

तर, जितहारको आधार यति मात्र होइन। दल र उम्मेदवारको प्रभावका साथै देशभर चलेको लहरले भूमिका खेल्छ। यसरी हेर्दा यसअघिको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ मा रोचक नतिजा आएको थियो।

यहाँ २०७९ को चुनावमा समानुपातिकतर्फ देशभर बलियो संगठन भएको एमालेलाई पछि पारेर रास्वपा पहिलो दल बनेको थियो। उसले  २५ हजार ६७३ मत ल्यायो। एमाले २१ हजार १८३ मत पाएर दोस्रोमा झरेको थियो। एमालेले भन्दा रास्वपाले ४ हजार ४९० बढी मत समानुपातिमा ल्यायो।

तर, प्रत्यक्षमा एमालेका उपाध्यक्ष विष्णु पौडेल २७ हजार १६५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत पाएका थिए। 

यसबाट रास्वपाको सो क्षेत्रमा बलियो पकड रहेको देखिन्छ। यद्यपि, यो दलप्रतिको आकर्षण वा लहरको मत हो कि व्यक्तिगत? यसको निर्क्यौल यसपटक हुने चुनावले मात्रै गर्नेछ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल पौडेलसँग प्रतिस्पर्धामा उत्रिएका छन्।  कांग्रेसका चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे विश्वदीप, नेपाल जनसेवा पार्टीबाट कमल भुसाल निकोलससहित १९ दलका  र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन्। 

रुपन्देही २ मा को बलियो?  
एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट अघिल्ला चार वटा चुनाव लगातार जिते। २०७० को संविधानसभा चुनावमा उनले पूर्वप्रधानमन्त्री एवं तत्कालीन एनेकपा माओवादीका प्रभावशाली नेता बाबुराम भट्टराईलाई हराएका थिए। 

०७४ मा एमाले–माओवादी गठबन्धनबाट उनले चुनाव जिते। २०७९ मा पौडेलले चुनाव त जिते। तर, पहिलो पटक चुनाव लडेका रास्वपाका गणेश पौडेलसँग मात्र १ हजार ०३६ को झिनो मतान्तर रह्यो। 

यद्यपि, पौडेलले कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन थियो भनेर तर्क गर्न पाउँछन्। 

तर, त्यो तर्कलाई रास्वपाले समानुपातिकमा गरेको साढे ४ हजारको अग्रताले खण्डन गर्छ। र, ठूलो तप्का एमालेको संगठनबाट बाहिर निस्केर नयाँको पक्षमा उभिएको देखाउँछ।

अघिल्लो पटक पौडेलसँग पराजित गणेश पौडेलले यसपटक रास्वपाको टिकट पाएनन्। उनको ठाउँमा सुलभ खरेल प्रतिस्पर्धामा छन्। खरेल अघिल्लो पटक पाएको मतले उत्साहित देखिन्छन्। 

तर, रास्वपाले यी दुई वर्षमा त्यसलाई संगठनमा बदल्न सक्यो कि सकेन? 

बुटवल बहुमुखी क्याम्पसमा राजनीतिशास्त्रका उपप्राध्यापक उद्धव गौतमले रास्वपा संगठित पार्टी बनिनसकेको बताए। 

‘रास्वपा संगठित पार्टी होइन, उसले मासकै मत पाएको देखिन्छ,’ उनले नेपालखबरसँग भने।

तथापि, अहिले नै जितहारबारे भनिहाल्न नसकिने गौतमको भनाइ छ। 

‘विष्णु पौडेल बलियो हुनुहुन्छ, कांग्रेसले नयाँ अनुहार, उद्योग व्यापारमा संलग्न उम्मेदवार उठाएकोले अलि आशालाग्दो हुनुहुन्छ,’ गौतमले भने, ‘नेकपाले भक्ति पाण्डेका छोरा विश्वदीपलाई उठाएको छ, जनमत खस्काए पनि उम्मेदवारले एकप्रकारले यहाँको जनमत प्रभावित पार्न सक्छन्। तर, यसपटक रुपन्देहीको हावा रास्वपातिरै बहेको छ। जित्छ, जित्दैन भनिहाल्न सकिँदैन।’ 

विगत १५ वर्षदेखि आफ्नो पक्षमा परिणाम पारिरहेका पौडेलका लागि अर्का चुनौती बन्ने उम्मेदवार हुन् राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा मगर। 

अघिल्लो चुनावमा २२ हजार २७ मत ल्याएर तेस्रो स्थानमा रहेका थापामगर यसपटक पनि उम्मेदवार छन्। समानुपातिकमा राष्ट्रिय जनमुक्ति पार्टीले ४ हजार १९७ मत पाएकोले यसको संगठनको जग नदेखिएको उपप्राध्यापक सापकोटाको विश्लेषण छ।

रास्वपा र जनमुक्ति पार्टी त नयाँ भए। कांग्रेस, विभिन्न घटक मिलेर बनेको नेकपाको पनि सो क्षेत्रमा प्रभाव छ।  कांग्रेसले सो क्षेत्रमा १३ हजार ४५० समानुपातिक मत पाएको छ। राप्रपाले ५ हजार ६०० पाउँदा नेकपाले ५ हजार बढी मत ल्याएको थियो। 

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति बनेपछि उनको मुख्य ध्यान गठबन्धनका कारण छरिएको मत फर्काउनुमा छ। विगतको चुनावमा गठबन्धनको कारण असन्तुष्ट भएर आफ्ना मतदाताले रास्वपा लगायत दललाई मत दिएको कांग्रेसको बुझाइ छ। यसपटक कांग्रेसका उम्मेदवारले रुपन्देही २ मा आफ्ना मतदाता फर्काउने अभियान चलाउनेछन्।

‘कांग्रेसमा गगनले नेतृत्व लिएपछि उम्मेदवार पाकै भए पनि युवाहरूमा उत्साह देखिन्छ,’ उपप्राध्यापक गौतमले थपे।

बुटवल उपमहानगरपालिका १ देखि १३ वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा रुपन्देही २ निर्वाचन क्षेत्रमा पर्दछन्। यस क्षेत्रमा एक लाख ३५ हजार ५० मतदाता छन्। त्यसमध्येमा पनि बुटवलको ११ नम्बर वडामा सबैभन्दा बढी १७ हजार ९४३ मतदाता छन्। बुटवलकै ५ नम्बर वडामा सबैभन्दा कम एक हजार ८२५ मतदाता छन्। यो क्षेत्रमा जितहारको निर्णय बुटवल ११ ले गर्छ। यो यस क्षेत्रकै सबैभन्दा ठूलो भोट बैंक भएको वडा हो। यो वडावासीको मन जुन उम्मेदवारले जित्छ उही विजय हुनसक्ने सम्भावना बढी छ।

बुटवल क्याम्पसका समाजशास्त्र विषयका विभागीय प्रमुख उपप्राध्यापक जीवनारायण अधिकारी चुनावी चहलपहल सुरु नभए पनि भुइँतहका मानिस हेर्दा स्वतन्त्रतिर झुकाव देखिएको बताउँछन्।

‘गगन पार्टी सत्तामा आएपछि आत्मबल बढेको देखिन्छ, कांग्रेसमा अहिले अन्तविरोध छैन, सुरक्षित भएका मतदाताले कांग्रेसमा उम्मेदवार मन नपरेर अर्काेमा हाल्ने भन्ने छैन,’ अधिकारीले भने, ‘स्वतन्त्र पार्टीको लहरले कति प्रभाव पार्छ भन्ने कुरा हो।’

बुटवल क्याम्पसको कानुन विभाग प्रमुख समेत रहेका अधिकारी यसपटक रुपन्देही २ मा एमाले, स्वतन्त्र र कांग्रेसबीच त्रिपक्षीय भिडन्त हुने बताउँछन्। पहिले भन्दा यसपटक कांग्रेसको मत बढ्नसक्ने उनको आकलन छ।

‘तर, मतदातामा कांग्रेस–एमालेप्रतिको वितृष्णा अहिलेसम्म छ,’ उपप्राध्यापक अधिकारीले थपे, ‘दुई पार्टीप्रतिको असन्तुष्टिको मत रास्वपामा पर्ने सम्भावना बढी छ। रास्वपाले चुनाव नजित्दासम्म यही ट्रेन्ड कायम रहने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad