राजनीति


प्रचण्डलाई विप्लवको जवाफः माओवाद फालिँदैन, विचलनकारी एकताको अपील सुहाउँदैन

प्रचण्डलाई विप्लवको जवाफः माओवाद फालिँदैन, विचलनकारी एकताको अपील सुहाउँदैन

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १८:५३, काठमाडौँ

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादको पक्षमा आफूहरू सधैँ अडिग रहने स्पष्ट पारेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उनले विचलनबाट भागेर गरिने एकताको अपील नसुहाउने बताए। 

उनले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर बनाएको पार्टी कमजोर भएको आरोप पनि लगाए। राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट आएका महेन्द्र पाण्डे लगायतलाई पार्टीमा स्वागत गर्दै विप्लवले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई लक्षित गर्दै आलोचना गरे।

उनले विचलनबाट भागेका नेताहरूलाई फर्किन अपील गर्दै विचारधाराको शुद्धता र सुदृढ एकताको आवश्यकता जोड दिए। 

विप्लवले वर्तमान राजनीति ‘तरंगमय’ भएको बताए। नयाँ पार्टी जन्मिने, पुराना मर्ने, सत्तासीन वर्ग विभाजित हुने, पुराना नेताहरू बदनाम हुने क्रम चलिरहेको उनको भनाइ छ।

उनकाअनुसार जनतामा अलमल छ—केही नयाँ शक्तितिर, केही क्रान्तिकारीसँग एकतावद्ध हुँदैछन्। कम्युनिस्ट आन्दोलनमा पनि एकता र विभाजनको प्रक्रिया तिब्र छ। ‘ठूला संकटले सबै क्षेत्रमा प्रभाव पार्छ। सत्तासीन वर्ग पनि ध्रुवीकृत हुन्छन्’ विप्लवले भने।

विप्लवले पुराना कम्युनिस्ट पार्टीहरू (माओवादी केन्द्रसहित) मा आएको विचलनलाई कटु सत्यका रूपमा प्रस्तुत गरे। उनले भने, ‘हिजो खान–लाउन नपुग्ने सर्वहारा नेताहरू आज अरबपति बनेका छन्। जनताले उनीहरूका घर जलाउने स्थिति आएको छ।’

उनले कम्युनिस्ट पार्टीहरू श्रम, मेहनत र जनतामा आधारित हुने सिद्धान्तबाट विचलित भएको आरोप लगाए। 

विप्लवले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाएपनि समाजवादी मोर्चा भन्दा कमजोर रहेको बताए। २५ सय– तीन हजार केन्द्रीय सदस्य थुपारेर पार्टी ठूलो बनाउन नसकिने भन्दै यो घुइँचो मात्रै भएको बताए। 

उनले भने, ‘प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाए। तर त्यो मोर्चाभन्दा पनि कमजोर छ। २५ सय–३ हजार केन्द्रीय सदस्य थुपारेर पार्टी ठूलो बनाउन सकिँदैन। यो घुइँचो मात्र हो।’

उनले होसमा भए माओवादमै फर्किन अपिल पनि गरे। जनताको घरमा खाना खाएको याद छ भने माओवादमै फर्किन उनको आग्रह छ। माओवाद कसैले फालेर नफालिने उनको भनाइ छ।

विप्लवले एकताको अपील विचलनकारीहरूले गर्न नसुहाउने बताए। सही बाटोमा हिँडेको, अनुशासनमा बसेको पार्टीले एकताको अपिल गर्नुपर्ने उनको भनाई थियो। विचार–मूल्य–अनुशासनबिनाको एकता आन्दोलन विसर्जन गर्ने उनले स्पष्ट पारे।

‘माओवादी होसमा छौ भने फर्किनुस्। जनताको घरमा खाना खाएको याद छ भने फर्किनुस्। सहयोद्धालाई दफनाएर हिँडेको भावना छ भने फर्किनुस्। माओवाद तिमीहरूले फालेर फालिँदैन। क्रान्तिकारी आन्दोलनबाट भागेर सिद्धिँदैन’ उनले भने।

विप्लवले पार्टीको तर्फबाट आफ्नो स्पष्ट अडान समेत राखे। संसद केवल हतियार रहेको र मुख्य काम पार्टी निर्माण र जनताको बीचमा बस्नु रहेको उनको बुझाइ छ। 

‘दुई पङ्क्ति समानान्तर चल्छन्—संसदमा गएर लड्ने र जनतामा बसेर काम गर्ने। झाडु लगाउने कार्यकर्तादेखि मन्त्रीसम्म तालमेल मिलाउनुपर्छ,’ उनले भने।

एमसीसीविरुद्ध सडकबाट लडे जस्तै, संसद् बिग्रिए पनि सडकबाट देशको ड्युटी गर्ने प्रतिबद्धता व्यक्त गरे। निर्वाचन निष्पक्ष नहुने आशंका राख्दै उनले भने, ‘जनताले बुझे बहुमत ल्याउँछौं। जिते पनि नजिते पनि क्रान्ति सिधिँदैन।’

विप्लवले सम्पूर्ण माओवादी तथा क्रान्तिकारी कम्युनिस्टहरूलाई सही केन्द्रमा गोलवद्ध हुन अपिल गरे। देशमा सुदृढ एकता आवश्यक रहेकाले विचार, मूल्य, अनुशासनमा उभिएको केन्द्रमा गोलवद्ध हुन आह्वान गरे। 

उनले भने, ‘सुदृढ एकता चाहिन्छ। विचार, मूल्य र अनुशासनमा उभिएको केन्द्रमा गोलबन्द हुनुपर्छ। युवा कार्यकर्ताहरू उत्साहका साथ काम गर्नुहोस्। माओवादी सकिएको होइन भन्ने प्रमाणित गर्नुहोस्।’ 

उनले माओवाद सकिएको छैन भन्ने प्रमाणित गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad