राजनीति


निर्वाचनमा मिडियाको भूमिका: सम्पादकसँग प्रेस काउन्सिलको संवाद

निर्वाचनमा मिडियाको भूमिका: सम्पादकसँग प्रेस काउन्सिलको संवाद

प्रेस काउन्सिलको हलमा भएको छलफलका सहभागी


नेपालखबर
माघ १६, २०८२ शुक्रबार १२:४५, काठमाडौँ

प्रेस काउन्सिल नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा सञ्चार माध्यमको भूमिका र पत्रकार आचारसंहिता कार्यान्वयनबारे अनलाइन मिडियाका सम्पादकहरूसँग छलफल गरेको छ।

राजधानीमा शुक्रबार आयोजित ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीहरूले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन मिडियाले सन्तुलित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचनको समयमा प्रवाह हुने सूचनाको विश्वसनीयतामा विशेष ध्यान दिन आग्रह गरिन्।

प्रेस काउन्सिलका अध्यक्ष डा.कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अनलाइन पोर्टलका सम्पादकहरूले निर्वाचन आयोग र काउन्सिलले जारी गरेको आचारसंहिता पालनाका चुनौतीबारे धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण काउन्सिलका फोकल पर्सन शन्तराम बिडारीले गरेका थिए।

छलफलमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनको समयमा मिथ्या सूचना र आचारसंहिताको पूर्ण पालना सञ्चार जगतको प्राथमिकता हुनुपर्ने बताइन्। यस्तै, जसनेपालका अरुण बराल, लोकान्तरका बिमल गौतम, नेपालप्रेसका मात्रिका पौडेल, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल लगायतले अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित बनाउन र आचारसंहिता कार्यान्वयनमा काउन्सिलको भूमिकाबारे सुझाव दिएका थिए।

कार्यक्रममा पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटी, नेपालखबरका कृष्ण ढुंगाना, उकालोका रामेश्वर बोहोरा, बिजमाण्डुका विज्ञान अधिकारी, नागरिकन्युजका तेजेन्द्र काफ्ले, गोरखापत्रका लक्की चौधरी लगायत दुई दर्जन बढी अनलाइनका सम्पादकहरूले सोसल मिडिया र एआई निर्मित सामाग्रीका कारण जिम्मेवार मिडियामाथि चुनाैती थप भएको विषय उठाएका थिए। 

जवाफमा काउन्सिलका सदस्यहरू बालकृष्ण अधिकारी, पदमराज जोशी र सदस्य सचिव छविन्द्र पराजुलीले सञ्चार माध्यमबाट आचारसंहिता उल्लंघन भएमा काउन्सिलले गर्ने अनुगमन र कारबाहीको प्रक्रियाबारे प्रष्ट पारेका थिए। कार्यक्रममा निर्वाचन आयोग र सूचना तथा प्रसारण विभागका प्रतिनिधिको समेत सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad