राजनीति


काठमाडौँ–८ : यसपालि सपना र सुमनले छेक्न सक्छन् विराजभक्तको बाटो

काठमाडौँ–८ : यसपालि सपना र सुमनले छेक्न सक्छन् विराजभक्तको बाटो

निर्दोष घोरसाइने
माघ १५, २०८२ बिहिबार २१:३, काठमाडौँ

बिहीबार दिउँसो काठमाडौँको मरुहिटी पुग्दा नमस्ते सायमी साथीहरूसँग कुराकानीमा व्यस्त थिए। निन्याउरो मुहार लगाएर उनी नजिकै रहेको अस्पतालमा बिरामीले खेप्नु परेको सास्तीबारे गुनासो गरिरहेका थिए।  क्षेत्रपाटी अस्पतालमा सरकारले बजेट नदिँदा डाइलासिस गरिरहेका बिरामीहरूको उपचार रोकिएको छ। त्यसकारण ७० जनाले उपचार नपाएको भन्दै सायमी चिन्ता व्यक्त गरिरहेका थिए। 

हामीले उनीसँग निर्वाचनसम्बन्धी प्रश्न राख्यौँ। राजनीतिक कुरा गर्दा उनी उत्साहित देखिए। तथापि चुनावसँग उनको धेरै आशा छैन।

‘मुख्य कुरा जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने हो। अहिलेसम्म २०८४ मा हुने निर्वाचन २०८२ मा हुने मात्र देखिएको छ। जेनजी आन्दोलनले भ्रष्टचार विकृति, विसंगती विरुद्ध आवाज उठाएको थियो। त्यो सम्बोधन हुने अवस्था देखिँदैन,’ उनले भने, ‘अन्तरिम सरकारका मन्त्रीहरूले राम्रो काम गर्न सकेका छैनन्। नागरिक सरकार भए पनि मौका मिल्नेबित्तिकै मन्त्रीहरू राजीनामा दिएर चुनावमा होमिएका छन्। महान्यायाधिवक्ताले भ्रष्टाचारको मुद्दा फिर्ता लिँदैछिन्। यसले पनि यो सरकार विगतको भन्दा भिन्न छैन भन्ने देखियो।

त्यसैले यो पटक भोट नहाल्ने उनी बताउँछन्। 

‘बारम्बार ठगिन चाहन्नौँ। हाम्रो भोट बारम्बार राष्ट्रघातको लाइसेन्सको रुपमा प्रयोग नहोस् भन्ने चाहन्छु,’ उनले भने, ‘तर यो सरकारले पनि नो भोटको व्यवस्था गरेन। किन भोट दिने? फेरि विगतको जस्तो राष्ट्रघाती सम्झौता हुँदैन भन्ने के आधार छ? त्यसैले भोट नहालेर बहिस्कार गर्छु।’

‘भोट माग्न आउनेसँग सोध्छु– हामीले एमसीसी पास गर्न पठाएका थियौँ?’ उनी थप्छन्, ‘कन्भिन्स गर्न सक्नु भयो भने फेरि पनि विचार गर्न सकिने अवस्था रहन्छ। नत्र भोट हालिँदैन।’

मतदाताले यसरी निराशा व्यक्त गरिरहँदा काठमाडौँ ८ को यस क्षेत्रमा अहिलेसम्म उम्मेदवारहरू घरदैलो कार्यक्रममा सहभागी भइसकेका छैनन्। उम्मेदवाहरू अहिले गुठी, समाजका व्यक्तिहरूलाई भेटेर भोट मागिरहेका छन्। भेटघाट, छलफल, प्रश्नउत्तर गरिरहेको विराजभक्त श्रेष्ठ र सुमन सायमी बताउँछन्। 

यो क्षेत्रमा २२ उम्मेदवार प्रतिस्पर्धामा छन्। एमालेका राजेश शाक्य, नेपाली कांग्रेसीकी सपना राजभण्डारी, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमी, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाही, जनता समाजवादी पार्टी, नेपालका सरोजराज वैद्य, नेपाल मजदुर किसान पार्टीकी बन्दना श्रेष्ठ उम्मेदवार छन्।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टीका दिनेश शाही, संयुक्त नागरिक पार्टीका रेशमबहादुर सुनार, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का राजेन्द्रप्रसाद शाह, श्रम संस्कृति पार्टीका शिवसुन्दर कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सलामसिंह लामा, उज्यालो नेपाल पार्टीका राजन खड्गी, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह)का विजय डंगोल, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका छत्रकुमार पाख्रिन, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)का मुक्तिनाथ शर्मा, आम जनता पार्टी (एकल चुनाव चिन्ह)का खगेश रंजितकार तथा स्वतन्त्र रुपमा मुना न्यौपाने (पाण्डे), विकास खड्गी, सुशीला नेपाली, सुनिता महर्जन चुनावी मैदानमा छन्। 

यो क्षेत्रमा २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी भएका थिए। उनले १० हजार ११२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ मत पाएका थिए।

सांसदको भूमिका आम नागरिकलाई बुझाउन सफल भइएकाले यो पटक पनि आफूलाई जनताले निर्वाचित गराउने श्रेष्ठ बताउँछन्। 

‘संसदमा भ्रष्टाचार, बेथिति विरुद्ध आन्दोलनमा थियौँ। कार्यकाल पूरा गर्न पाएनौँ। हाम्रो आवाजले आम जनमानसमा संसद् भनेको यस्तो हुनु पर्छ भन्ने सुशिक्षित गर्न मद्दत गरेको छ,’ उनी भन्छन्।

नयाँ पार्टी, त्यसमा पनि १९ जना मात्र सांसद मात्र भएकाले संख्याको सामर्थ्य नपुग्दा पनि अडिग भएर आफूहरू जनताको पक्षमा उभिएको उनी बताउँछन्। 

‘बन्दैगरेको कानुनमा कसरी छलफल हुनु पर्छ भन्ने आमनागरिकलाई पनि बुझाउन सफल भएका छौँ। सांसद र वडाध्यक्षको काम एउटै जस्तो थियो। त्यही सडक वडाध्यक्ष र सांसदले बनाउँछु भनेर भोट माग्ने काम हुन्थ्यो,’ श्रेष्ठले भने, ‘क्षेत्रको विकासका लागि सकेसम्म पहल गरिरहेका छौँ। स्थानीय जनप्रतिनिधि र प्रदेश सांसद फरक पार्टीको हुँदा असज भएको थियो। त्यसलाई पनि स्थानीय तहबाट सम्बोधन गरेका छौँ।’

संस्कृति–सभ्यताको संरक्षणका अभियन्ता सुमन सायमीलाई नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ ८ बाट अघि सारेको छ। गुठी, समाजसँग उनी निरन्तर छलफलमा छन्। 

‘जनताको समस्यालाई निकास दिन उम्मेदवार बन्ने निर्णय लिएको हो,’ सायमी भन्छन्।

सायमी नेकपा उम्मेदवार बन्नुअघि स्वतन्त्र रुपमा काठमाडौँको मेयर यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए। दुवै निर्वाचनमा उनी पराजित भएका थिए। 

मुद्दा बोक्ने पार्टीको आवश्यकता देखेर नेकपामा लागेको उनी बताउँछन्।  

‘चुनाव जित्न शक्ति चाहिन्छ। एक्लैले सकिन्न। यसका लागि संगठन र समुदाय आवश्यक पर्छ,’ उनी भन्छन्, ‘जनता र राष्ट्रको लागि काम गर्ने हो। जनताले पत्याएको दिन निर्वाचन जित्छु। मत पैसाले किन्ने हैन। जनतालाई दास बनाउने प्रवृत्ति हटाउनु पर्छ। जनतालाई सचेत बनाउनु पर्छ। भाषण र आश्वासन दिएर मात्र हुँदैन। जनताको हकहितमा बोल्ने नेताको खोजी भइरहेको छ। जनताको मतबाट मूल्यांकन हुनेछ।’

चुनाव जित्नु मात्र ठूलो विषय नभएको उनको तर्क छ।

‘जनताको आवाज कसले बोकिरहेको छ भन्ने महत्वपूर्ण हुन्छ। पदका लागि निर्वाचन लडेको हैन। राज्यविहीन, अनागरिक, उत्पीडित जनताको आवाज र राज्यत्वको खोजीमा हिडेको हुँ। संवैधानिक अधिकार पनि नपाउने नागरिक भएन। त्यसलाई कार्यान्वयन गर्न पनि ठाउँमा पुग्नु पर्छ। उत्पीडितको आवाज उठान गर्दा जागरण आयो। तर जागरणले मात्र जनताले न्याय पाउन नसकेकाले यसलाई संस्थागत गर्न उम्मेदवारी दिएँ,’ उनी भन्छन्।

नेपाली कांग्रेसले काठमाडौँ ८ बाट स्वर्गीय नेता नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारीलाई टिकट दिएको छ। नेवारी परम्परा, संस्कृति संरक्षणमा जोशीको योगदानप्रति राजभण्डारी पनि प्रतिबद्ध भएकाले उनलाई अघि सारेको कांग्रेस नेताहरूको दाबी छ।

यहाँको जनताको मतबाट विजयी हुनेमा आफू आशावादी भएको सपना राजभण्डारीले बताइन्।

‘नेपाली कांग्रेसको संगठन राम्रो भएको ठाउँ पनि हो। गत निर्वाचनमा कांग्रेसको उम्मेदवार थिएन। जसले गर्दा रास्वपाले जितेको हो। अब हाम्रो मत फर्काउन लागि परेका छौँ। यदि पहिले अन्य दलमा गएको मत फर्काउन सकियो भने जित सुनिश्चित छ। कांग्रेसलाई माया गर्नेहरू एकढिक्का हुनुहुन्छ, सबै घर फर्किनुहुन्छ,’ राजभण्डारीले भनिन्।

विगतमा यो जोशीले जित्दै आएको क्षेत्र पनि हो। 

काठमाडौँ ८ मा सांस्कृतिक क्षेत्र हो। गुठी विधेयक विरुद्धको आन्दोलन होस् वा जात्राको बजेट कटौती गर्दा, संस्कृतिविरोधी राज्यको नीतिविरुद्ध काठमाडौं ८ का नागरिक अग्रभागमा देखिन्छन्।

‘यसको नेतृत्व स्वर्गीय नवीन्द्रराज जोशीले गर्नुहुन्थ्यो। ब्राह्मण परिवारमा जन्मिए पनि उहाँ नेवारे संस्कृतिको संरक्षण र सम्बद्र्धनमा प्रतिबद्ध हुनुहुन्थ्यो,’ कांग्रेस महाधिवेशन प्रतिनिधि सुदर्शनमान सिंह बताउँछन्। 

कांग्रेसले यसअघि राजभण्डारीलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो। यसपटक कांग्रेसबाट टिकट पाउने नेवार समुदायकी एक मात्र महिला हुन् उनी।  

‘उहाँले जात्रापर्व, सम्पदा, संस्कृतिको आवाज उठाउँदै आउनुभएको छ। युवाको विकास र आर्थिक विकासको वकालत गर्दै आउनुभएको छ,’ सिंहले भने, ‘नेवारी परम्परा र आस्थाको जोगेर्ना गर्न पनि उहाँलाई उम्मेदवारको रुपमा अघि सारिएको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad