जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभा पुन:स्थापना माग गरी रिट निवेदन दर्ता गराएका नेपाली कांग्रेसका निवर्तमान सांसदहरू आज (बिहीबार) बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम थियो- फैसला चुनावअघि नै आउनुपर्यो भन्न।
तर उनीहरूले आज बिहान अन्तिम समयमा अचानक त्यो कार्यक्रम स्थगन गरे, सूचना जारी गर्दै।
सूचनामा भनिएको छ, ‘आज मिति २०८२ माघ १५ गते बिहान १०:३० बजे प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट पेस गर्नुहुने नेपाली कांग्रेसका माननीय सदस्यहरूको डिलेकेसन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको बेहोरा जानकारी गराइन्छ।’
सूचनामा 'विशेष कारण' मात्र भनिएको छ।
के हो त त्यो विशेष कारण?
हामीले विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेलाई सोध्यौँ।
उनको जवाफ यस्तो छ, ‘सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले टाइम क्यान्सिल गर्नुभयो। अब अर्को सूचना पठाउँछु भन्ने कुरा उहाँको सचिवालयबाट आयो। त्यसैले आजको कार्यक्रम स्थगन गर्यौँ।’
अब प्रधानन्यायाधीशबाट अर्को सूचना नआउँदासम्मका लागि उक्त कार्यक्रम स्थगन गरिएको उनले बताए।
कांग्रेसका ६५ जना निवर्तमान सांसदले संसद् पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
तर यस विषयमा अदालतले अहिलेसम्म यसको पेसी तोकेको छैन।
Shares

प्रतिक्रिया