राजनीति


आचारसंहिता उल्लङ्घन: यी हुन् निर्वाचन आयोगले स्पष्टीकरण सोधेका १३ उम्मेदवार

आचारसंहिता उल्लङ्घन: यी हुन् निर्वाचन आयोगले स्पष्टीकरण सोधेका १३ उम्मेदवार

नेपालखबर
माघ १५, २०८२ बिहिबार ९:४३, काठमाडौँ

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहदेखि श्रम तथा संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङसहित अहिलेसम्म जनालाई स्पष्टीकरण सोधेको छ। 

दल, उम्मेदवार, व्यक्ति र संस्थागरि हालसम्म २१ वटा स्पष्टीकरण पत्र काटिएको आयोगले जनाएको छ।

आचारसंहिता लागू भएको १० दिनमा आयोगले २१ वटा स्पष्टीकरण पत्र काटेको हो। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले गएको ५ माघदेखि आचारसंहिता लागू भएको जनाएको छ। 

आचारसंहितामा संघ, प्रदेश, स्थानीय सरकार, सार्वजनिक संस्थान, निजी क्षेत्र, सञ्चार क्षेत्र, उम्मेदवार र मतदाताले के–के गर्न हुँदैन भन्ने उल्लेख छ। आयोगले निषेध गरेका क्रियाकलाप गरेको उजुरी परेपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। 

आयोगले गर्ने छानविनमा आचारसंहिता उल्लंघन गरेको प्रमाणित भए जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुनसक्ने कानुनी व्यवस्था छ। 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगमा प्राप्त उजुरी वा आयोग स्वयंले गरेको अनुगमनमा देखिएका आचारसंहिता उल्लंघनमा आयोगले स्पष्टीकरण सोधेको हो। 

आयोगले पत्र प्राप्त गरेको तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ। अहिलेसम्म कसैले पनि आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिएका छैनन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पब्लिक डिबेटका लागि तयार छौँ’ भनेर सामाजिक सञ्जालमा लेखेपछि रास्वपाका उम्मेदवार बालेन शाहले दिएको प्रतिक्रियामा आयोगले बालेनलाई स्पष्टीकरण सोधेको छ। 

ओली र बालेन दुवै झापा ५ का उम्मेदवार हुन्। ओलीले फेसबुकमा लेखेको स्टाटसमा बालेनलाई ‘सिंहदरबार जलाउन भूमिका खेलेको’ संकेत गरेका थिए भने बालेनले ‘जेन–जी आन्दोलनमा ओलीकै कारण ७६ जना मारिएको’ टिप्पणी गरेका थिए। 

त्यसैगरि बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरूलाई पाँच सय रुपैयाँको नोटहरू प्रदान गर्दै गरेको भिडियोको आधारमा नेपाली कम्युनिस्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। 

दलको झन्डाको प्रयोग र २५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन दर्ताका लागि गएको उजुरीका आधारमा रास्वपा दोलखाका उम्मेदवार जगदीश खरेललाई पनि आयोगले स्पष्टीकरण  सोधेको छ।

त्यसैगरि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको उजुरीको आधारमा राप्रपा काठमाडौंँ ४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको उजुरीका आधारमा सप्तरी २ का उम्मेदवार एवं जनमत अध्यक्ष सिके राउतलाई पनि आयोगले  स्पष्टीकरण सोधेको छ।

राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको उजुरीका आधारमा रास्वपा बाँके ३ का उम्मेदवार खगेन्द्र सुनारलाई पनि आयोगले  स्पष्टीकरण सोधेको छ।

त्यसैगरि अस्ट्रेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्युआर कोडबाट सहयोग मागेको उजुरीका आधारमा प्रलोपाबाट काठमाडौं ५ की उम्मेदवार निशा अधिकारीलाई आयोगले स्पष्टीकरण  सोधेको छ।

जेन-जी आन्दोलनमा रगतबाट लतपतिएको भाइरल र आइकोनिक जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ताको दुरुपयोग भएको उजुरीका आधारमा नेपाल जनसेवा पार्टीबाट रूपन्देही २ का उम्मेदवार कमल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

सामाजिक सञ्जालमा अर्का उम्मेदवार तथा पार्टीविरुद्धमा गलत, भ्रामक  सामग्री प्रसारण गरेको भन्दै नेपाल जनसेवा पार्टीको तर्फबाट भक्तपुर २ की उम्मेदवार जानुका पाठक (शोभा) लाई पनि आयोगले  स्पष्टीकरण सोधेको छ।

मधेशी समुदायको संस्कृति र पहिचानविरुद्ध घृणास्पद अभिव्यक्ति दिएको उजुरीको आधारमा एमाले भक्तपुर २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले  स्पष्टीकरण सोधेको छ।

त्यसैगरि दलको लोगो, दलको नाम, चिह्न र उम्मेदवारको फोटोअंकित टिसर्ट लगाई बालबालिकालाई प्रयोग गरेको भन्ने श्रव्यदृश्यको प्रमाणसहित परेको उजुरीका आधारमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

कांग्रेस सुनसरी ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन दर्ता गराउने क्रममा सहभागी भएको भिडियोको आधारमा कोसी प्रदेशका उद्योगमन्त्री इस्राइल मन्सुरीसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ।

त्यसैगरि निर्वाचन आयोगले एमाले अध्यक्ष केपी ओलीको मनोनयनका क्रममा सहभागी भएको भिडियो उजुरीका आधारमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पनि स्पष्टीकरण सोधेको छ। 

त्यसैगरि उम्मेदवारी मनोनयनमा बाजागाजासहित समूह लगेको भिडियोको आधारमा रास्वपा ओखलढुंगाका उम्मेदवार विश्वराज पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। 

कांग्रेसको तर्फबाट दैलेख १ का उम्मेदवार वासना थापा र २ का उम्मेदवार दिक्पालकुमार शाहीका लागि रुख चिह्नमा मत माग्दै आफ्नो फेसबुकमा पोस्ट गरेको उजुरीका आधारमा दैलेख भैरवी–३ स्थित देउती आधारभूत विद्यालयका शिक्षक देवीराम आचार्यलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad